एक्याप क्षेत्रमा गिद्धको गणना सुरु

इनेप्लिज २०७३ पुष ८ गते ६:१४ मा प्रकाशित

giddaमुस्ताङ, ८ पुस । विश्वप्रसिद्ध पदमार्ग राउन्ड अन्नपूर्ण पदमार्ग क्षेत्रमा गिद्धको सङ्ख्याको गणना गर्न थालिएको छ । ग्लोबल प्राइमेट नेटवर्कले पदमार्गअन्तर्गत मुस्ताङको मुक्तिनाथ गाविसदेखि म्याग्दी, कास्की, लमजुङ, मनाङ लगायतको क्षेत्रमा गिद्धको सङ्ख्या र अवस्थाबारे अध्ययन गर्न थालेको हो ।

सन् २००१ देखि ६ वर्षसम्म अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहकार्यमा गिद्धको सङ्ख्या गणना गरिएपनि त्यसयता भने रोकिएको थियो । यसअघि गणना गरिएकै स्थानबाट फेरि गणना गर्न सुरु गरिएको नेटवर्कका कार्यक्रम निर्देशक दिक्पाल कर्माचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्मको अध्ययनमा गिद्धको सङ्ख्या विगतको तुलनामा स्थिर नै देखिएको छ । मानवीय क्रियाकलापका कारण विश्वव्यापी रुपमै गिद्धको सङ्ख्या लोप हँुदै जाँदा आहार र सुरक्षित बासको अभावका कारण मुस्ताङ आसपासको क्षेत्रमा पनि यसको सङ्ख्या घटेको विगतको अध्ययनले देखाएको छ ।

“सन् २००१ देखि ६ सम्म आइपुग्दा यस क्षेत्रमा गिद्धको सङ्ख्या घट्दै गएको थियो, तर यो लामो अवधिपछि हेर्दा केही रुपमा बढेको पाएका छौँ”, उहाँले भन्नुभयो ।

टोलीले मुक्तिनाथ, लोप्रा, मार्फा र कोबाङ क्षेत्रमा अध्ययन गरिसकेको छ । म्याग्दी, लमजुङ, मनाङ क्षेत्रमा पनि थप अध्ययन गरिने निर्देशक कर्माचार्य जानकारी दिनुभयो । “यसको प्रतिवेदन हामीले सन् २०१७ सम्म एक्यापलाई उपलब्ध गराउनेछौँ”, उहाँले भन्नुभयो । रासस
–––––––

सो मं बु बि शु
News
Download as zipDownload

प्रतिक्रिया