सप्तरी घटनाका प्रत्यक्षदर्शीको बयानः पान पसलेदेखि रमितेसम्मको ख्यालख्यालैमा ज्यान गयो

इनेप्लिज २०७३ फागुन २६ गते १५:५८ मा प्रकाशित

– सञ्जीवविक्रम साह

नेकपा एमालेको मेची महाकाली अभियानको कार्यक्रम राजविराजको औद्योगिक क्षेत्रमा चलिरहेको थियो । राजविराज भन्दा तीनकिलोमिटर उत्तरतिर । त्यहाँ म बिहानैदेखि समाचार संकलनका लागि खटिएको थिएँ । कार्यक्रम दिउँसो २ बजे सुरु भयो । मोर्चाका कार्यकर्ताहरुले अवरोध गरिरहेका थिए । एमालेलाई कार्यक्रम गर्नै नदिने मोर्चाको तयारी थियो । सोही अनुसार मोर्चाका कार्यकर्ताहरु एमालेको कार्यक्रम बिथोल्न सक्रिय भएका थिए । तर, एमाले कार्यकर्ताको बाक्लो उपस्थिति र सयौँ सुरक्षाकर्मीको तैनाथीका कारण मोर्चाका कार्यकर्ताहरुलाई अप्ठेरो परिरहेको थियो ।

एकातिर एमालेको कार्यक्रम, अर्कोतिर मोर्चाका कार्यकर्ताबाट ढुंगा हानाहान चलिरहेको थियो । सशस्त्र प्रहरीले अश्रुग्यास हानिरहेको थियो । मधेशी मोर्चाका कार्यकर्ताले त्यही अश्रुग्यासलाई टिपेर फेरि प्रहरीतर्फ फकाईरहेका थिए । एक किसिमको ठट्टा जस्तो, रमाइलो जस्तो चलिरहेको थियो ।

नेकपा एमालेको कार्यक्रम दुई घण्टा चल्यो । जब एमालेको कार्यक्रम सकियो । नेता-कार्यकर्ता फर्कन थाले । त्यसपछि घटनाले अर्कै रुप लियो । मधेशी मोर्चाका कार्यकर्ताले एमाले नेताहरुलाई कालोझण्डा देखाउन थाले । तर, प्रहरीले हवाई फायर गरेपछि सबैको भागाभाग भयो । त्यही बेला मोर्चाका कार्यकर्ताले पेट्रोल बम हानेको कुरा एकजना प्रहरीले सुनाए । म घटनास्थल भन्दा सय मिटर पर मात्रै थिएँ । पेट्रोल बम हानेको भनेपछि दौडिँदै फोटो खिच्न पुगेँ । तर, त्यतिबेला त्यो बम निभिसकेको थियो । प्रहरीले बल प्रयोग गर्न थाल्यो । दुई चार राउण्ड अश्रुग्यास प्रहार भयो । हवाई फायरिङ सुरु भयो ।

प्रहरीले ड्याम्म गोली हान्यो । भीडको अघिल्लोतिर ठट्यौली पारमा प्रहरीलाई जिस्काइरहेका रञ्जन मेहता गोली लागेर ढले । उनको घटनास्थलमै ज्यान गयो । उनी छ महिनाअघि मात्रै विदेशबाट फर्केका थिए । र, राजविराजमा पान पसल खोलेर बसेका थिए । उनी मधेशी मोर्चाका कार्यकर्ता भन्दा पनि रमिते थिए । प्रहरीलाई जिस्काइरहेका थिए ।

मधेशी मोर्चालाई आफ्नो अस्तित्वको लडाईं थियो । रमिता हेर्न आउनेहरु भने हाँसीठ्ट्टा गर्दै प्रहरीलाई प्रहार गरिरहेका थिए । तर, एकखाले ठट्टा दुःखद घटनामा परिणत भयो । प्रहरीले गोली बर्साएपछि दर्जन घाइते भए। घटनास्थलमा रुवाबासी सुरु भयो । घटनास्थल वरपर सन्नाटा छाइरहेका बेला एमालेका नेता-कार्यकर्ताका सबै गाडी राजविराजबाट इटहरीतिर फर्किए । त्यसपछि मधेशी मोर्चाका कार्यकर्ताले टायर बाल्न सुरु गरे । प्रहरीले मानिसलाई आउन-जान रोक लगाएको अबस्था छ । पत्रकारलाई समेत रोकियो । अहिले राजविराज सुनसान छ । घटनामा घुसपैठको आशंका गरिएको छ । तर, यथार्थ के थियो हामी पनि बेखबर छौँ । यसै भन्न सकिने अबस्था छैन् ।

मधेशी मोर्चाका नेताहरु फोन उठाइरहेका छैनन् । जिल्लाका प्रशासकहरुले पनि जबाफ फकाईरहेका छैनन् । मोर्चाका कार्यकर्ताले सप्तरी अनिश्चित बन्द हुन्छ भनेर हल्ला फैलाएका छन् । केही मानिस आक्रोशित भएका छन् । एमालेविरुद्धको प्रदर्शनको नेतृत्व मोर्चाका जिल्ला संयोजक एवं संघीय समाजवादी फोरमका अध्यक्ष दिनेश यादवले गरेका थिए । उनी घाइते भएका छैनन् । मारिनेहरु सबै वास्तविक रुपमा मधेशी मोर्चाका कार्यकर्ता नभएको बताइएको छ । घटनास्थलमै ज्यान गएका रञ्जन मेहता पान पसले हुन् ।

(रेडियो नेपालका पत्रकार साहसँग दैनिक नेपालले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया