‘हिन्दू राष्ट्र र राजसंस्था’ हटाउने निर्णय नसच्याए जे पनि गर्छौंः राप्रपा महामन्त्री राणा

इनेप्लिज २०७३ चैत १० गते १५:१३ मा प्रकाशित

नेपालको संविधानसंग बाँझिएको भन्दै निर्वाचन आयोगले राप्रपाको विधाननै परिवर्तन गरिदिएको छ । राप्रपाको मुख्य एजेण्डा हिन्दु राष्ट्र र राजसंस्था भन्ने वाक्यांश नै हटाएको छ । आयोगको यो निर्णयबाट राप्रपा अहिले आन्दोलित छ । यसको विरोधमा दुई दिनअघि राप्रपाले निर्वाचन आयोगको कार्यालय घेराउ समेत गरेको थियो । जहाँ प्रहरीको झडपका क्रममा बरिष्ठ नेता पशुपति शर्मा, केन्द्रीय सदस्य कोमल ओली लगायतका नेता तथा कार्यकर्ताहरु घाइते भए । अहिले पनि राप्रपाले निर्वाचन आयोगका कार्यालयहरुमा दवाव मुलक कार्यक्रमहरु गरिरहेको छ । यसै विषयमा राप्रपाका महामन्त्री डा.धवलशम्सेर राणासंग दैनिक नेपालले कुराकानी गरेको छः

– निर्वाचन आयोगले आफ्नो पार्टीको विधाननै परिवर्तन गरेको विरोधमा आयोगको कार्यालय नै घेराउ गर्नुभएको थियो । अहिले आन्दोलन सेलाएको हो ?

होइन । निर्वाचन आयोगले राप्रपाको धरातल नै नरहने गरेर विधान परिवर्तन गरेपछि चुप लागेर बस्ने कुरै आउँदैन । अस्ती आयोगको कार्यालय घराउ गर्यौं । अहिले एसइई परीक्षा पनि चलिरहेकाले आयोगलाई निर्णय पुनर्विचार गर्न मात्रै भनेका छौं । निर्णयमा पुनर्विचार गरिएन भने परीक्षा सकियो भने हामी जे पनि गर्न सक्छौं ।

– निर्णय पुनर्विचार गरिएन भने के जे पनि गर्नहुन्छ ?

मुख्य एजेण्डा नै भएन भने कसरी पार्टी बन्छ । धरातल त हुन पर्यो नि । संविधानको मर्म अनुसार नै हामीले विधान बनाएका छौं । यदि अझै पनि आयोगले आफ्नो निर्णयमा पुनर्विचार गरेन भने सडक आन्दोलनदेखि सदन अवरुद्ध गर्ने काम पनि गर्छौ । अदालतको ढोका पनि ढकढक्याउँछौं । कसैका सामाजबाद, लेलिनबाद हुन्छ भने राप्रपाको हिन्दु राष्ट्र र राजसंस्था नहुने भन्ने हुन्छ ?

– यदि आयोगले मानेन भने स्थानीय चुनाव के हुन्छ ?

आयोगले मानेन भने हामीले चुनावमा के लिएर जाने भने कुनै आधार नै रहँदैन । अनि देशको चौथो ठूलो दल नै चुनावमा गएन स्थानीय चुनाव पनि हुँदैन । हुन पनि सक्दैन । चुनाव भाड्नकै लागि त यो खेल खेलिएको हो नि ।

– राप्रपाको विधान परिवर्तन गराउन कसले खेल खेलेको देख्नुभयो ?

यो सरासर चुनाव भाड्नकै लागि खेलिएको खेल हो । यसमा सरकारकै हात छ । यद्यपी, हामी पनि सरकारमा सहभागी छौं, तर यसबारे कुनै जानकारी नै दिइएन । यो खेल खेल्नमा बढी हात माओबादी केन्द्रकै छ । त्यसपछि काँग्रेस, एमाले लगायतका चुनाव नचाहाने पार्टीहरुको भूमिका छ ।

– आयोगले निर्णय सच्याउने सम्भावना देख्नुहुन्छ ?

सम्भावना होइन, चनाव गर्नुछ भने आयोगले आफ्नो निर्णय पुनर्विचार गर्नेपर्छ । पुनर्विचार गर्छ भन्ने अपेक्षा पनि गरेका छौं । होइन भने चुनाव हुने कुनै आधार नै छैन । यो खेल खेल्नेहरुले चुनाव नचाहेका पनि अझ स्पष्ट हुन्छ ।

प्रतिक्रिया