नेपालीहरु मुखले जसले, जे, जसरी भनेपनि सामुहिक हितमा आपसमा जुट्न र सक्दो सहयोग गर्न मन, वचन र कर्मले लाग्छन् भन्ने हेर्न, बुझ्न र जान्न टाढा जानु पर्दैन । सार्वजनिक स्कुल बनाउन होस् या सामुदायिक अस्पताल, सडक, खानेपानी योजना, धार्मिक स्थल वा यस्तै सामाजिक सरोकारको क्षेत्रमा सबैको साथ सजिलै जुटेको पाईन्छ मात्र भरपर्दो तवरबाट आव्हान गरेर समुदायको मन जित्नु पर्छ । यो भनाई कुनै कपोकल्पित छैन किनकी गाउँघरमा यस्ता काम भएका छन् र भईरहेका छन् सामुदायिक प्रयासमा ।यस बारे यो स्तम्भकारले विगतमा समेत कतिपय आलेखमा सचित्र वर्णन गरेको छ । त्यसो त भुकम्पले थलिएको बस्ती उकास्न सबै तिरबाट सहयोग भएर बनेका बस्तीहरु नै काफी छन् उदाहरणको लागी ।
अहिलेको प्रसंग भने नेपाल भित्रको भन्दा पनि नेपाल बाहिर संसारकै सम्पन्न भनिने मुलुक अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा निर्माणाधीन ” नेपाली मन्दिर” को सन्दर्भ हो । विगत २-३ महिना देखि चर्चाको शिखरमा रहेको मन्दिर बनाउने अभियानले उचाई लिईरहेको र यसका बारे धेरै आलेखहरु धेरै व्यक्तीहरुले लेखेका पनि छन् र साथै स्थलगत जानकारीका साथ मिडियाहरुमा लाईभ पनि आईरहेको पाईन्छ ।
संक्षेपमा भन्दा यसबारे जताततै चर्चा परिचर्चा छ र अमेरिका बस्ने नेपाली विशेष गरि मेरिल्याण्ड आसपासका राज्यमा बस्नेहरु नेपाली समुदाय, भुट्निज नेपाली समुदाय, भारतिय मुलका नागरिक एवं अन्य समुदायमा समेत चासो र खोजको विषय बनेको छ ।
हो ” मन्दिर” ले नेपालीहरुलाई आपसमा मन जोड्ने ठुलो प्रयास भएको पाईन्छ जसका लागी करिव ५०-६० जना स्वयंसेवकहरु अहोरात्र सहयोग जुटाउन लागी परेको देखिन्छ जसको जति प्रसंसा गरेपनि अपुग हुन्छ । यो मन्दिर मात्र केवल भौतिक मन्दिरको स्वरुप नभएर नेपालीहरुलाई आपसमा एकता गराउने, जुटाउने, जमघट गराउने, सामुहिक समस्या समाधान गराउने भरपर्दो केन्द्र बन्नेमा सबैको अपेक्षा रहेको पाईन्छ ।
त्यसो त स्थलगत अवलोकन गर्दा उपलव्ध भुभाग/जग्गा, भौतिक संरचना प्रयाप्त देखिन्छ । यद्दपी भौतिक संरचनालाई राम्ररी मर्मत संभार गर्नुपर्ने छदै छ, अर्को तर्फ नेपाली समुदायलाई अत्यावस्यक पर्ने अन्य सामुदायिक सेवा, सुविधाका संरचना पनि निर्माण गर्न सकिने प्रशस्त संभावना रहेको छ ।
वास्तवमा आफ्नो नेपाली कला, संस्कृति, रितीरिवाज, भाषा, संस्कार, भावनात्मक एकता र पहिचानलाई कायम गर्न आवस्यक पर्ने सबै खाले संरचना, सुविधा पर्याप्त हुने गरि स्थापित गर्न मिल्ने स्थल र परिवेश उपलव्ध छ । प्राकृतिकरुपमा र भौगोलिक रुपमा खुल्ला र मनोरहम स्थल उपलव्ध भएकोले बन्न लागेको नेपाली मन्दिर र अन्य संरचना एवं सुविधाहरु उपयुक्त स्थलमा हुने देखिन्छ । त्यसो त उक्त स्थलमा पुग्नेहरुले मुक्तकण्ठले प्रशंसा गर्दै मन फुकाएर आर्थिक सहयोग गरेको देख्दा समेत आम व्यक्तीहरुको भरोसा र विश्वास कति धेरै रहेको छ सहजै अनुमान गर्न सकिन्छ ।
वास्तवमा सबैको सकारात्मक प्रयास, सोच र समर्पणबाट नै सामुदायिक हित एवं सरोकारका कामहरु हुने गर्छन् यसमा सायद कसैको दुई मत हुँदैन । यस्तै सोच, प्रयास र साथ भएमा अवस्य पनि विदेशी भुमिमा समेत नेपाल र नेपालीको पहिचान दिने धरोहरहरु स्थापना हुन र निरन्तररुपमा संचालन हुन सक्ने देखिन्छ । त्यसैले पक्कै पनि सबै खाले सामुदायिक आवस्यकता पुरा हुने गरि निर्माण हुन लागेको ” नेपाली मन्दिर( बौद्ध/ हिन्दु मन्दिर) ” ले निकट भविष्यमै मुर्त रुप लिने छ । यसका लागी मात्र सकारात्मक सोच एवं फराकिलो मनको आवस्यकता छ । यसो हुनसके समयमै आवस्यक आर्थिक सहयोग जुटेर कार्य सम्पन्न हुनेछ ।
अन्तमा बन्दै गरेको मन्दिरमा संभव हुन सक्ने जति आवस्यकिय आयोजनाहरु समेत भविष्यमा बनाउन सकिने गरि सम्बन्धित पक्षबाट ” गुरुयोजना ” समयमै तर्जुमा हुनसके “सुनमा सुगन्ध” हुने र कतिपय दोहोरिन सक्ने गरि विभिन्न नेपाली संघसंस्थाहरुले बनाउन खोज्ने आयोजनाहरु समेत एकै स्थलमा सम्पन्न गर्न सकिने अवस्था रहन सक्छ । वास्तवमा यस क्षेत्रलाई ” धार्मिक केन्द्र, सामुदायिक केन्द्र, सुचना केन्द्र, कला-सांस्कृतिक केन्द्र, भाषा एवं सिकाई केन्द्र, पिकनिक स्पट, खेलकुद स्पस्ट आदी” को रुपमा समेत विकास गर्न सकिने प्रवल संभावना छ । अत: व्यापक सोच र सकारात्मक दृष्टिकोण बाट लागी परेमा अवस्य नेपाली समुदायको हित हुनेछ । त्यसैले सबैले हातमा हात मिलाएर नेपालीहरु वीचको एकता प्रदर्शन गरौ र नेपाली हुनुमा गर्भ गर्ने बाटो बनाउ !
प्रतिक्रिया