रुपन्देहीमा एमाले युवामाथि गोली काण्डः हत्यारा पत्ता लाग्यो (ताजा तस्वीरसहित)

इनेप्लिज २०७३ पुष ५ गते ९:३४ मा प्रकाशित

durga-tiwari2

काठमाडौँ, ४ पुस ।रुपन्देहीमा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष दुर्गा तिवारीमाथि गोली हान्नेको पहिचान भएको छ । काठमाडौँस्थित प्रहरीको उच्च स्रोतका अनुसार, रुपन्देहीका श्याम गुरुङ र मनोज पुन मगरको टोलीले तिवारीलाई गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले हत्यामा संलग्न समूहको खोजी गरिरहेको छ । हत्यामा संलग्न भएका भनिएका गुरुङ सेनाका भगौडा हुन् भने पुन मगर स्थानीय गुण्डा हुन् । उनीहरुले केही दिन अघिदेखि २० लाख रुपैँया नदिए ज्यान लिने धम्की दिँदै आएका थिए । युवा संघ स्रोतले पनि यसको पुष्टि गरेको छ । संघको स्थायी समिति बैठकमा बसिरहेका युवा संघका अध्यक्ष राजीव पहारीले हत्यारा समूहलाई तत्काल पक्राउ गर्न प्रहरीसँग माग गरेको जानकारी दिए । रुपन्देहीस्थित सहकर्मी नरेश केसीका अनुसार, अहिले रुपन्देहीमा एमाले कार्यकर्ता आक्रोशित बनेका छन् । तिवारीको शव रहेको देवदह मेडिकल कलेजमा एमाले कार्यकर्ता र शुभेच्छुकहरुको ठूलो भीड लागेको छ । तिवारीमाथि रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनीमा आज दिउँसो गोली प्रहार भएको थियो ।

उनी इटा व्यवसायी पनि हुन् । करिब छ महिना अघि नै रानाको समूहले तिवारीको हत्या प्रयास गरेको थियो । रुपन्देही तनावग्रस्त तिवारीको हत्यालाई लिएर बुटवल तनावग्रस्त बनेको छ। एमालेका आक्रोशित युवा कार्यकर्ताले बुटवलमा प्रदर्शन गरी बन्द गरेका छन् । बुटवलको राजमार्ग चौराहमा रहेको प्रहरी विटमाथि तोडफोड र आगजनी गर्ने क्रममा अनेरास्ववियूका कार्यकर्ता दिपक चापागाई र भरत अर्याल घाइते भएका छन् । युवा संघका कार्यकर्ताले लुम्बिनी बन्दको घोषणा गर्दै अहिले पनि बुटवलमा प्रदर्शन गरिरहेका छन् । वुटवलका सडकमा व्यापक प्रहरी परिचालन गरिएको छ। एमाले नवलपरासीले पनि जिल्लाका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ । तिवारी हत्याको विरोधमा गैंडाकोट, कावासोती, भूमहीलगायतका क्षेत्रमा एमाले कार्यकर्ताले एक घण्टा राजमार्ग बन्द गरेका हुन् । रातो पल्सर मोटरसाइकलमा आएका दुई जना व्यक्तिले खैरहनीको कोलिय सहकारी जाने बाटोमा तिवारीमाथि गोली हानेका थिए । घाइते तिवारीको देवदह मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । उनको छातीमा गोली लागेको थियो ।

प्रतिक्रिया