मेरिल्याण्डमा निर्माण हुने मन्दिरले सबको मन जोड्न सकोस्, साथ र सहयोग सबको जुट्न सकोस् – प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ पुष १२ गते २३:२१ मा प्रकाशित

PRAKASH SHRESTHA
भाषा, धर्म, संस्कार, कला, संस्कृति, परम्परा, रितिरिवाज बचाउन सकिएन भने आफ्नो पहिचान पनि गुम्न सक्छ । स्वभाविक हो हामी आधुनिक युगमा गतिशिल छौ र संसारभरि छरिएका छौ तर आफ्नो मुल थलो र जरो नेपाल भएका कारण नेपालीपनलाई युगौयुग बचाउन आफ्नो प्रयास हुनु जरुरी छ । यसै सन्दर्भमा अवसरको भुमि भनेर परिचित देश अमेरिकामा हामी नेपालीहरुको बसाईसराई दैनिकरुपमा केही दशक पहिला देखि बढेको छ र बढ्ने क्रम जारी नै छ ।

यस्तो अवस्थामा नयाँ पुस्ताहरुमा नेपाली भाषा, संस्कार, धर्म, संस्कृति, मान्यतालाई हस्तान्तरण गर्न र त्यसबारे अद्यावधिक जानकारी गराउनु पर्ने हाम्रो पुस्ताको जिम्मेवारीता हुन आउँछ । यदी हामी यसमा सचेत भएनौ भने कुनै दिन यस्तो आउने छ हाम्रा सन्ततीले आफ्नो पुर्खाको जन्मथलो, भाषा, संस्कार, धर्मकर्म, रितिरिवाज, चाडवाड, कला-संस्कृति, आदारसत्कार, मर्यादा अर्थात् समग्रमा नेपाली पहिचाननै भुल्ने छन् जसले गर्दा पहिचान मेटिएको, ईतिहास हराएको मान्छेको रुपमा परिचित हुनेछन् र त्यतिबेला आफ्ना पुर्खालाई धिक्कार्ने छन् । त्यसो हुन नदिनको लागी हामी आफुले सबै मिलेर गर्न सकिने सामुदायिक कामहरु जसले हाम्रो नेपालीपनलाई जीवन्त राख्न सक्छ त्यसमा लाग्नु जरुरी छ ।

फ्नो भाषा, धर्म र संस्कारलाई जीवन्त राख्न हाम्रा छिमेकी मुलुक भारत, पाकिस्तान, चीन, भुटानका आप्रवासी नागरिक जो अमेरिकामा आएर बसेका छन् उनीहरु हरेक तरहले एकजुट भएर लागेका छन् । जसको सामान्य उदाहरण भारतियमुलकाले हिन्दु मन्दिरहरु ठाउँठाउँमा स्थापना गरेका छन्, भाषा स्कुलहरु संचालन गरेका छन् । त्यस्तै पाकिस्तानीमुलकाले मस्जिद स्थापना गर्ने, हरेक दिन नवाज पढ्ने, बच्चाहरुलाई मातृभाषा सिकाउने स्कुल भर्ना गर्ने गरेका छन् । त्यसो त चाईनिजहरु पनि आफ्नो समुदायको पहिचानमा हरतरहबाट अगाडी बढेका छन् र भुटनिज नेपालीहरु समेत यस्ता कामका लागी निकै कटिवद्ध भएर अगाडी बढ्दै छन् । त्यसो त नेपालीहरु पनि यस्ता कार्यमा मौन छन् भन्न मिल्दैन तर जति हुनु पर्ने हो र गर्न सकिन्छ त्यति जागरुक भएको भने पाईदैन । अमेरिकाका कतिपय राज्यमा धार्मिक मन्दिरहरु निर्माण गर्ने, सामुदायिक भवन बनाउने काममा अग्रसरता देखाएको पाईन्छ तथापी अझै धेरै राज्यमा नेपालीहरुको जनघनत्व उल्लेखनिय भएरपनि सबै एकजुट र एकमत भएर यस्ता एेतिहासिक महत्व रहेको साझा पहिचानका धरोहरहरु निर्माणमा अगाडी बढ्न सकिरहेको पाईदैन ।

