टेक्सस ड्यालसमा यहाँहरुलाई स्वागत छ -राम सी पोखरेल

इनेप्लिज २०७३ पुष २२ गते ३:२८ मा प्रकाशित

यतिखेर हाम्रो व्यस्तता चाँही यही जनवरीको दोस्रो साता ड्यालसमा हुन लागेको एनआरएन अमेरिकाको पाँचौ बार्षिक साधारण सभाको तयारीका लागि भइरहेको छ । नेपालीहरुको घना आवादी भएको ड्यालसमा हरेक सप्ताहन्तमा ३/४ वटा कार्यक्रमहरु भइनैरहन्छन् । त्यसमाथि जनवरी १४ मा हुन लागेको आफ्नै संस्थाको साधारण सभालाई भव्य र व्यबस्थितमात्र नभै खोटरहित रुपमा सम्पन्न गराउनुपर्ने अवस्था छ । त्यसो हुँदा म लगायत एनआरएन अभियानमा लागिरहेका धेरै साथीहरुको समय यसमा ज्यादा लागिरहेको छ । साथीहरुलाई आफ्नो कर्मक्षेत्रको गृहनगरमा स्वागत गर्न ठूलो अभिलाषाले म लगायत धेरै साथीहरु असाध्यै उत्साहित छौं । त्यसैका लागि हामी व्यग्र प्रतिक्षारत पनि छौं ।

ड्यालस अमेरिकामा रहेका अधिकांश नेपालीहरुका लागि पछिल्लो समयमा बसोबासको हिसाबले होस् या व्यसायको हिसाबले पनि आकर्षकथलो हुँदै गएको छ । ठूलो नेपाली समुदाय, रोजगारीका अवसर र व्यबसायका लागि उचित वातावरणले गर्दा अमेरिकाका ५० वटै राज्यमा बस्ने नेपाली साथीहरु ड्यालसलाई हेरिरहनुभएको मैले महसुस गरेको छु । यस पटकको एनआरएन सम्मेलनका क्रममा धेरै साथीहरु ड्यालसलाई आफ्नो भावी बसोबासको गन्तव्य बनाउने योजनामा हुनुहुन्छ ।

एनआरएन कस्तो संस्था हो र यसले के गर्छ भन्ने बारेमा धेरै प्रवासी नेपालीहरु जानकारबिहिन हुनुहुन्छ भन्ने मलाई लाग्दैन । कुनै न कुनै रुपबाट, कुनै न कुनै संस्थामा आवद्ध रहेर पनि साथीहरु एनआरएनको मुभमेन्टप्रति सकृय हुनुहुन्छ । मैले यो अवसरमा एनआरएन यस्तो संस्था हो र यसले के के काम गर्छ भन्ने बारेमा यहाँ उल्लेख गर्नु इन्द्रका अघिल्तिर स्वर्गको बयान गरेजस्तै हुनजान्छ । तसर्थ म सिधै मुल विषयमा प्रवेश गर्न चाहन्छु ।

एनआरएनको ड्यालस सभाका लागि धेरैतिरबाट चासो व्यक्त भएको छ । अमेरिकाबाट मात्र नभै बाहिरबाट पनि साथीहरुले यो सम्मेलनका लागि भनेर हवाई टिकट लिइसक्नुभएको खबरहरु मैले पाइरहेको छु । यो खबरले गर्दा हामी जस्ता स्थानीय आयोजकपक्षलाई निकै हदसम्म सम्मेलन व्यबस्थित गर्न सघाउ पुग्ने अवस्था छ ।

यही हप्तामात्र एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल लगायतका साथीहरु ड्यालस आइपुग्नुभयो। उहाँहरुले अहिलेसम्मको प्रगति विवरण र वस्तुस्थितीका बारेमा हामी स्थानीय साथीहरुसँग परामर्श गर्नुभयो । हामीले पनि अहिलेम्मको प्रगतिका बारेमा समिक्षा ग¥यौं । यो हिसाबले हाम्रो सम्मेलन भव्य र व्यबस्थित रुपमा सम्पन्न हुन्छ भनेर हामी ढुक्क छौं । तर ९९ वटा कुराहरु पूर्ण भएर पनि एउटा पक्ष अपुर्ण अर्थात व्यबस्थित गर्न सकिएन भने भोग्ने साथीहरुलाई नमिठो हुन्छ भन्ने तर्फ पनि हामी आयोजक त्यत्तिकै सजग भने छौं ।

