एमालेकै जनजाति नेता भन्छन्ः अशोक राई भारतको नांगो दास भए, एमाले छाडेको कारण बल्ल खुल्दैछ

इनेप्लिज २०७३ चैत १ गते १२:३१ मा प्रकाशित

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर चारका प्रमुख किरण गुरुङसँग कञ्चनपुर घटना, त्यसपछि सिर्जित परिस्थिति र मेची महाकाली अभियानका विषयमा दैनिक नेपालले गरेको संक्षिप्त कुराकानीः

कन्चनपुर घटनालाई कसरी लिनुभएको छ ?

यो घटना भनेको भारतीय शासकहरुको ज्यादतीको एउटा नमुना हो । हेपाहा दृष्टिकोण र त्यसैको निरन्तरता हो ।

सरकारको भूमिकालाई कसरी लिनुहुन्छ ?

सरकारले जसरी गम्भीरतापूर्वक लिनुपर्दथ्यो, राष्ट्र र राष्ट्रियताको निम्ति जुन जागरुकता देखाउनुपर्दथ्यो, हेपाहा नीतिविरुद्ध विरोधमा उभिनु पर्दथ्यो, उभिन सकेको छैन् । खुट्टा कमाइरहेको अबस्था छ । यो राष्ट्रिय स्वाभिमानी सरकार हैन्, त्यसैले विरोधमा जान सकेको छैन् । नेपालको पक्षमा, स्वाभिमानको पक्षमा बोल्न सकेको छैन् ।

तर, आम नेपाली जनताहरु ज्यादतीको विपक्षमा हेपाहा नीतिको विपक्षमा छन् । नेपाली जनता स्वाभिमानको पक्षमा उभिन चाहन्छन् । हेपाहा प्रवृत्तिलाई नेपाली जनता स्वीकार्दैनन्, भारतीय शासकहरुले यो स्पष्ट रुपमा बुझ्नुपर्छ । यो घटनाले नेपाल र भारतबीचको सम्बन्धलाई बिगार्ने काम गरिरहेको छ । यो घटनाले जनता– जनताको बीचमा भएको सम्बन्धलाई पनि खलल पुर्याउने काम गरेको छ । नेपाल सार्वभौम स्वतन्त्र राष्ट्र हो भन्ने कुरालाई भारतीय शासकहरुले कहिल्यै बिर्सन हुँदैन्, यो नेपालमाथिको हस्तक्षेप नै हो ।

तर, संसदमा केही पार्टीहरुले त यसमा भारतको गल्ती छैन् भने नि !

खासगरि, संघीय समाजवादीका नेता अशोक राईले भारतले प्रकाशित गरेको विज्ञप्ति पढेर सुनाउनुभएको थाहा पाएँ । यो दास मनोवृत्ति बाहेक केही होइन्, भारतीय शासक सामु घुँडा टेक्ने काम हो । आफ्नो आँखा अगाडिको सत्य देख्न नसक्नु, नेपाली भएर नेपालीकै पक्षमा बोल्न नसक्नु भनेको नांगो दासता बाहेक केही होइन् ।

त्यसो भए तपाईंकै पूर्वमित्र अशोक राईलाई के भन्नुहुन्छ ?

जहाँसम्म अशोक राईको कुरा छ, उहाँ वैचारिक रुपमै पतन हुनुभयो । विचारले नै मानिसलाई अगाडि बढाउने हो । उहाँले जुन सोच र दृष्टिकोण बोक्नुभएको छ, विखण्डनकारी र भारतीय शासकलाई खुसी पार्ने दासत्वपूर्ण विचार बाहेक केही देख्दिन् । उहाँ भारतीय दास बन्नुभयो । संघीय समाजवादीले घोर दक्षिणपन्थी, नेपाल राष्ट्रका लागि आत्मघाती विचार लिएर हिँडेको छ । यो पलायनको एउटा नमुना हो ।

हिजो एमाले पार्टी फुटाउनु र अहिले उहाँ (अशोक राई) को अभिव्यक्तिमा तालमेल देखिन थालेको छ । उहाँ हिजो पार्टीको ठूलै पदमा हुनुहुन्थ्यो, उहाँले किन पार्टी फुटाउनुभयो र किन कम्युनिष्ट विचार छाड्नुभयो भन्ने पहिला नदेखाइए पनि अहिले त्यसको संकेत देखिन थालेको छ । उहाँ सोच्दै नसोचेको ढंगले आउनुभयो, त्यसैको आडमा पार्टी फुटाएको हुन सक्छ ।

थोरै प्रसंग बदलौं, सप्तरी घटनापछि रोकिएको एमालेको मेची महाकाली अभियान फेरि सुरु भएको छ, उल्लास उस्तै छ कि घटेको छ ?

फागुन २१ गते झापाबाट सुरु भएको अभियान अत्यन्तै उल्लासपूर्वक अगाडि बढेको थियो । तर, सप्तरीमा अत्यन्तै निन्दनीय आक्रमण भयो । एमालेलाई कुनै हालतमा कार्यक्रम गर्न नदिने र गरेमा एमालेका नेताहरुलाई कत्लेआम गर्ने षडयन्त्र बनाएको पाइयो । सबैको हत्या गर्ने नियोजित ढंगले बाहिरबाट अपराधीहरुलाई भित्राएर सप्तरीमा अभियान बिथोल्ने प्रयत्न भयो । तर, सुरक्षाकर्मीका कारण ती जत्था असफल भए । भारतबाट सार्पसुटर ल्याइएको समेत जानकारीमा आएको छ । सप्तरीमा त्यो घटना नभएको भए अर्को गौर वा कैलाली हत्याकाण्ड जस्तै ठूलो हत्याकाण्ड रच्ने योजना रहेछ, त्यो असफल भयो । यो घटनाको जति निन्दा गरे पनि पुग्दैन ।

सप्तरी घटनाले एमाले पंक्ति आतंकित भएको छैन् । कुनै हत्या हिंसा र षडयन्त्रले एमालेको अभियान रोकिन्न ।
हेटौँडादेखि सुरु भएको अभियान प्रदेश नम्बर चारसम्म आइपुग्दा निकै उत्साहमुलक देखिएको छ ।

प्रतिक्रिया