एमालेका सबै केन्द्रीय नेता झापामा, ६ भाषाबाट प्रचार सहित मेची–महाकाली अभियान

इनेप्लिज २०७३ फागुन २१ गते ७:५३ मा प्रकाशित

काठमाडौं, फागुन २१ – नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान आजदेखि सुरु हुँदैछ । ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भावको’ नारा रहेकोे अभियान झापाको काकडभिट्टाबाट सुरु हुने एमालेले जनाएको छ ।

अभियानको लागि एमालेका सबै केन्द्रीय नेताहरु झापा पुगिसकेका छन् । झापा क्रान्ति अन्तर्गत पक्राउमा परेका पाँचजनालाई तत्कालीलन पञ्चायती सरकारले सुखानीमा हत्या गरेको दिन परेर एमाले आजदेखि तराई केन्द्रित अभियान सुरु गर्न लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापाको सुखानीमा शहीको सालिकमा माल्यार्पण गरेपछि काँकडभिट्टाबाट अभियान सुरु हुनेछ । अभियान चैत ५ गते कञ्चनपुरको महेन्द्रनगरमा पुगेर टुंगिने एमालेले जनाएको छ ।

तराई मधेसको पूर्व–पश्चिम राजमार्ग केन्द्रित अभियानमा ३३ ठाउँमा आमसभा, र्याली र साँस्कृतिक कार्यक्रम गर्ने एमालेको तयारी छ । अभियानमा पार्टी अध्यक्ष सहित सबै केन्द्रीय नेताहरु सहभागी हुने र सबै नेतालाई पार्टी कार्यकर्ताकै घरमा खानपान र बस्ने व्यवस्था मिलाइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार अभियानमा १० हजार स्वयंसेवक परिचालन हुनेछन् । ख्यातीप्राप्त राष्ट्रिय कलाकार र स्वास्थ्यकर्मीको टोली पनि सहभागी हुने भट्टराईले जानकारी दिनुभयो । अभियानका लागि एमालेले नेपाली, मैथिली, अवधी, थारु, डोट्याली र भोजपुरी गरी ६ भाषामा अपील तयार पारेर प्रचार गरेको छ ।

प्रतिक्रिया