मैले माथिनै उल्लेख गरिसकेँ – यो साधारण सभाको क्रममा कुनै पनि कमजोरी नहोस्, कुनै असुविधा साथीहरुलाई नहोस् भन्नेतर्फ हामी असाध्यै सचेत भएर अघि बढिरहेका छौं । त्यसो हुँदा सहभागी हुन ड्यालस आउनुहुने साथीहरुबाट हामीले साधारण सभालाई व्यबस्थित गर्ने क्रममा केही अपेक्षाहरु राखेका छौं । जसले गर्दा हामीलाईमात्र होइन, सहभागी साथीहरुलाई समेत कार्यक्रमस्थलमा अनावश्यक झमेला, समय लाग्ने जस्ता समस्या पर्नेछैन ।

सबैभन्दा पहिलो हामीले राखेको अपेक्षा भनेको समयमै सहभागीहरुको नाम दर्ता हो । विगतका हाम्रा सभा, सम्मेलनहरुले के देखाएको छ भने कार्यक्रमस्थलमै रजिष्ट्रेसन गर्दा समय ज्यादा लाग्ने र व्यबस्थित पनि हुन सकेनन् । यसपटक हामीले पहिलेनै हाम्रो एनआरएन अमेरिकाको वेवसाइटमा गएर सहभागीहरुले आफ्नो नाम दर्ता गर्नसक्ने व्यबस्था गरेका छौं ।

अनलाइनबाट दर्ता गर्दा कार्यक्रमस्थलमै आएर दर्ता गर्ने झण्झट हुँदैन । व्याज बनाएर राख्न हामीलाई ठूलो सहयोग हुन्छ। अनलाइनबाट नाम दर्ता गर्दा १० डलर छुट समेत गरिएको छ । कार्यक्रमस्थलमा रजिष्ट्रेसन गर्दा प्रति सहभागी ५० डलर तिर्नुपर्छ भने अनलानइबाट ४० डलरमात्र तिरे हुने व्यबस्था छ ।

सहभागी हुन आउने साथीहरुलाई हाम्रो अर्को आग्रह भनेको–हामीले कार्यक्रम गर्नका बुकिङ गरेको होटलमा ८० वटा कोठाहरुमात्र हामीलाई सहुलियत दरमा दिइएको छ । त्यसो हुँदा साथीहरुले समयमै होटलको बुकिङ समेत गर्दा सबैको ड्यालस बसाई स्मरणीय हुन सहयोग पुग्नेछ ।

ड्यालसमा दुईवटा विमानस्थलहरु छन् । साथीहरुले हवाई टिकट लिनुहुँदा डिएफडब्लु अन्तर्राष्ट्रिय बिमानस्थलको लिनुभयो भने कार्यक्रमस्थल जान त्यहाँबाट सहज हुनेछ । लभफिल्ड एअरपोर्ट केही टाढा रहेकोले कार्यक्रमस्थलसम्म आइपुग्न समय लाग्नजान्छ ।

हामी एनआरएनका पदाधिकारी र सिंगो कार्यसमिति ड्यालसमा पाल्नुहुने सबै अतिथिहरुलाई स्वागत गर्न आतुर अवस्थामा छौं । यहाँहरुले माथि उल्लेखित विषयहरुमा थोरैमात्र पनि सहयोग गरिदिनुभएको खण्डमा साधारण सभा व्यबस्थित गर्न हामीलाई ठूलो सहयोग पुग्न जानेछ । यसका साथै यहाँहरुको ड्यालस बसाई पनि अविस्मरणीय हुनेछ भन्नेमा हामी विश्वास दिलाउँछौं ।

(लेखकः एनआरएन अमेरिकाका उपाध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया