हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

इनेप्लिज २०७३ चैत १ गते १०:२३ मा प्रकाशित

धनगढी, १ चैत । कैलालीमा यही चैत ५, ६ र ७ गते हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको छ ।

अभियानअन्तर्गत दुई वर्ष उमेरमाथिका आठ लाख १८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले बताउनुभयो ।

दुई वर्षमुनिका बालबालिका, गर्भवती तथा सातदिनभित्रको सुत्केरी, मुटु, श्वासप्रश्वास, मिर्गाैलाजस्ता दीर्घरोगीले भने उक्त औषधि खान नहुने बताइएको छ । यस्तै ७० वर्षमाथि व्यक्तिले आफ्नो स्वास्थ्य परीक्षण गराएर मात्र सो औषधि खानुपर्ने भट्टले बताउनुभयो ।

हात्तीपाइले रोग लागेमा हातखुट्टा र ग्रन्थी सुन्निने, स्तनमा गिर्खा देखिनेलगायत समस्या देखिने र समयमै उपचार हुन नसकेमा मानिसमा अपाङ्गता हुने गर्दछ । अभियान सञ्चालनका लागि जिल्लाभरि एक हजार ७९७ स्वास्थ्यकर्मी परिचालन गर्न लागिएको कार्यालयले जनाएको छ ।

“जान्ने बुझ्नेले पनि औषधि नखाइदिँदा रोगको पूर्ण रोकथाममा समस्या देखिएको छ,” भट्टले भन्नुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा हाइड्रोसिल भएका ९८४, खुट्टा सुन्निएका १८३ र स्तन सुन्निएका ४० जना देखा परेका छन् । सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालले हाइड्रोसिल भएका बिरामीको निःशुल्क उपचार गर्दै आएको छ ।

प्रतिक्रिया