हस्तकलाका सामग्रीबाट मनग्य आम्दानी

इनेप्लिज २०७३ माघ ७ गते ८:४० मा प्रकाशित

कञ्चनपुर, ७ माघ । हस्तकलाका सामग्री बिक्री गरी थारु समुदायका महिला आम्दानी गर्न थालेका छन् ।

आफ्नो सीपको प्रयोग गरी स्थानीयस्तरमै उपलब्ध हुने बाँस, बेत, घाँसबाट निर्मित सामग्रीको प्रयोग गरी थारु समुदायका महिला व्यावसायिक रुपमा हस्तकलाका सामग्री बनाउँदै आएका छन् । रैकवार विचवा–१ का विमला चौधरी हस्तकलाका सामग्री घरमा प्रयोगमा ल्याउनुका साथै आफन्त साथीभाइलाई उपहार दिनका लागि प्रयोग गर्दै आएको बताउनुहुन्छ ।

हस्तकलाका आकर्षक वस्तुले बजार पाउन थालेपछि यहाँका महिला घरमै बसीबसी आम्दानी लिँदै आउनुभएको छ । थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि परम्परागत रुपमा बनाइँदै आएका हस्तकलाका वस्तु बजारमा बिक्री गर्न थालेका छन् ।

हस्तकलाका डेल्वा, ढक्या, पनछोपनी, छिटुवा, छतरी, पङ्खा, सुप्पा, मच्या, खन्ध्री, भौँका, गुन्द्री, फिरुवा, गमला, फुलदानी बिक्रीबाट मासिक रु २० हजारभन्दा बढी आम्दानी हुने चौधरीको भनाइ छ ।

देखतभूलीका जानुका चौधरीले १५ दिने बाँसबेतका सजावटका सामग्री बनाउने तालिम लिनुभएको छ । उहाँले बाँसबेतका सामग्री बिक्री गरी मासिक रु १५ हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । औद्योगिक मेला, विवाह र घर सजावटका लागि यस्ता वस्तुको खपत हुने गरेको उहाँको भनाइ छ ।

आफ्नै प्रयोजनका लागि परम्परागत सीपको प्रयोग गरी हस्तकलाका सामग्री बनाउँदै आएका राना थारु अहिले ती सामग्रीलाई बजारसम्म पु¥याउन थालेका छन् । मनग्य आम्दानी हुन थालेपछि उनीहरु आर्थिक रुपमा सवल बन्दै गएका छन् ।

थारु समुदायले स्थानीयस्तरमै उपलब्ध हुने कच्चा पदार्थ र माटोबाट बनाइने गाग्री, करुवा, सुराही, घाँसबाट बनाइने गुन्द्री, मौनी, डोरी र सिकहरलाई बिक्री गर्दैआएका छन् । सीप र कलाबाट स्वरोजगार सिर्जना गर्ने खालका कार्यक्रम ल्याउन सके आर्थिक रुपमा सवल हुन टेवा मिल्ने स्थानीय छेदनीदेवी चौधरी बताउनुहुन्छ ।

प्रतिक्रिया