अमेरिकामा धार्मिक विविधता भएका मानिसहरु बस्ने भएको हुँदा हरेकजसो आप्रवासीहरुका आ-आफ्नै धार्मिक आस्था अनुरुप चर्च, मस्जिद, गुम्बा, मन्दिर आदि निर्माण र संचालन भएका छन् । हामी नेपालीहरुको हिन्दु र बौद्ध धर्ममा बढि बाहुल्यता छ तर पनि कतिपय राज्यमा नेपालीहरुबाटै निर्माण गरिएका हिन्दु मन्दिर र गुम्बा/स्तुपाहरुको अभाव हुँदा ईण्डियनहरु र अन्य देशका बौद्धधर्मालव्बीहरुले निर्माण गरिएका यस्ता आस्थाका केन्द्रहरुमा धाउन बाध्य छौ । तसर्थ सकभर आफ्नो समुदायको स्वामित्व र आफ्नोपन कायम हुने यस्ता धार्मिक केन्द्रको निर्माण हुँदा” हाम्रो” भन्ने आत्मियता गाँसिएको बहुमुल्य चिज( भावनात्मक हिसावले) पाईन्छ । त्यसले गर्दा नेपाली समुदायको चाहना र आवस्यकता अनुसार यस्ता धार्मिक केन्द्र संचालन हुन सक्छन् । यसको लागी पनि नेपालीहरुकै लगानीमा यस्ता धार्मिक धरोहर बन्नु पर्ने हुन्छ ।

यस्तै धरोहर अर्थात् हिन्दु मन्दिर “मेरिल्याण्डको बाल्टिमोरमा” निर्माण गर्ने शुरुवाती चरणको कार्य थालनी “आर्थिक संकलन” कार्य मार्फत हुँदै गरेको छ र जसका लागी केही समाजसेवी, उद्यमीहरु जोडतोडका साथ लागीपरेको देखिन्छ । कतिपय धन र मनका फराकिला व्यक्तिहरुले आजीवन निश्चित रकम दिने प्रतिबद्धता जाहेर समेत एक विशेष “Fund Raising program” मा गरेको पाईयो, साथै स्वतस्फुर्त रकम दिनेहरुको पनि उत्साहपूर्ण सहभागिता देखियो । यसो त यस्तो आर्थिक सहयोग गर्नेहरुको ” Nepali American Cultural Center Of Baltimore ” नामक फेसवुक पेज र गुरुपमा समेत नाम र सहयोग रकमको प्रतिबद्धता निरन्तर थपिदै गएको छ । आयोजकहरुका अनुसार यसरी आर्थिक संकलन अभियान चलाएको हप्ता दिनमै १ लाख डलर भन्दा बढि रकम संकलनले निकै उत्साह थपेको र मन्दिर बनाउने आवस्यक स्थल छनौटका साथै मर्मत- सम्भार गरेर मन्दिरको रुप/आकार दिन मिल्ने पुरानो चर्च समेत लिलामी मोलमा पाईने लगभग पक्का भएको जानकारी समेत उक्त आर्थिक संकलन अभियान विशेष कार्यक्रममा सबैलाई अभगत गराएका थिए ।

हुनत यस मेरिल्याण्डमा केही बर्ष देखि ” सामुदायिक भवन” र ” मन्दिर” निर्माण गर्ने पहल विभिन्न संघसंस्थाबाट प्रयास भएपनि यसलाई मुर्तरुप दिन नसकिरहेको अवस्थामा जागरुक, विवेकी एवं समाजमा अलग्गै पहिचान बनाईसकेका जिम्मेवार व्यक्तीहरुले कुनै नाम र सम्मानको लालचा नदेखाई केवल विशुद्ध तरिकाले आफ्नो नेपाली कला, संस्कृति, धर्म एवं संस्कारको जगेर्ना गर्ने हेतुले अगाडी बढाएको यस्तो पवित्र कार्यमा मेरिल्याण्ड र यसका आसपासमा बस्ने नेपाली समुदायले सक्दो सहयोग गर्नु परम कर्तव्य हुन आउँछ ।

