श्रीमतीलाई जबर्जस्ती गर्न खोज्ने श्रीमान् पक्राउ

इनेप्लिज २०७३ पुष १८ गते १२:५९ मा प्रकाशित

jail-650x250डोल्पा, १८ पुस । आफ्नी श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको आरोपमा यहाँका एक पुरुष पक्राउ परेका छन् ।

काइगाउँ गाविस–९ बस्ने २४ वर्षीय विसाकुमारी विकका श्रीमान् गणेश विक पक्राउ परेका हुन् । उनले पटक पटक मादक पदार्थ सेवन गरेर श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिने र नमानेपछि श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

बिहे गरेको तीन वर्षभित्र थुप्रै पटक कुटपिट गरे भन्ने श्रीमतीको उजुरीमा गाउँका भद्रभलाद्मी बसेर पटक पटक दुवैजनालाई मिलाउँदै आएका थिए ।

यसपटक भने असह्य भएरै न्याय खोज्न आफू सदरमुकामसम्म आइपुगेको श्रीमती विकले बताएकी छन् ।

उनी आफ्नो घरदेखि छ दिनको पैदल हिँडेर दुई वर्षीय छोरासहित सदरमुकाम दुनै पुगेकी हुन् ।

यो पटकको कुटाइबाट उनको शरीरभरि गहिरो चोट लागेको र विशेषतः टाउको र आँखामा गम्भीर चोट लागेको महिला तथा बालबालिकाको कार्यालय, डोल्पाले जनाएको छ ।

अभियुक्त विकलाई घरेलु हिंसाअन्तर्गत यौनजन्य हिंसामा मुद्दा चलाइएको प्रहरी नायब निरीक्षक तुलसीराम अर्यालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया