यस्तो लाग्दै थियो की नेपालकै काठमाण्डौ टुडिखेलमा होलीको पर्वमा सबै नेपालीहरु आपसी सद्भाव र खुशीका रंगहरु सँगै साटिरहेका छन्, बर्षौ पछि मिलन पछिको हर्ष उत्सवको रुपमा मनाईरहेका छन् । त्यस्तै झंझल्को मेटाउने परिदृश्य अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा निर्माणाधीन ” हिन्दु बौद्ध” मन्दिरको प्राङ्गडमा आयोजित ” होली पर्व” मा देखियो । गत महिना अर्थात् मार्च १२ तारिकका दिन होली पर्व( फागु पुर्णिमा) मनाउने भनि तय भएकोमा उक्त दिन मौसम प्रतिकूल देखिएकोले त्यसलाई स्थगित गरि यही अप्रिल तारिकका दिनलाई कार्यक्रम तय भए अनुसार उक्त कार्यक्रम भएको थियो ।
उक्त होली पर्वमा बालबालिका, युवा, महिला, वृद्द अर्थात् सबै उमेर समुहको उल्लेखनिय उपस्थिती रहेको थियो । आयोजक ” नेपाली अमेरिकन कल्चरल सेन्टर फर बाल्टिमोर ” ले आयोजना गरेको कार्यक्रममा व्यवस्थापकिय पक्ष निकै राम्रो देखिन्थ्यो । सहभागीहरुबाट प्रवेश शुल्क बापत लिईएको (न्युनतम शुल्क) रकम वचत हुन आएमा मन्दिरकै कोषमा उपयोग गर्ने गरि कार्यक्रम तय भएको पनि जानकारी मिलेको थियो । वास्तवमा फराकिलो क्षेत्रमा रहेको भवन सहित विभिन्न भौतिक संरचनाले भरिपुर्ण क्षेत्र ” हिन्दु बौद्ध मन्दिर ” बनाउने प्रकृया अगाडी बढिरहेको सन्दर्भमा मेरिल्याण्ड मात्र हैन नेरघेरका अन्य राज्यहरुका नेपाली एवं अन्य विदेशीहरु समेतबाट मनफुकाएर सहयोग प्राप्त भएकोमा र अझै हुने क्रम जारी रहेकोमा मन्दिर निर्माणमा अहोरात्र खटिने व्यक्तीहरु निकै उत्साहीत बनेका छन् ।
छोटो समयमै सोचे भन्दा बढि सहयोग जुट्न सकेकोमा रातदिन नभनि स्वयंसेवक बनेर सहयोग चन्दा संकलनमा संलग्न व्यक्तीहरुमा नेपाली समुदायको हितका लागी भविश्यमा अझै धेरै सामुहिक हित र सद्भावका कामहरु गर्न सकिनेमा विश्वस्त छन् । मुलत: विदेशी भुमिमा विशेषगरि नेपाली चाडवाड, धार्मिक गतिविधी, परम्परागत रितिरिवाज संचालन गर्ने सामुहिक स्थलको विकास हुनसकेमा नेपाली समुदाय विच आपसी सद्भाव, भाईचारा, मित्रता, आत्मियता, सहयोगी भावना बढ्दै जाने एवं नयाँ पिढीमा समेत नेपाली संस्कृति, भाषा, कला, परम्परा, रितिरिवाज हस्तान्तरण गर्दै लैजान सहयोग पुग्ने देखिन्छ । यस्तै विश्वासको साथमा निर्माणाधीन धार्मिक धरोहरमा सबै नेपालीहरुको आपसी सद्भाव सदृढ हुँदै गएको देखिन्छ ।
