झन्डै दुई वर्षपछि पर्वतका भूकम्पपीडितको लगत सङ्कलन सुरु

इनेप्लिज २०७३ पुष ७ गते ८:५७ मा प्रकाशित

फलेवास (पर्वत), ७ पुस । भूकम्प गएको झन्डै दुई वर्षपछि पर्वतका भूकम्पपीडितको लगत सङ्कलन सुरु गरिएको छ । सरकारले भूकम्पबाट कम प्रभावित १७ जिल्लाको तथ्याङ्क अद्यावधिक गर्ने कार्यक्रम सुरु गरेपछि पर्वतमा पनि लगत सङ्कलन गर्न थालिएको हो । भूकम्पको लगत्तै प्रहरी, प्रशासन र स्थानीय निकायलगायतले गरेको सर्वेक्षणको तथ्याङ्क फरक भएपछि भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत सङ्कलन कार्यक्रमअन्तर्गत राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय तथ्याङ्क विभाग, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र भूकम्पीय आवास पुनःनिर्माण आयोजनाले तथ्याङ्क सङ्कलन थालेको छ ।

प्राधिकरणले ‘ख’ वर्गमा समावेश गरेको पर्वतमा भूकम्प प्रभावित आवास पुनःनिर्माण सङ्कलन कार्यक्रमअन्तर्गत जिल्लामा लगत सङ्कलन कार्यालय खोलेर काम सुरु गरेको छ । सही तथ्याङ्क नहुँदा वास्तविक पीडितको पहिचान हुन समस्या भएको र विभिन्न दातृ निकायबाट समेत जथाभावी तथ्याङ्क आएको गुनासो आएकाले कम प्रभावित जिल्लाको पनि लगत सङ्कलन गर्न थालिएको प्राधिकरणका विज्ञ सदस्य चन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले लगत सङ्कलनलगत्तै क्षतिको आधारमा १, २, ३, ४ र ५ नंमा वर्गीकरण गरिने र सोहीअनुसार पीडितलाई राहत वितरण गरिने जानकारी दिनुभयो ।

लगत सङ्कलन कार्यालयका तथ्याङ्क अधिकृत शिव श्रेष्ठका अनुसार पर्वतमा २९ इन्जिनियरलाई गाउँमा परिचालन गरिने भएको छ । यसै महिनाको दोस्रो सातादेखि जिल्लाका अति प्रभावित गाविसमा इन्जिनियर र सामाजिक परिचालकलाई खटाइने भएको छ । झन्डै तीन महिनाको कार्यवधि रहेको कार्यालयले फागुन १५ गतेसम्म लगत सङ्कलनको काम सकेर पुनःनिर्माण प्राधिकरणलाई बुझाउने योजना रहेको अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि प्राधिकरणमा जिल्लामा ११ हजार ८०९ घरधुरी भूकम्पले प्रभावित भएको र जसमध्ये एक हजार ४०९ घर पूर्णरुपमा भत्किएको विवरण पठाइएको थियो । गाविस र जिल्ला प्रशासन कार्यालयको पहलमा पठाइएको विवरणलाई गाउँमै पुगेर इन्जिनियरमार्फत जाँच गर्ने र राहतका लागि पुनःनिर्माण प्राधिकरणमा पठाइने भएको छ ।

प्रतिक्रिया