“बाबु – शुभम् ” तिम्रो जय होस्।

इनेप्लिज २०७३ फागुन २४ गते ०:४६ मा प्रकाशित

 

#समय_सन्दर्भ “हिन्दु बुद्ध मन्दिर”
..”बाबु – शुभम् ” तिम्रो जय होस्।

मार्च ५ तारिख आइतबारका दिन, बिहानै देखि धेरैजसो बाल्टिमोरवासी नेपाली परिवारहरुमा निकै चहलपहल लागेको थियो। सबैका मनमा निकै उत्साह अनि “हिन्दु बुद्ध मन्दिर” स्थल पुग्न निकै हतारो थियो। आजभोलि हरेक आइतबारका दिन नेपाली परिवारजनहरुका लागि मन्दिर निर्माणस्थलमा अवलोकन गर्न सकिने गरि खुल्ला गरिएको छ। हो, त्यसैले आजभोलि बाल्टिमोर मेरिल्याण्ड र यस वरपर बसोवास गर्नुहुने नेपाली परिवारहरु विभिन्न रुपमा मन्दिर निर्माणमा सहभागी हुन सवै आतुर देखिन्छ किनभने आफ्नै आँगन छेउमा आफ्नै नेपाली समुदायको पहलमा पहिलो अनि विशाल “हिन्दु बुद्ध मन्दिर” बनाउने निश्चित भइसकेको छ त्यसमाथि पनि बिदेशमा रहने नेपाली समुदायहरुको संसार कै एक सुन्दर र उत्कृष्ट “हिन्दु बुद्ध मन्दिर” !!

मन्दिर निर्माणको पहिलो दिनको पहिलो सोँचको पहिलो सेकेन्ड र पहिलो पेनी देखि अहोरात्र लागि परेका मन्दिर निर्माणका अभियन्ता स्वयंसेवक मध्येका एक सदस्य श्री शालिक वाग्ले ज्यु, सधैंजसो झैं सो दिन पनि मन्दिर निर्माण स्थल पुग्ने तयारी गर्दै थिए। सहयोगदाताहरुलाई अवलोकनका लागि आजभोलि प्रत्येक आइतबार खुल्ला गरिए संगै परिवारका साथ साना बालबालिका सहित प्राय: पुग्ने गरेका उनी त्यस दिनभने एक्लै जान हतारिएका थिए। आगन्तुक सहयोगदाताहरुसंग भेटघाट गर्न, कुराकानी गर्न र उहाँहरुको जिज्ञासाहरुलाई सम्बोधन गर्न लागिपरेका थुप्रै स्वयंसेवकहरुलाई जस्तै उहाँलाई पनि त्यहाँ पुग्न ढिला भैइसकेको थियो त्यतिकैमा बुबासंगै मन्दिर जाने आशा गरेर बसेका छोरा शुभमलाई आफ्नो खुत्रुके लिएर अगाडि उभिएको देखे पछि के भयो बाबु ?? भनी सोध्न पुगे। “बाबा!! मेरो खुत्रुकेको सबै पैसा मन्दिरलाई दिनुहोस्। म पनि सहयोग गर्न चाहन्छु।” यति कुरा सुने पछि बिश्वास नलागेर फेरि सोधे करिव ५ पटक सम्म तर उत्तर एउटै थियो “बाबा!! मरो खुत्रुकेको सबै पैसा मन्दिरलाई दिनुहोस्, म सहयोग गत्न चाहन्छु।” ५ बर्षिय “शुभम” ले प्रत्येक पटक यहि दोहोर्‍याई रहे। जसले उनलाई भावुक बनाए र मन्दिर निर्माणमा लागेकोमा गर्व महसुस गरे।

शुभम शर्मा (बुबा शालिक वाग्ले तथा माता शलिना शर्माका जेष्ठ सुपुत्र) हाल मात्र ५ बर्षका भएका छन। उनी हाल सम्म स्कुल त गएका छैनन तर दैनिक करिव २ घण्टा लेख्ने पढ्ने गर्छन। हाल उनी नेपाली भाषा कक्षा जान्छन भने एभरेष्ट वर्ड क्लास टेक्वान्दो बाल्टिमोरमा पनि टेक्वान्दो प्रशिक्षण लिँदैछन। घरपरिवार, छिमेकी साथीभाइ तथा आफन्तजनहरु सबैका प्रिय उनको प्रिय साथी भने ३ बर्षिय बहिनी शान्भी शर्मा र हजुरबुबा हजुरआमा हुन। अमेरिकी फुटबल बारे निकै रुचि राख्ने उनलाई फुटबलका सबै नियम र टिमहरु बारे ज्ञान छ र “बाल्टिमोर रेभन्स” सवै भन्दा प्रिय टिम हो। प्राय: खेल र प्रतियोगिताहरु उनी नछुटाई हेर्छन। हामीले प्रश्न राख्दा उनी भन्दै थिए “मलाई राष्ट्रिय गान पुरै गाउन आउँछ.. भगवानसंग हाम्रो राम्रो मन्दिर चाँडै बनोस् भनी प्रार्थना गर्छु.. बनेपछी बुवाआमासंग हजुरबुबा, हजुरमुमा र बहिनीलाई लिएर पुजा गर्न जान्छु।” शुभम् को आजको यस घटनाले हामी सबैलाई साँच्चै एकपटक सोंच्न बाध्य बनाएको छ।