नेपाल छोडेर विदेशमा बस्दा समेत नेपाली रितिरिवाज, संस्कार, धार्मिक आस्थालाई जिवन्त पार्न खोज्नु आफैमा एउटा गौरवको कुरा हो । त्यसो त हामीलाई थाहाँ छ, चाहे ती भुटानमा बस्ने नेपालीमुलका भुटानी हुन वा भारतको विभिन्न ठाउँमा स्थायी बसोबास गरेका नेपालीमुलका भारती वा बर्मामा बस्ने नेपालीमुलका बर्मेली त्यस्तै थाईल्याण्डमा बस्ने नेपालीमुलका व्यक्तीहरु किन नहुन तिनीहरुले समेत अहिले सम्म पनि पुर्खाले मान्दै आएको धर्म, संस्कृति, भाषा, परम्परालाई जीवन्त राखिरहेको पाईन्छ । यसरी हेर्दा युरोप वा अमेरिकामा स्थायी बसोबास गर्ने नेपाली समुदायले आफ्नो रितीरिवाज, धर्म, भाषा, संस्कारलाई निरन्तररुपमा अगाडी बढाउन आपसमा जुटेर अगाडी बढ्नु अत्यावस्यक छ किनकी भौतिक रुपमा आफु जन्मेको भुगोलबाट टाढा रहेपनि आफ्नो मुलथलो र पुर्खाहरुले अनुसरण गरेको संस्कार बिर्सिने अवस्था आएमा आफु के हो र आफ्नो पहिचान के हो भन्ने नै अस्तित्वमा रहने देखिदैन ।
अत: मेरिल्याण्डमा मात्रै हैन हरेक नेपालीहरु बसोबास गर्ने ठाउँमा धार्मिक आस्थाका धरोहर, नेपाली भाषा, कला, परम्परा र संस्कृतिलाई प्रवर्धन गर्न सहयोग पुग्ने र नेपाललाई विश्व सामु परिचित गराउने स्थल वा संरचना वा कामहरु गरिनु आवस्यक देखिन्छ । नेपाली कला-संस्कृति केन्द्र, नेपाली सामुदायिक केन्द्र, नेपाली बजार, नेपाली भाषा स्कुल, नेपाली सुचना केन्द्र देखि अनेक किसिमका गतिविधीहरु नेपाली समुदायहरु आपसमा मिलेर स्थापना र संचालन गर्न सके विविधताले भरिपुर्ण आप्रवासीहरुको देश अमेरिकामा समेत नेपाल र नेपाली को हुन् र यिनीहरुको पहिचान, संस्कार, संस्कृति, भाषा के हो भन्ने समेत अन्य मुलुकबाट आएका आप्रवासी र रैथाने अमेरिकनहरुलाई अवगत हुनेछ । यसो हुनसके नेपाल जस्तो सानो अल्प विकसित देश विश्वको शक्तिशाली देशमा समेत सहजै सबैको मन र मष्तिष्कमा रहने छ जसले गर्दा एकपटक नेपाल भन्ने देश हेर्न, घुम्न जानु पर्छ भन्ने विचार र उत्साह अमेरिकनहरुमा समेत जाँग्ने छ । अन्तत नेपाली पर्यटन व्यवसायमा समेत यसको सकारात्मक प्रभाव पर्ने छ ।
अन्तमा हरेक देशमा बस्ने नेपालीहरुमा सामुहिक सद्भाव, आत्मियता र सामुहिक हित हुने कामहरु गर्नमा सधै एकता बनिरहोस् । आफ्नो मुलुक छोडे पनि पुर्खाको संस्कार, संस्कृति, मुल्यमान्यता, आफ्नो नेपाली भाषा, कला, रितिरिवाज, परम्परा सधै जीवन्त राख्नमा सबैको ध्यान जान सकोस् । एकले अर्कालाई सधै परेको अवस्था र समस्यामा साथ एवं सहयोग गर्ने मानविय कर्ममा लाग्ने प्रेरणा मिलोस् । सहि सुचना र जानकारी दिएर एकआपसमा सजग एवं सचेत बन्ने अवस्था आउन सकोस् भन्दै आउँदै गरेको नेपाली नयाँ बर्षको सबै सबैमा हार्दिक मंगलमय शुभकामना !
प्रतिक्रिया