प्रचण्डजस्तो बैगुनी म होईन : ओली

इनेप्लिज २०७३ पुष २५ गते १२:३४ मा प्रकाशित

संविधान संशोधन विद्येयक संसदमा टेबुल भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिको कुरा गर्न थालेका छन्।संसदको गतिरोध समेत हेटेको छ। एमाले अझैपनि संशोधन विद्येयकको विपक्षमा छ। तर तीन दलवीचकै सहमतिमा उक्त विद्येयक संसदमा टेबुल भएको भन्ने कुरा घामजस्तै छर्लङ् छ। तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच के–के सहमति भए त? त्यसबारेमा के–के भएको हो र सहमतिको लागि सञ्जिवनी बुटी के रहेछ त? पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँग हिमालय टेलिभिजनको चर्चित कार्यक्रम ‘धमलाको हमला’मा पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंशः

सहमतिको सञ्जिवनि बुटि छ तपाईसँग ?

हामी सदैव संक्रमण कालको अन्त्य गर्नको लागि सहमतिको आवश्यकता छ। यतिबेला मुलभूत रुपमा स्थायित्व दिन, निर्वाचन गराउने कुरामा एक हुनपर्छ। सहमति आवश्यकता छ । मतभेद होलान्। अब मुलुकलाई सहमतिमै अघि बढाउने कुरामा म लागिपरिरहेको छु।

उसो भए सहमति कसरी हुँदैछ ?

सहमति हुन्छ। अब त्यसमा कुराकानीहरु अघि बढेका छन्। हामीले सहमतिको एउटा मार्गचित्र बनाउनै पर्छ। तपाईले दुई चार दिनमै सहमतिका सूत्रहरु थाहा पाउनुहुन्छ। अहिले म बोल्दिन्।

भनेपछि संविधान संशोधनको आवश्यकत्ता अब एमालेले देखेको हो ?

हामीले काँग्रेससँग पनि भनेका थियौं। संविधान निमार्ण र त्यसको कार्यन्वयन अनि संविधानले देखाएका बाटारुलाई फराकिला बनाउनुपर्छ भनेर, तर काँग्रेस त्यसबाट हट्यो बिबिध प्रकारका स्वार्थहरू मिसिए। अहिले संक्रमणकालको अन्त्य गर्नको लागि हाल सरकारले सक्दैन। यो सरकार कुनै ठुलो उद्देश्यले बनेकै होईन। जे उद्देश्यले बन्यो त्यता जानु हुँदैन थियो तर गैराखेको छ। समस्या भनेको सत्तापक्षको हो। त्यसैले एमालेले अहिले संविधान संशोधन आवश्यकत्ता छैन भनिरहेको छ। त्यसमा एमाले अझैपनि अडिग छ।

तपाई र प्रचण्डवीच सहमति भएको हो र?

उहासँग सहमति गरेर कार्यान्वयन हुन्छ जस्तो मलाई लाग्दैन्। तर सहमतिको विकल्प छैन्। उहाँहरुले संविधान संशोधनबाट व्याक हुनुपर्छ।

उसो भए सहमतिको लागि प्रधानमन्त्रीले के–के कुराहरू मान्नुपर्छ?

अनुचित कुरामा निहुँ खोज्नुहुँदैन। जानुपर्ने पुर्व छ तर पश्चिम जाने। काँशी जाने कुतिको बाटो भनेझै राष्ट्रिय राजनीतिलाई अल्झाउँने काम भएकोछ। यस ढंगले राजनीति सफल हुँदैन। देशले निकास पाउँदैन। प्रधानमन्त्रीले संशोधन विद्येयक फिर्ता लिए भनेमात्रै सबै कुराको निकास निस्किन्छ।

संविधान संशोधनको बिषय साझा बिषय हो, यसको बिपक्षमा एमालेजस्तो पार्टी किन उभियो?

उहाँहरुले संविधान संशोधनका नाममा उठाएका कुरा कस्ता छन् त भन्दा राष्ट्र र जनतासँग प्रत्यक्ष जोडिएका छन्। जुन संशोधन गर्दा खेरि देशलाई फाईदा हुँदैन। दुरगामी असर पर्छ। रुपान्तरित संसदले सिमाको हेरफेर गर्न सक्दैन। संविधान संशोधन गर्न सकिने दस्तावेज हो। यति भन्दैमा जे पायो त्यहि संशोधन त गर्नुहुँदैन। अहिले संशोधन विद्येयक जो अघि बढेको छ, त्यसलाई अघि बढ्न ओलीले दिँदैन्।

उसो भए संसदमार्फत संशोधन संभव हुँदैन?

