‘माघको अन्तिमसम्म ऐन पाए बैशाखमा चुनाव हुन्छ’

इनेप्लिज २०७३ माघ १६ गते १७:१७ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आयोगलाई आवश्यक ऐन तथा कानूनहरु उपलब्ध भए चुनाव गराउन सकिने बताएका छन्। बैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्नको लागि सयम अब एकदम कम भएपनि आफूहरुले सार्वजनिक विदाका दिनमा पनि काम गरिरहेको उनको भनाई थियो। यादवले निर्वाचन गर्नको लागि सरकार, व्यवस्थापिका संसद र निर्वाचन आयोग तयार भएको खण्डमा निर्वाचन हुने विश्वास दिलाए। राजनीतिक दलहरुपनि जिम्मेवार बन्नुपर्ने उनको भनाई छ। यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले डा. यादवसँग गरेको कुराकानीको सम्पादित अंश :

स्थानीय चुनाव कहिले होला? बताउनुस् त जनता जान्न चाहन्छन् ?

एकिन गरेर मिति तोक्न हामीलाई अधिकारपनि छैन् । सरकारले व्यबस्थापिका–संसद मार्फत घोषणा गर्नुपर्छ। त्यो कुरा सरकारलाई सोध्नुस्। ऐन/कानून आएका छैनन्। पारित भएका ऐन पनि प्रमाणित भएर आएका छैनन्। हामी त तयार भएर बसेका छौँ।

निर्वाचन गर्न कति वटा ऐन आवश्यक हुन्छ ?

हामिले प्रस्तावित गरेका छौँ। जस्तै स्थानिय कार्यविधि ऐन, दलद र्ता सम्बन्धि ऐन, निर्वाचन आयोग सम्बन्धि ऐन लगायत ऐन चाहियो। अत्यावश्यक ऐन प्राप्त भएको खण्डमा निर्वाचन हुन्छ।

माघ १५ गतेभित्र ऐन उपलब्ध भएको खण्डमा निर्वाचन गर्न सकिन्छ भनेर भन्नु भएको होईन ?

हो, तर आईपुगेन। बीचमा दुईदिन बिदा परेर पनि ढिला भएको हो।

जेठको पहिलो हप्ता चुनाव हुँदैन, त्यसो भए ?

बिदाको प्रसँग भनिसकें। चुनाव जेठभित्र गर्नैपर्छ। प्रधानमन्त्री लागिरहुनुभएको छ। केही ऐन पारित भएका छन्। हामी ऐनको प्रतिक्षामा छौँ। यसमा सरकार गम्भिर छ।

चुनाव गर्न कति दिन चाहिन्छ बताउनुस्?

हामीले पटक–पटक भनेका छौँ। न्यूनतम समय १२० दिन हो। पहिलो चुनाव हो। समय एकदम कम छ। १५ गते टरिसकेको छ। हामी पनि लागेका छौँ । आज बिदाको दिनमा पनि काम गरिरहेका छौँ । हामी दुविधामा परेका छौँ ।

सरकारले आयूक्तको सिफारिस गर्यो नि होईन?

हो। सरकारले राम्रो काम गरेको छ। यतिले पुग्दैन। राजनीतिक सहमतिपनि चाहिन्छ। त्यहिकारण दुईचार दिन धकेलिएको हो ।

त्यसको मतलव ९० दिनमा चुनाव गर्नसक्नुहुन्छ ?

होईन नि। सय दिन भन्दा अलिबढि समय हामीसँग छ। हाम्रो बीचमा बाध्यता छ। चुनाव गर्नेपर्नेछ ।

माघको अन्तिमसम्म सरकारले ऐन दियो भने जेठमा निर्वाचन गर्न सकिने भयो होईन त ?

प्रतिकुल मौसम भएपनि त्यसलाई व्यवस्थित गर्नुपर्छ। गर्मीको समय छ।

तीन महिना भित्र निर्वाचन आयोग तयार छ ?

यो समय कमी हुन्छ । हामी दुविधामा छौँ। सरकारले पहिले कुन चुनाव गराउँने त्यो निश्कर्षमा पुग्नुपर्यो । निर्वाचन आयोगले हात खुला राखेको छैन्। बाँधेको छ। निर्वाचन गर्नको लागि सरकार, व्यवस्थापिका संसद र निर्वाचन आयोगको तयार भएको खण्डमा निर्वाचन हुन्छ । राजनीतिक दलसँग सम्बन्धि राख्ने उनिहरूले पनि जिम्मेवार बन्नुपर्छ ।

नेताहरू, आन्दोलनकारी दुई धु्रवतिर छन् यस्तो बेला हाम्रो देशमा निर्वाचन सम्भव हुन्छ त ?

नमिली सुखै छैन् । समय थोरै छ, काम धेरै छ । यस्तो अवस्थामा सबै गम्भिर हुनुपर्दछ ।

प्रतिक्रिया