संविधान संशोधन प्रस्ताव फिर्ता लिनेवित्तिकै हामी संसद खुलाई हाल्छौं : अध्यक्ष केसी

इनेप्लिज २०७३ पुष १९ गते २३:५१ मा प्रकाशित

chitra-bdr-kc-555x335

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको आरोप लगाएका छन् । ५ नम्बर प्रदेश टुक्र्याउनेगरि आएको संशोधन प्रस्तावले कुनै हालतमा नेपाल र नेपालीहरुको भलो नगर्ने पनि उनको आरोप छ । यीनै विषयमा केन्द्रित रहेर अध्यक्ष केसीसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अब संसद चल्छ होईन ?

त्यो ५ नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव लगायतका संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिनेवित्तिकै संसद तुरुन्त चल्छ ।

तर प्रधानमन्त्रीले प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन भनिसक्नुभएको छ, अब के हुन्छ ?

देशलाई अनिर्णयको बन्दी बनाउने त सरकार हो । हामी होईनौं ।

तर संसद अवरुद्ध त तपाईहरुले गरिरहनुभएको छ नि ?

यस्तो खालको राष्ट्रलाई टुक्रा टुक्रा पार्ने र जातीय राज्य बनाउँछु भनेर प्रधानमन्त्रीले भन्दै हिँड्नुभएको छ, त्यतिमात्रै छिमेकीले अहा«एको लाएको काम गर्ने भनेपछि यस्तो प्रस्तावको समर्थन गर्ने कि विरोध गर्ने तपाई आँफै भन्नुहोस् त। त्यसैले यो प्रस्ताव फिर्ता लिनेवित्तिकै हामी संसद खुलाई हाल्छौं नि ।

अहिलेको प्रस्तावमा त केपी ओलीजीले पनि हस्ताक्षर गर्नुभएको थियो, त्यतिवेला तपाईपनि सम्वाद समितिमै हुनुहुन्थ्यो अनि त्यतिवेला के हेरेर बस्नुभएको थियो ?

मैले त्यतिवेला संघीयता नै गलपासो भयो भनेको थिएँ । मुलुकलाई संघीयताले विखण्डन गर्छ भनेको थिएँ । त्यतिवेला दर्जनौं प्रस्ताव सम्वाद दर्ता गराएको थिएँ ।

तर अहिलेको प्रस्तावको सिमांकनको सूत्रधार त केपी ओली हो भनेर प्रधानमन्त्रीले भन्नुभएको छ नि ?

आफ्नो कारोवार सिद्दिएका टाट उल्टिएका व्यापारीहरुले पहिला कस–कससँग के के लिनुथियो भनेर डस्टविनमा फालिएका कागजहरु र बहीखाताहरु खोलेर आसामी उठाउँदै हिँड्छन् त्यसकारणले यी टाँट उल्टिएका हिजो के भनेका थिए भनेर नजाऔं ।

संसद अवरुद्ध गर्दा त तपाईहरुलाई नै घाटा छ, देशमा राजनीतिक तथा संवैधानिक संकट आयो भने तपाईहरु के गर्नुहुन्छ ?

यो मुलुक भोलि भुटानीकरण वा सिक्कीमीकरण भयो भने तपाई कहाँ जानु हुन्छ ?

उसो भए, आज खुलासा गरिदिनुहोस नेपाललाई भुटान वा सिक्किमीकरण बनाउने को छ ?

भारत ।

त्यो सम्भव छ ? नेपाली जनताले मान्छन् ?

पाकिस्तानलाई फुटाउन सक्ने, श्रीलंकामा त्यत्रो विधि उपद्रो गर्न सक्ने, अनि सिक्किमलाई लिय बनाउन सक्ने, अनि  नेपालमा गर्न सक्दैन भनेर भारतले भनेर भन्न सक्नुहुन्छ ?

यो त हाउगुजी हुन सक्छ ?

यो त भारतको नुन खानेहरुले भन्ने कुरा हो ।

उसो भए कुन कुन नेताहरुले खाएका छन् ? नाम खुलासा गर्नुहोस् त ?

त्यो काम मेरो होईन । मिडियाले अनुशन्धान गरेर सार्वजनिक गर्ने कुरा हो । को–को बसेका भारतको पे रोलमा भनेर । भारतीय निर्देशनमा कस–कसले काम गरिरहेका छन् भन्ने कुरा मिडियाले अनुशन्धान गर्ने कुरा हो ।

तर नेपालका नेताहरुकै कारण भारतको हस्तक्षेप बढेको भन्ने आरोप पनि त छ नि ?

त्यही त नेताहरु पद, सम्पतिको लागि र व्यक्तिगत स्वार्थको लागि नेताहरुले विदेशीको गुलाम गर्ने कुरा सत्य हो ।

भारतलाई गाली गरेर भोट बढाउने कुरा त होईन नि ?

होईन । यथार्थ कुरा हो नि । अहिले ५ नम्बर प्रदेशलाई टुक्रा टुक्रा पार्ने काम गरियो । यसको विरुद्धमा जनता आन्दोलित छन् ।

उसो भए ५ नम्बर प्रदेशको सिमांकन हेरफेर गर्ने काम भारतले गरेको हो भन्ने तपाईको आरोप हो ?

भारतको निर्देशनमा लैनचोरमा प्रस्ताव मध्यरातमा गएको छ ।

प्रतिक्रिया