मैले अघि पनि भनें नि रुपान्तरित व्यवस्थापिका संसदबाट यो काम हुँदैन। चुनाव गर्ने हो। कानून निमार्ण गर्ने हो। यस संसदका आफ्नै सिमा छन्। अहिले संसद खुलेको छ, कानून तथा ऐनहरु निर्माण गरेर चुनावको मिति घोषणा गर्नुपर्छ। हामी संशोधन प्रस्तावमा कुनै हालतमा पनि छलफल गर्न दिँदैनौं।

तपाई संविधान संशोधन प्रस्तावको बिपक्षमा हो?

म संविधान संशोधनको विपक्षमा होईन। तर यो संशोधन प्रस्तावमा समावेश भएका बुँदामा हाम्रो बिमती हो। सिमाङ्कनको बिषयलाई लिएर प्रस्ताव बनाएर देशलाई कता लैजान खोजिदै छ? जो कानुनले नै नदिएको बिषय हो। यो संविधान विरोधी काम हो। त्यसैले म यसको विपक्षमा उभिएको हुँ।

तर सिमांकन हेरफेरको प्रस्ताव त ओलीको आविष्कार हो भनेर प्रधानमन्त्रीले भन्नु हुन्छ नि?

उहाँका कुरामा कुनै सत्यता हुँदैन। उहाँ जे पायो त्यही बोल्नुहुन्छ। उहाँका भनाईलाई सर्बोच्च अदालतमा स्पष्टीकरण दिनुपर्ने नेताका कुरा के विश्वास गर्नु। केही दिन अघि मात्र उहाँले मैले प्रधानन्याधिशसँग कुरा मिलाएँ भन्नु भएको थियो। तर भोलिपल्ट उनको भनाई नै प्रधानन्याधिशले नै खण्डन गर्नुभयो।

तपाईले नै हिजो लुम्बिनीदेखि बर्दियासम्म एउटा प्रदेश बनाउने प्रस्ताव गरेको होईन र ? अहिले आएर यसको विरोध गर्नुको कारण के हो ?

त्यतिखेर त्यो प्रस्ताव मैले संवैधानिक सम्वाद समितिमा पेश गरेकै हुँ। त्यो गल्ती म बाट भएकै हो। त्यसैले मैले अहिले सच्याएको हुँ। राष्ट्रलाई अहित हुने भएर नै हिजो हामीले सुधार गर्यौँ। पहिला मैले पेश गरेको प्रस्ताव गल्ती भएको भनिसकेपछि अब मैले त्यसलाई मान्नुपर्छ भन्ने छ र?

उसो भए ५ नम्बर प्रदेशको सिमाङ्कनमा कहाँ राष्ट्रघात देख्नुभयो त?

त्यहाँका जनता र जनप्रतिनिधिको पनि यसबारेमा कुनै पनि चाहना छैन्। यो राष्ट्र हितको पक्षमा छैन्। त्यो नेपालको आवश्यकता होईन। यो सिमांकनले देशको राष्ट्रियता कमजोर बनाउँछ। र, अहिले सिमांकन गर्न दिईयो भने देशकै एकतामा खलल पुग्छ।

प्रधानमन्त्री र काँग्रेसका सभापति शेर बहादुर देउवाले एमालेकै सहमतिमा संशोधन अघि बढ्छ भन्नु हुन्छ?

मैले जहिले पनि भनि राखेको छु कि तपाई सबैले सुन्नु भएको छ। यस्ता निराधार कुरामा लागेर मैले बहस गर्नु उचित ठाँन्दिन। यो संशोधन प्रस्तावलाई म कुनै हालतमा समर्थन गर्न सक्दिन्। प्रचण्ड र देउवाले भनेर हुँदैन, त्यसमा मेरो सहमति छैन्।

सदन चलाउनको लागि एमाले किन लचिलो भयो त?

निर्वाचन गराउनको लागि लचिलो हुनुपर्ने आवश्यकत्ता थियो। निर्वाचसम्बन्धी ऐन, कानूहरु पारित गराउनको लागि हामी लचिलो भएका हौं। संशोधन विद्येयक पारित गराउनको लागि होईन्। एकदम चलिलो छ। हाम्रा सामू धेरै समस्याहरु छन्। यो सरकारले गर्नुपर्ने काम भनेको चुनाव हो, तर उ त पूर्ननिर्माण प्राधिकरणको सिईओ परिवर्तन गर्दैछ।

तपाईलाई संविधान संशोधनको विरोध त मधेशलाई अधिकार नदिने नेताको रुपमा चित्रण गरिएको छ नि?

यस्तो प्रश्न तपाईले अलि बुझेर गर्नुपर्छ। संविधान संशोधन प्रस्ताव पढ्नुभएको छ, त्यहाँ के के भएको छ? नागरिकता, समावेशिता सबै कानुनमा व्यवस्था छ त । अनि सिमांकन गर्ने अधिकार छ र ? मैले जति मधेशको विकासको लागि बजेट कसले दिएको छ? म जत्तिको मधेशवादी नेता कोही छैन्। म मधेशको विकास चाहाने मान्छे हुँ। संविधानमापनि मधेशको लागि अधिकार छ।

उसो भए सिमांकनबाहेक सबै विषयमा तपाईको सहमति हो र?

