नयाँ वर्षमा मुसहरले पाए नयाँ घर

इनेप्लिज २०७४ वैशाख १ गते १३:५९ मा प्रकाशित

महोत्तरी, १ वैशाख । धुर्मुस–सुन्तली फाउण्डेसनले महोत्तरीका मुसहर समुदायका लागि निर्माण गरेको एकीकृत नमूना घरहरू हस्तान्तरण गरिएको छ ।

धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरेको मुसहर बस्तीमा शुक्रबार बिहान विशेष कार्यक्रम गरेर घरहरू हस्तान्तरण गरिएको हो ।

फाउण्डेसनले बर्दिवास– २ मा निर्माण गरेका ५३ वटा घर, एक सामाुदायिक भवन, चिल्ड्रेन पार्क र भ्युटावरसहितको एकीकृत नमूना बस्तीलाई हस्तान्तरण गरिएको हो । यो बस्ती निर्माण गर्न फाउन्डेसनलाई झण्डै ९० दिन लागेको थियो ।

सरकारका मुख्यसचिव सोमलाल सुवेदीले बस्तीको चावी बर्दिवास नगरपालिकाका दिलसु सदालाई हस्तानतरण गरे ।

महजोडी, कलाकार धुर्मुस, सुन्तलीका बुबाआमा लगायत उल्लेख्य स्थानीयको सहभागिता रहेको थियो ।

फाउन्डेशनले ३ कोठा, बरन्डा र चोटासहितको ५० आवासीय घर, एउटा सामुदायिक भवन र मुसहर समुदायको कुलदेवता मन्दिर निर्माण गरिदिएको छ ।

एउटा घर बनाउन करिब ८ लाख खर्च भएको छ । स्वदेश तथा विदेशबाट सहयोग संकलन गरेर कलाकारद्वय धुर्मुस–सुन्तलीले बस्ती निर्माण गराएका हुन् ।

सुविधा सम्पन्न बस्तीका प्रत्येक घरमा चर्पी, खानेपानीका लागि पानी टयांकीसहितको धारा, सुत्ने खाट, हरेक घरमा ग्याससहित चुल्हो जडान गरिएको छ ।

९५ दिन लगाएर बनाइएको एकीकृत नुमुना बस्ती निर्माणमा ६ करोड ३३ लाख खर्च भएको फाउन्डेसनका अध्यक्ष धुर्मुस अर्थात सीताराम कट्टेलले जानकारी दिएका छन् । मुसहर बस्ती निर्माणका क्रममा फाउन्डेसनलाई ९० लाख रुपियाँ ऋण तिर्न बाँकी छ ।

प्रतिक्रिया