मन्दिर निर्माण स्थल किन्नका लागि अब मात्र केही दिन भित्रमा करिव $३ लाख डलर जति बैंकमा जम्मा गरिसक्नुपर्ने अवस्थामा यसका लागि लागिपरेका आफ्ना बुबाका हरेक गतिविधिहरुमा धेरै नजिकबाट नियालिरहेका शुभम् शर्मालाई आफ्नो बुबाआमा, अंकलआंटीहरुको प्रयास र छट्पटीहरुले पनि छोएको स्पष्ट छ र उनलाई पनि बन्न लागेको हिन्दु बुद्ध मन्दिर र मन्दिर संगसंगै बन्ने पुस्तकालय, खेल मैदान, भाषा स्कुल लगायत अन्य अवसर र सम्भावनाहरुले उनीहरुको मनमस्तिष्क छोईसकेको छ। ५ बर्षिय बालकको यो उदाहरणिय सोंच र प्रयासलाई यहाँ कुनै प्रचारप्रसारका लागि प्रस्तुत गर्न खोजिएको होइन मात्र आज बाल्टिमोर मेरिल्याण्डमा चलिरहेको मन्दिर निर्माण महाअभियानले नेपाली समुदाय, घरपरिवार र हाम्रा भावी पुस्ताहरुमा पारेको प्रभाव र हाम्रो जिम्मेवारीताका बारेमा औंल्याउन खोजिएको मात्र हो। अहोरात्र खटिएका स्वयंसेवकहरु संगसंगै हरेक दिन जोडिंदै गएका नयाँ नयाँ ६५० भन्दा बढी परिवारहरुको संख्याले पनि यस अभियानको महत्त्व प्रस्ट्याई सकेको छ।

हाम्रो आफ्नो समुदायको हकहित र हरेक सामाजिक गतिविधिहरुमा अब हामीसंगै हाम्रा हजुरबुबा, हजुरआमा, छोराछोरी, नातिनातिनीहरुको समेतको खुल्ला सहभागिता र अवसरहरु संगै उनीहरुले खुत्रुकेमा जम्मा गरेको सानो भन्दा सानो पैसा समेत लगानी गर्न सकिने स्वतस्फूर्त पारदर्शी अभियानहरु चलाइनु पर्छ भनी यस स्तम्भकारले बारम्बार विभिन्न मंचहरुमा भन्दै आएको आवाज पनि आज सत्य साबित भएको छ।

परदेशमा हामी एक नेपाली भएर नेपाल र मात्र नेपालीको लागि हाम्रा हरेक भाषा, संस्कृति, पर्व, उत्सव, धर्म, कर्म, संस्कार आदि सबैको जगेर्णा गर्न, प्रबर्द्धन गर्न धेरै महत्त्वपूर्ण कामहरु गर्नुपर्ने समय आएको छ। एकजुट भइ हातेमालो गर्ने बेलामा आएको छ। यो/त्यो, यस्तो/उस्तो, यसले/उसले, यसरी/त्यसरी भन्ने बिभाजित वा सिमित भावना भन्दा माथि उठेर “सयौं थुंगा फुलका हामी एउटै माला नेपाली ” को मुल मन्त्रलाई सबैले आत्मसात गर्नु जरुरी भइसकेको छ। पद, अधिकार, नियन्त्रण, निर्देशन, गुट, उपगुट, समुह आदिको गोलचक्कर खेलबाट बाहिर निस्केर स्वतस्फूर्त मात्र एक निस्वार्थ स्वयंसेवक भएर हामी र हाम्रो भन्ने भावना सहित आफुले सक्दो गर्ने र गर्न दिने अवसर र बाताबरणको सृजना गर्नु हामी सबैको जिम्मेवारी बनेको छ।

त्यसैले आउनुहोस् पबित्र आस्थाले शुरु गरिएको यस “हिन्दु बुद्ध मन्दिर सहित सामुदायिक साँस्कृतिक केन्द्र” को निर्माण महाअभियानमा हामी सबैले हातेमालो गरौं र आफुले सक्दो सहयोग गरौं।

#DONATE_NOW
https://www.gofundme.com/sxjcw4

थप जानकारी तथा सम्पर्कका लागि:

“हिन्दु बुद्ध मन्दिर”
Nepali American Cultural Center of Baltimore, MD
www.NACCbaltimore.org
www.Baltimoremandir.org

source: Shalik Wagle, Shalina Sharma, Rajan Dhakal,

© मेरिल्याण्डका हामी नेपाली, 2017

प्रतिक्रिया