सानातिना विवादमा प्रवासी नेपाली अल्झिएका छौं : डा.केशव पौडेल,अध्यक्ष,एनआरएन अमेरिका

इनेप्लिज २०७३ चैत २१ गते १:४८ मा प्रकाशित

गैरआवासिय संघ (एनआरएन) अमेरिका विश्वभर छरिएर रहेका नेपालीहरुको सवैभन्दा वढी सदस्य भएको राष्ट्रिय समन्वय परिषद हो । यो संस्थामा १६ हजार ३९८ नेपाली मूलका अमेरिकी तथा अमेरिकामा स्थायी वसोवासको सुविधा पाएका नेपालीहरु आवद्ध भएका छन् । नेपाल र अमेरिकाको वीचमा नागरिक तहको सम्वन्ध स्थापित गर्दे नेपाली समुदायको वहत्तर हीतको लागि क्रियाशील एनआरएन अमेरिकाको राष्ट्रिय समन्वय परिषदको आगामी अप्रिल महिनामा सकिन लागेको वर्तमान कार्यसमितिका अध्यक्ष डा. केशव पौडेलसँग अमेरिकाका लागि  मधुकर अधिकारीले गर्नु भएको कुराकानीको सम्पादित अंशहरु :

सन् २०१५–१७ को कार्यसमितिको पदावधि सकिनै लाग्दा तपाईको कार्यकालको समीक्षा आफै कसरी गर्नुहुन्छ ?

खासमा मैले एनआरएनको जिम्मेवारी लिदै गर्दा नेपालमा प्रलयकारी भुकम्प गएको थियो,त्यस कठिन घडीमा पुरानो कार्यसमिति र हामीहरुले मिलेर तत्कालको लागि राहत सामाग्री सहित नेपाल पुगेका थियौं । त्यो वेला दुई करोड रुपैयाँ वरावरको राहत सामाग्री सहित औषधि उपचारको लागि आवश्यक पर्ने सामान समेत लिएर भुकम्प प्रभावित जिल्लाहरु गोर्खा,सिन्धुपाल्चोक,धादिङ्ग आदि स्थानहरुमा हामी पुगेका थियौं ।

दोश्रो,अमेरिकामा रहेका नेपाली दाजुभाईहरु जसको कागजपत्र थिएन उनीहरुलाई यहाँको सरकारले प्रदान गर्ने अस्थायी आप्रवासी सुविधा – टेम्पोरेरी प्रोटेक्टेड स्टाटस) दिलाउनका लागि पहल गरेका थियौं ।जुन विषयमा हामी सवैको प्रयत्नले सफल पनि भयौं ।

कार्यकालको समीक्षाको कुरा गर्दा नेपालमा लगाइएको नाकावन्दीको विरुद्धमा अन्र्तराष्ट्रिय समुदायको ध्यान आकर्षण गराउनका लागि राष्ट्रसंघका महासचिव,व्हाईट हाउस जस्ता स्थानहरुमा स्थानीय संघसंस्थाको समेत समन्वयमा हामीहरुले विरोध प्रदर्शन र ज्ञापनपत्र वुझाउने जस्ता काम गरेका थियौं ।
अर्को महत्वपूर्ण काम भनेको हामीहरुले वैज्ञानिक तरिकाले अमेरिकामा रहेका नेपालीहरुको तथ्यांकको डाटावेसको आधारमा २ लाख ५० हजार भएको भन्ने तथ्य पहिचान गर्नसफल भएका छौं । अहिले हामीहरुले दोहोरो कर प्रणलीको विषयमा निरन्तर नेपाल सरकार र अमेरिकी सरकारलाई घच्घच्याउने काम गर्दे आएका छौं ।

तर तपाईको कार्यकाल विवाद रहित त रहेन नि होईन ?

तपाईले संकेत गर्नुभएको विषय मुद्दामामिलाको विषय हो । केही साथीहरुले निर्वाचनको विषयमा मतदानको प्रक्रियाको विषयमा असहमति राखेर अदालत जानुभएको हो । तर हामीहरुले प्राईभेसी राईटस अनुसार त्यसलाई सार्वजनिक नगर्ने शर्तमा १३ सय पानाको निर्वाचन सम्वन्धि डकुमेन्ट निर्वाचन समितिलाई दिएका हौं ।उहाँहरुले अदालतमा वुझाउनु भएको हो । अरु त हेर्नोस वन्द कोठामा वसेर चलखेल गर्न उद्दत केही समूह अमेरिकामा रहेका छन् त्यसलाई पूर्वाग्रही रुपमा नलिएर सहकार्य गर्दे अगाडि वढने मान्यतामा मेरो विश्वास रहेको छ ।

अनि अदालतले त निवेदक पक्षकाको लागेको अदालती प्रक्रियाको शुल्कको केही हिस्सा समेत तिर्न भनेर तपाईहरुलाई भनिसकेको छ नि होईन ?

त्यस्तो प्रकारको पत्र हामीहरुकोमा आएको पनि छैंन र हामीहरुले तिर्न सक्ने अवस्थामा पनि छैंनौं । त्यसैले तपाईले भन्नुभए जस्तो हामीहरुले कुनै पत्र पाएका छैंनौं ।

तपाई एनआरएन अमेरिकाको अध्यक्ष हुनुुहुन्छ, अहिले अध्यक्ष पदमा उमेदवार वन्नका लागि योग्यताको प्रसङ्ग आएको छ, अध्यक्षमा उमेदवार हुन के गर्नु पर्ने रहेछ ?

हेर्नोस्, एनआरएन अमेरिकाको वाईलजले जो कसैलाई पनि उमेदवार हुनवाट रोकेको छैंन, तर एनआरएनको अन्र्तराष्ट्रिय समन्वय समितिको वाईलजको व्यवस्थामा कार्यसमितिमा एक कार्यकाल वसेको हुनुपर्ने भन्ने प्रावधान भएकाले त्यो आकर्षित हुन्छ भनिएको हो ।

तर विवाद यही निर छ नि होईन, तपाईहरु कुनै विषयमा अन्र्तराष्ट्रिय समन्वय समितिले भनेको खण्डमा अमेरिकाको हकमा अमेरिकी कानून अनुसार हुन्छ भन्नुहुन्छ, अनि यसमा चाहि किन फरक धारणा नि ?

तपाईले भन्नुभएको ठीक हो,एनआरएन अमेरिका अमेरिकी कानून अनुसार नै चल्ने हो,तर त्यसमा के भनिएको छ भने कुनै विवाद भएको खण्डमा अन्र्तराष्ट्रिय समन्वय समितिको निर्णय कार्यान्वयनमा आउने भन्ने प्रावधान भएकाले हामीहरुले त्यो फलो गर्नु पर्ने हुन्छ ।

तपाई फेरि आफनो उमेदवारीको घोषणा गर्नु भएको छ, किन तपाई फेरि पनि एनआरएनको नेतृत्व गर्न तम्सिनु भएको त ?

हामी विश्वभर छरिएर रहेका नेपालीहरुको संघ संस्था भन्दा वढी नेपालीहरु भएको र शक्तिशाली देशमा छौं । यसले गर्दा विश्वभरका एनआरएन अभियन्ताहरुले अमेरिकामा चासोका साथ हेर्नु भएको छ नैं । नेपालीहरुको सरकारको रुपमा एनआरएनले किन गरेन भनेर आउनु खुशीको कुरा हो । यसलाई एउटा व्यवस्थित ढंगले अगाडि वढाएर यहाँको आवश्यकता अनुसार नेपालीहरुको हीतमा काम गर्न मैले थप कार्यकालको सोच लिएको हुँ , किनकि मलाई के विश्वास छ भने यसलाई सिष्टममा हिडाउनुका लागि टीममा वसेर काम गर्न म सक्छु, साथैं प्रत्यक्ष र परोक्ष रुपमा वढदै गएको नेपाली समुदायको विभाजन र वितृष्णालाई समाधान गर्दे सहकार्य र सदभावका साथ अगाडि वढाउन म तयार छु भनेर भनेको हो । यसै कारणले मैले सवै वातावरण मिलेको खण्डमा म एक टर्म लिड गर्न तयार छु ।

तपाईले यसो भनिरहदा तपाई कै कार्यसमितिमा भएकाहरुलाई त मनाउन सक्नु भएको छैंन तपाईको भनाईलाई कसरी विश्वास गर्ने ?

हेर्नोस, म प्रजातान्त्रि प्रक्रियामा विश्वास गर्ने मानिस हुँ । वास्तवमा प्रजातन्त्रको सुन्दरता भनेको नै यही नै हो की आफनै कार्यसमितिमा भएका साथीहरुले उत्तिकै अधिकार प्रयोग गरेर प्रतिस्पर्धा गर्न पाउन सक्छन । म त के भन्छु भने वर्तमान कार्यसमितिका २५ जना नै अध्यक्षका लायक हुनुहुन्छ ।यसरी ईच्छा राख्नेहरुले कोशिस गर्नुहुनेछ । यदि उहाँहरु त्यसमा सफल हुनु भयो भने उहाँहरु अगाडि आउनु होला ।नत्र हामी निकट भविष्यमा एउटा विन्दु खोजेर मिलनको वातावरण निर्माण गरेर अगाडि वढने छौं। यदि कोही म भन्दा राम्रो तरिकाले कोही आउनु हुन्छ भने म पनि पुर्नविचार गर्न तत्पर हुनेछु ।

तपाईको अहिलेको एजेण्डा के के छन त ?

अहिले मैले के भनेको छु भने हामीहरु एनआरएनलाई सवैले गर्व गर्न सक्ने एउटा नेपालीहरुको प्रतिनिधमूलक संस्थाको रुपमा विकसित गरौं भन्ने नै मेरो चाहना र भावना हो । दोश्रो अमेरिकाको भूमिमा नेपाली मूलकालाई कसरी मूलप्रवाहको राजनीतिमा समावेश गराएर हामीहरुको भावना अनुसारको काम गर्न गराउन प्रेरित गराउन पहल गर्नेछु । तेश्रो हामीहरु अमेरिकामा नेपाली हिन्दु संस्कृति अनुसारको शवदाह गृह वनाउनका लागि पहल र्नेछौं । त्यसैगरी एनआरएनलाई पचास वटै राज्यमा पुरयाउने र संभव भएका राज्यमा एक राज्य एक कम्युनिटी सेन्टरको उदघोषका साथ हामीहरु अगाडि वढने छौं । सवैभन्दा ठूलो कुरो हामी प्रवासी भूमिमा सानातिना विषयमा विभाजित भएका छौं,त्यसमा अल्झिएर वस्ने होईन वृहत्तर अवधारणाका साथ नेपाली समुदायको हीत र मातृभूमिको कर्तव्यको लागि सानो योगदान गरौ भन्ने भावना मेरो रहेको छ । रासस

प्रतिक्रिया