यसमा एउटा कुरा ख्याल गर्नु पर्ने के छ भने सकभर सबै नेपाली समुदायको सहभागिता हुने गरि आवस्यक संयन्त्रको विकास गरिनु पर्छ । केवल आर्थिकरुपमा सबल पक्षहरुबाट बढि रकम आर्थिक सहयोग प्राप्त गर्न सकिन्छ भन्ने मान्यता राखेर ध्यान केन्द्रित गर्ने र आमसर्वसाधरणको सहभागितालाई चासो नदिने काम गरिनु हुँदैन । धर्म, संस्कार, संस्कृति जगेर्ना हुने काममा कतै न कतै, केही न केही रुपमा साथ र सहयोग पुर्याउनु पर्छ भन्ने मानसिकता सबैमा हुन्छ तर सबैको हैसियत, स्तर, अनुकुलताहरु समान एवं चाहना राखे अनुरुप नहुन सक्छ तसर्थ यसलाई समेत मध्यनजर राखेर जे जति जो जहाँबाट आर्थिक सहयोग, नैतिक सहयोग वा विभिन्न खाले सहयोग हुन सक्छ त्यसलाई आत्मसात गर्दै उचित व्यवस्थापन गरि सबैलाई एक ठाउँमा जुटाउन हरेक कोणबाट लाग्नु पर्छ । यसो हुनसके अहिले मात्र हैन आउँदा दिनमा समेत नेपाली समुदायका तमाम सरोकार राख्ने काममा सबैको साथ र सहयोग लिन सजिलो हुन सक्छ ।

त्यस्तै अर्को कुरा, आखिर जसले जहाँबाट जसरी पहल गरेपनि सबै नेपालीको हितमा हो भन्ने पनि सबै हामी नेपाली जनमानसले बुझ्न जरुरी छ । यो महान काममा सबै व्यक्ती, सबै संघसंस्थाहरु आपसमा एकजुट भएर लाग्नु जरुरी छ । के काम, कसले, कसरी अगाडी बढायो भन्दापनि यो काम समुदायको लागी आवस्यक छ वा छैन भन्ने कुरा महत्वपुर्ण हो र पक्कै पनि नेपाली समुदायको धार्मिक आस्थाको केन्द्र वा धार्मिक धरोहर/मन्दिर निर्माण गर्नु सबैको लागी आवस्यकता भएको र सबैको मन एकआपसमा जोड्न सक्ने उपदेयिता भएको क्षेत्र हो । तसर्थ यसमा सबैले आ-आफ्नो साथ र सहयोग अनि संलग्नता देखाउन सक्नु पर्छ । त्यसो हुनसके अवस्य पनि भविष्यमा अझै बृहत् आवस्यकता र सरोकारलाई समेट्ने ” सामुदायिक केन्द्र” निर्माणमा समेत सबैको साथ र सहयोग अवस्य मिल्नेछ ।

नेपाली समुदायको समसामायिक समस्या र सरोकार समेट्न सबै मिलेर धेरै काम गर्नु आवस्यक छ, त्यसका लागी हात फैलाउने आखिर नेपाली समुदायमा नै हो । “एउटालाई चोट लाग्दा अर्कोलाई दुख्ने र एउटाले प्रगती गर्दा अर्कोलाई गर्व हुने वातावरणको अवस्था ” तव मात्र आउन सक्छ जव समुदायमा आपसी मेलमिलाप र सहकार्य हुन्छ । त्यसैले यो धार्मिक आस्थाको केन्द्रको निर्माणमा सबै जुटेर सत्कर्मको शुरुवात आजैबाट गरौ, सबैले आफु सक्दो सहयोग गरेर यसलाई सार्थकतामा पुर्याउ । जति सक्दो चाडो नेपालीपन र मन भएको धार्मिक आस्थाको धरोहरलाई मुर्तरुप दिन सबै साझा धागोको एउटै माला बुन्न अगाडी बढौ ।

प्रतिक्रिया