नागरिकता कसका लागि? न्याय कसका लागि? यदि नेपाली नागरिकले नागरिकता पाएको छैन भने राज्यले घरमा पुगेर उनीहरुलाई नागरिकता दिनुपर्छ। माँग्न आउँदा मात्रै दिने होईन । भाषामा पनि हाम्रो असहमति छ। नेपालमा भोजपुरी, अवधि, मैथिलीलाई मासेर भित्री रुपमा हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने खेलसहित यो संशोधनको विउ राएिको हो। त्यसैले भाषामा पनि हाम्रो गम्भिर विरोध छ। असहमति छन्।

सबै राजनीतिक दललेसंशोधन प्रस्ताव संवैधानिक छ भनिरहेको बेला एमालेले किन विरोध गरिरहेको छ?

संवैधानिक नियम के हो? कस्तो हो? त्यो अध्ययन गर्ने मानिसलाई थाहा छ। सिमा र भाषा आजको आवश्यक होईन। संसदमा छलफल गर्ने थलो हो भनेर हामीलाई सिकाउनुपर्दैन्। राज्य र जनताको हित विपरित हामी कुनैपनि काम गर्न दिदैनौँ। सिमांकनको प्रस्ताव असंवैधानिक छ, यो कुरा १० पटकपनि भन्न ओली तयार छ।

तपाई अब प्रचण्ड नेतृत्वको विकल्पको खोजीमा हो?

मैले किन खोज्ने? उहाँ आँफै दुई महिनापछि सरकारबाट बाहिरिँदै हुनुहुन्छ। देउवाजी र उहाँबीच नै यस्तो सहमति भएको छ। उहाँहरूकोबीचमा एग्रीमेन्ट छ। मेरोे सरकार विस्थापित गर्दा खेरि, कसले जोड्यो त्यो त सबैलाई थाहा छ। प्रचण्डजस्तो बैगुनी ओली छैन।

संविधान संशोधन नभएसम्म मधेशवादी दलले त चुनावमै भाग नलिने भनेको छ, अब कसरी चुनाव हुन्छ त?

चुनावमा जानैपर्छ। अहिले चुनावको विकल्प नै छैन। चुनावमा जानको लागि संविधान संशोधन गर्नुपर्दैन्। तीन वटै निकायको चुनाव भएपछि मात्रै संविधान संशोधनबारे सोचौंला। तर अहिलेको आवश्यकत्ता भनेको नै चुनाव हो। त्यसको लागि सबै दलहरु तयार हुनुपर्छ। यसको विकल्प छैन्।

५१ प्र्रतिशत मधेशी जनताले अधिकार पाएनन भनेर आवाज उठाईरहेका छन्, अनि तपाईले त्यो मतको कदर गर्नुपर्दैन ?

मधेशमा ५१ प्रतिशत जनसंख्या मधेशमा बस्दैनन्। यो आधिकारिक होईन र जान्ने मान्छेका कुरा होईनन्। म झापाको प्रतिनिधि हुँ। कुन ठाउँलाई मधेश भन्नु हुन्छ? को हो मधेशको ठेकदार? भाषाको बारेमा भोजपुरी, अवधि, मैथिली भाषीलाई विस्थापिति गर्ने र त्यहाँ जनताको मत विपरित कामगर्ने अधिकार कसैलाई छैन्।

उपेन्द्र यादवले केपी शर्मा ओली मधेश बिरोधि नेता हो भन्नु हुन्छ ?

उनीहरुले के भन्छन् त्यसको के अर्थ छ? मेरो कार्यकालमा मधेशको लागि गरेको कामको हिसाव छ? अब चुनावको विकल्प छैन। अनुचित रुपमा देशलाई अल्झाउनुहुँदैन।

काँग्रेस र एमाले नमिले देशले निकास पाउँदैन भन्न खोज्नुभएको हो?

काँग्रेस दलीय र व्यक्तिगत स्वार्थमा डुबेको छ। त्यहाँभन्दा माथि उठेको खण्डमा सहकार्य हुन सक्छ। तर अहिले सहकार्यको संभावना छैन्।

तर त तपाइ त अहिले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन चाहानुहुन्छ रे?

त्यस्तो अहिले केही भएको छैन। मेरो देउवाजीसँग पहिलेपनि सम्बन्ध राम्रै थियो। र अहिलेपनि उहाँसँग राम्रै सम्बन्ध छ।

प्रचण्डसँग तपाईको सम्बन्ध चिसिएको हो?

न चिसो न तातो? उहाँजस्ता मान्छेले सत्ताका लागि जे गर्नु भयो त्यो राजनीतिक चरित्र होईन। तर म प्रचण्डजस्तो गर्दिन्।

प्रतिक्रिया