शुक्रबार, असार ४ २०७८
काठमाडौं १८:४२
वासिङटन डिसी 08:57

अमेरिकामा पैसा छैन भने चुप लागेर बस्नुहोस् तपाईको बोली कसैले सुन्दैन – प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ पुष ९ गते २०:३० मा प्रकाशित

prakash-shrestha-1

अमेरिका क्षमता र खुबी हुनेहरुले डलर कमाएर आफ्ना असिमित आवस्यकता मध्ये प्राथमिकतामा परेका सबै आवस्यकता पुरा गर्न सकिने मार्ग प्रसस्त हुने ठाउँ हो । तपाईको आयआर्जन हुने ठाउँ छ भने उधारो सेवा लिन सक्ने माध्यमहरु पनि प्रसस्त पाईन्छ अर्थात् तपाई किस्ताबन्दी भुक्तान गर्न मिल्ने गरि गुड्ने कार देखि उड्ने प्राईभेट जहाज, बस्ने मकान देखि विश्वविद्यालयको डिग्री समेत लिन आवस्यक ” Fund ” सजिलै जुटाउन सक्नु हुन्छ । त्यसको लागी तपाईमा समयमै प्रतिबद्धता जनाए अनुसार भुक्तान गर्ने व्यवहार सहि हुनु पर्छ अर्थात् credit( साख) राम्रो बनाउनु पर्छ । क्रेडिट कार्डको सहि सदुपयोग गर्न जान्नु पर्छ, आर्थिक ईमान्दारिता देखिने गरि यस्ता बैक कार्ड चलाउन सक्नु पर्छ, समयमै तिर्न बाँकी रकम फर्स्यौट गर्नु पर्छ । यसलाई यसरी बुझौ की आर्थिक गतिविधी समयमै ठिकठाक राख्न सके एकैचोटी नगदको प्रवन्ध नहुँदा समेत कतिपय ठुलै गर्जो टार्न मुश्किल पर्दैन तथापी यी सबै काम गर्न र सुविधा उपभोग गर्न कि त नियमित आय हुने काम चाहियो या व्यवसाय संचालन गरेको हुनुपर्यो । यस्तो हुनसके तपाईका ईच्छा र चाहना मागमा रुपान्तरण भएर आपुर्ति हुन सक्छ, अन्यथा कोरा ईच्छा र चाहना पुरा हुनत के सोच्न पनि गलत हुन्छ ।

अमेरिकामा जसले पाखुरा बजार्न र दिमाग लगाउन सक्छ उसैले दाम कमाउन सक्छ । जसले दाम कमाउन सक्छ उसले चाहना राखेमा सामाजिक क्षेत्रमा नाम कमाउन सक्छ । भन्नुको अर्थ जसले राम्रो कमाई गर्छ उसले परि आएको खण्डमा राम्रो दान वा चन्दा नेपाली संघसंस्थालाई दिन सक्छ तव उसले भनेका हरेक कुराको सुनाई सबैले गर्छन् र उसकै भक्तिभाव सबैले देखाउँछन् । चाहे त्यसरी चन्दा र सहयोग गर्नेले जस्तोसुकै बाटो अपनाएर पैसा कमाओस् उसको पृष्ठभूमि चेकजाँच गर्न कसैले खोज्दैन मात्र सामाजिक संघसंस्थाको ध्येय भनेकै जसरी हुन्छ दाम प्राप्ती गर्नु हुन्छ । त्यसरी दाम दिनेलाई मानसम्मान र हाईहाई नगरे फेरी आवस्यक पर्दा अर्को सहयोगको प्रस्ताव राख्न पाईदैन भन्ने महत्वपुर्ण अचूक कडी उनीहरुलाई स्मरण भईरहन्छ ।

स्वाभाविक हो दाम दिनेलाई मान दिनु र उसको बोलीलाई अमृत सम्झनु यद्यपी धेरै दाम दिनेहरुले बोलेका, भनेका सबै कुरा सत्य र निस्वार्थ हुन्छ भनेर सामान्यीकरण गर्नु पनि सधै सहि सावित नहुन सक्छ । कहिलेकाही धनले प्रसस्त मन देखाउन नसक्नेले राखेका विचार, अवधारणा, योजना समेत सहि र समयानुकूल आवस्यकता हुन्छ भने त्यसलाई मनन गरेर यस्ता सामाजिक संघसंस्थाहरु अगाडी बढ्न खोज्नु पर्ने हुन्छ तर दु:खको कुरा भन्नु पर्छ यतातिर प्रायः कमले मात्र ध्यान दिएको पाईन्छ ।

