अमेरिकी डिभी चिठ्ठा बन्द हुँदैः प्रक्रिया अघि बढ्यो, नेपालमा पनि प्रभाव

इनेप्लिज २०७३ माघ २८ गते ७:०० मा प्रकाशित

काठमाडौं, २८ माघ । अमेरिकाले हरेक वर्ष प्रदान गर्दै आएको डिभी लट्री भिसा बन्द हुने सम्भावना बढेको छ । यो भिसा बन्द गर्नुपर्ने भन्दै अमेरिकी संसदमा विधेयक समेत दर्ता भइसकेको छ ।

अमेरिकामा आप्रवासीको संख्या आधाभन्दा कम गर्नुपर्ने भन्दै रिपब्लिकन सिनेटर टम कटन र डेविड पर्डयूले संसदमा बिधेयक दर्ता गरेका हुन् । उक्त विधेयकलाई संसदले पास गरेमा प्रतिवर्ष ५० हजारका दरले अमेरिकाले प्रदान गर्दै आएको डिभी लट्री भिसा बन्द हुनेछ भने प्रतिवर्ष जारी गर्ने करिब १० हजार ग्रीन कार्डलाई पनि प्रभाव पार्नेछ ।

डिभी लट्री भिसाको सुविधा उपभोग गर्दै आएका देशहरुमध्ये नेपालमा पनि यसको पर्नेछ । यस भिसाको माध्यमबाट प्रतिवर्ष करिब ५ हजारको दरमा नेपाली अमेरिका जाने गर्छन् ।

आप्रवासीमाथि कडा नियम लगाउन चाहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको समर्थन रहेको संसदमा दर्ता गरिएको बिधेयक पारित हुने सम्भावना धेरै छ । यसअघि नै यो भिसाको विपक्षमा रहेको रिपब्लिकन पार्टीले विपक्षमा मत हाल्दै आएको थियो । तर, त्यो बेलाको संसदमा उसको बहुमत कम हुँदा भिसा बन्द हुन सकेको थिए । अहिले भने रिपब्लिकन पार्टीको बहुमत छ ।

तर, आगामी २०१८ को डिभी लट्रीलाई भने यसले असर नपर्ने भनिएको छ । अमेरिकाले सन् सन १९९० मा आप्रवासी भित्य्राउने कानुन बनाएपछि अमेरिकामा डिभी लट्रीलगायत अन्य सुविधा दिएर आप्रवासीलाई स्थायी बसोवास प्रदान गर्दै आएको थियो ।

अहिले अमेरिकामा स्थायी वसोवास अनुमति पत्र निवेदन दिने १० जना मध्ये ७ जना ग्रिनकार्ड भएका आफन्त वा अन्य मुलका अमेरिकन नागरिकहरुका आफन्त रहने गरेको बिधेयकमा जनाइएको छ ।

दश वर्ष यता अमेरिकाले करिब ५ लाख आप्रवासीलाई ग्रीनकार्ड दिएको र त्यसले अमेरिकीहरुको रोजागारमा प्रत्यक्ष प्रभाव पारेको उसको ठम्याई छ । जसका कारण आप्रवासीलाई ग्रिनकार्ड दिने प्रावधानलाई आधा घटाउनुपर्ने बिधेयकमा उल्लेख छ ।

अमेरिकाले सन् २०१५ मा संसारभरबाट ५० हजार डिभी लट्री मार्फत आप्रवासी र १ लाख २० शरणार्थी भित्र्याएको थियो ।

प्रतिक्रिया