मुस्ताङको तीन गाउँपालिकामा प्रमुख चुनिए

इनेप्लिज २०७४ जेठ २ गते ७:१६ मा प्रकाशित

मुस्ताङ, २ जेठ । हिमाली जिल्ला मुस्ताङको तीन गाउँपालिकामा मतगणना सम्पन्न भएको छ ।

तिब्बतसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका सुवर्णकुमार विष्ट विजयी हुनुभएको छ ।

सोमबार राति सम्पन्न मतगणनामा स्वतन्त्र उम्मेदवार इन्द्रधारा विष्टलाई पराजित गर्नुभएको हो । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत सीताराम शर्मा लामिछानेका अनुसार सुवर्णले ६०३ र स्वतन्त्र उम्मेदवार इन्द्रधाराले ४९५ मत प्राप्त गर्नुभएको थियो । नाताले दुबै प्रतिस्पर्धी मामाभाञ्जा हुन् ।
एक हजार ७०० मतदाता रहेको लोमान्थाङमा एक हजार २६३ मत खसेको थियो । सो गाउँपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकै कोसी पासाङ विजयी हुनुभयो ।
घरपझोङ गाउँपालिकामा नेकपा (एमाले)का आशबहादुर थकाली विजयी हुनुभएको छ । एक हजार ५६८ मतदातामध्ये एक हजार २५९ मत खसेको घरपझोङमा थकालीले ४५४ मत ल्याएर नेपाली काँग्रेसका विजय हिराचनलाई पराजित गर्नुभएको हो । हिराचनले ४१७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेकै शर्मिला गुरुङले ७०७ मत ल्याएर विजयी हुनुभयो ।

एक हजार २७७ मतदातामध्ये ९९८ मत खसेको दालामे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार राजु विष्ट (लोप्छाङ ह्याङ्सी गुरुङ) ७५५ मत ल्याएर विजयी हुनुभयो । उहाँले नेपाली काँग्रेसका तेञ्जिङ गुरुङलाई पराजित गर्नुभएको हो । गुरुङले २०३ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा भने नेकपा (एमाले)का ढोका गुरुङ ६०१ मत प्राप्त गरी विजयी हुनुभयो । रासस

प्रतिक्रिया