यसो त कतिपय धन हुनेहरुले आफु र आफ्नो परिवार बाहेक अरुको वा समुदायको बारेमा चासो समेत दिन नचाहने गरेको नदेखिएको हैन । यसको बदलामा कम्तीमा आफुले जे जसरी कमाएको धन भएपनि सामाजिक भलाई हुने ठाउँमा मन ठुलो बनाएर दान/ चन्दा वा सहयोग गर्न खोज्नु सामान्य हैन तथापी यस्ता सामुदायिक हितमा गरिने कार्यको लागी जुटाईने सहयोगमा सबैको सहभागिता सानो-ठुलो जे हुन्छ गराउन खोज्नु र सबैको आवाज सुन्ने धैर्यता भने हुनै पर्छ किनकी पैसा कमाउनेहरु सँग मात्र उत्तम विचार र विकल्प हुन्छ भन्ने सोच्नु अमेरिकामा सबै सम्पन्न छन् भन्ने सोच्नु जस्तो हो । यथार्थमा न त अमेरिकामा सबै सम्पन्न छन् न त पैसा कमाउनेहरु मात्र सर्वेसर्वा जानकार छन् ।

अत: कतिपय सामुदायिक भलाईको काम गर्दा आम जनमानसको भावना बुझेर सोही अनुकुल अगाडी बढ्नु जरुरी छ । सधै ठुलो मात्रामा संकलित पैसाले सही ठाउँमा सही कामनै गर्छ भन्ने छैन । तसर्थ कुनै पनि सामाजिक कार्य थालनी गर्दा व्यापक खोज र अनुसन्धान गरिनु जरुरी छ मात्र केही सिमित व्यक्तीहरुको उत्तेजनामा गरिन थालिएको कामले मुर्तरुप नदिन पनि सक्छ दिई हालेपनि अधुरो हुन सक्छ । वास्तवमा आजकल अमेरिकामा स्थायी बसोबास गर्ने नेपालीहरुको संख्या विजगणतिय वा ज्यामितीय तवरबाटै बढेको छ भन्दा फरक पर्दैन यस्तो अवस्थामा नेपाली रितीथिती, परम्परा, भाषा, संस्कृति, कला, मुल्यमान्यता जीवन्त राख्न र नेपालीपनलाई भावी पुस्ताहरुमा समेत हस्तान्तरण गर्न केही न केही धरोहरहरुको स्थापना हुनु आवस्यक छ र यसतर्फ ठाउँ ठाउँमा नेपालीहरु लागी परेको पनि देखिएको छ चाहे त्यो ” सामुदायिक भवन/ केन्द्र” बनाउने काममा होस् या “नेपाली मठमन्दिर/स्तुपा” या भाषा स्कुलहरु या अरु नै सांस्कृतिक महत्वको धरोहरहरु ।

जे जस्ता धरोहर बनाईएको भएपनि र बनाउन थालनी गर्न लागिएको भएपनि मुख्यत नेपालीहरुमा तत्काल महत्वपुर्ण आवस्यक कुराहरु र भविष्यमा पनि सधै आवस्यकता परिरहने सबैको व्यक्तीगत जीवनका सरोकारका कुराहरुलाई समेत ख्याल गरेर अगाडी बढ्नु पर्ने देखिन्छ । सबैभन्दा महत्वपुर्ण कुरा बढि भन्दा बढि नेपालीहरुलाई व्यक्तीगत एवं सामाजिकरुपमा के के कुराहरु तड्कारो आवस्यकता छ त्यसबारे पनि जानकारी र सेवा दिन सकिने निकायहरुको व्यवस्था गर्न तर्फ लाग्नु जरुरी छ । नेपालीहरुलाई कसरी रोजगारी दिन सकिने आधार बन्छ, आर्थिक एवं पारिवारिक, सामाजिक सुरक्षा कसरी दिन सकिन्छ, व्यवसायिक दक्षता वृद्धि कसरी गराउन सकिन्छ, भौतिक सुरक्षाको उपायहरु के कसरी अवलम्वन गर्न सकिन्छ, कसरी नेपाली कला- संस्कृतिको संरक्षण गर्न सकिन्छ, भरपर्दो आवस्यक सुचनाहरु निरन्तर दिएर कसरी सुसोचित गर्न सकिन्छ, आपतविपतमा कसरी सहयोग पुर्याउन सकिन्छ, अमेरिकी सरकारबाट के कसरी सेवासुविधा लिन सकिन्छ, नेपालीहरुको पहिचान र अस्तित्वलाई कसरी उचो राख्न सकिन्छ त्यस तर्फ पनि ध्यान दिएर सामाजिक संघसंस्थाहरुले कार्यक्रम गराउनु पर्ने हुन्छ ।

विडम्बना भनौकी के भनौ यस तर्फ कुनै पनि संघसंस्थाहरु जिम्मेवार भएर लागेको पाईदैन बरु आपसमै खिचातानी र खुट्टा तानातान एवं भनाभन मै अमुल्य समय फालेको पाईन्छ । जताततै तिनै पुराना अनुहारहरु हावी छन् कतै नयाँ अनुहार र विचारको सुनाई छैन । अत: अव पुराना मात्र हैन नयाँ अनुहार र पैसा हुने मात्र हैन विचार र मन हुनेहरुको पनि आवाज सुन्ने वातावरण बन्न सकोस्

। सबैको जय होस् !

प्रतिक्रिया