जिबिएलओ, अमेरिका यात्रा र भयवाद

इनेप्लिज २०७३ मंसिर ३० गते ७:४३ मा प्रकाशित

indian

हामी टेक्सासको डलस अन्तराष्ट्रिय विमानस्थनमा पुग्दा बिहानको दश बजेको थियो । मसित हुनुन्थ्यो दार्जिलिङकी प्रसिद्ध उपन्यासकार बिन्ध्या सुब्बा र सिक्किम विश्वविद्यालय नेपाली विभागकी विभागीय प्रमुख डा. कविता लामा । दुबईबाट संयोगले हामीसँगै भएका थियौं । हामी विमानस्थलबाट बाहिर निस्किन्दा हामीलाई स्वागत गर्न ग्लोबल भुटानीज साहित्य संगठनका अध्यक्ष अरे डेनजोम र साहित्यहरू आउनु भएको थियो । स्वागतका लागि हातमा फूल र खदा । अतिथिलाई स्वागत गर्ने यो परम्पराले नेपालीपन स्पष्ट देखिन्थ्यो । भुटानको माटोमा जन्मेर नेपाली भाषा, संस्कृतिको प्रेमले भुटान छोडनु परेको पीडा छ भुटानीहरूसित । मेरो यस अन्तराष्ट्रिय कार्यक्रममा उपस्थितिको कारण यी दुःखेका, घाइते मनमा अलिकति न्यानो छरौ भन्ने मात्र । यसभित्र सल्बलाइरहेको सृजना र आविष्कारको उत्साहमा हातेमालो गरौ भन्ने । धेरै वर्षदेखि म भुटानीज साहित्यकार, संगीतकार, कलाकारहरूको सृजना टाढैबाट हेर्दै आएको छु । स्वीकारोक्ति सिद्धान्तबारेमा डेन्जोम र भारतमा रहनु भएको विश्व साहित्य महासंघका उपाध्यक्ष सुरेन्द्र लिम्बूसित कुरा हुन्थ्यो । त्यहाँभित्र मीठाहरू थिए, टेक्सासमा रसपान गर्न गएँको थिए ।

मैले स्वागतमा आउनु भएका मित्रहरूको अनुहार पढे । हाम्रो उपस्थितिले झल्काएको प्राकृतिक खुशी देख्दै थिएँ । म कृत्रिमभन्दा प्राकृतिक खुशी मन पराउने मान्छे । हामी चिल्लो चिल्लो कारमा चढेर अरे डेनजोमको घर पुग्यौ, र वहाँहरूको कार्यालय हेरौं । कार्यक्रम गर्न उहाँहरूले गर्नु भएको अथक प्रयासको मैले हिसाब लगाएँ । चानचुने साहस थिएन । एकछिनमा डा. आर. माइकल फिसर इलुनोइस राज्यबाट टेक्सास आउँदै थिए । उहाँलाई लिन जाने कारमा म पनि गएँ । एउटा असल सहयात्रीलाई स्वागत गर्नु मैले आफ्नो कर्तव्य ठाने । निकैबेरको अलमल पछि हामीले डा. फिसरलाई घरमा ल्यायौ । अमेरिकाको विभिन्न राज्यबाट आउने कलाकार, साहित्यकार आउँदै थिए ।

त्यो रात यसरी नै भेटघाट गर्दै बित्यो । बिहान उठ्दा विभिन्न राज्यबाट धेरै पाहुनाहरू आइसक्नु भएको पाएँ ।

“ग्रान्ड इन्टरनेशनल क्रियटिभ सेरेमेनी ३” हुने स्थान हामी बसेको घर र कार्यालयबाट करीब एक घन्टाको ड्राइभमा रहेछ । हामी समयमै कार्यक्रम स्थल पुग्यौ । कार्यक्रममा गीत, कविता, गजल, नृत्य, कार्यपत्र पेश भए र साहित्यिक विमर्श । भयवादको लागि छुट्टै करीब एक घन्टाको समय थियो । अन्तर्राष्ट्रिय कार्यक्रममा भयवादकै लागि यसरी समय छुटयाइएको पहिलो थियो । डा. फिसरले आधाघन्टा कार्यपत्र पेश गरे, अनि चल्यो प्रश्नउत्तर । भयवादमा धेरै जिज्ञासा, उत्सुकता भएको पायौं । धेरै प्रश्नको उत्तर डा. फिसरले दिए । मैले एउटा प्रश्नको उत्तर दिने क्रममा भयवादको सारांश बताएँ । भयवादको लागि राम्रो अवसर भयो । डा. फिसर क्यानेडियन भएर पनि हामीसित आनन्दले घुलमिल भए । उनले कहिले एक्लो महसुस गर्नु परेन । यसबारेमा उनले आफ्नो अनुभव लेखिसकेका छन् । ग्रान्ट इन्टरनेशनल क्रियटीभ सेरेमनी ३ नोभेम्बर २५, २६, टेक्सास, अमेरिकामा उत्साह, जिज्ञासामा बित्यो ।

कति दुःख गरेर डेनजोमकी श्रीमति बहिनीले सानो नानी च्याप्दै हामीलाई खाजा, चिया, खाना बनाइ दिइन् । उनको ठूलो सहयोग देखें डेनजोमलाई र भुटानीज समुदायलाई । २६ तारिख साँझ बहिनी सरू कालीको घरमा डा. फिसर र म खाना खान गयौं । यो पल पनि आनन्दको रह्यो । त्यही साँझ मैले नेब्रास्काबाट आउनु भएका साथीहरूसित जानु पर्ने भयो । रातमा नै सबैसित बिदा भयौं । टेक्सासले अविस्मरणीय सम्झना दियो मलाई । प्राध्यापक विश्वराज अधिकारी, प्रभात दिक्षितसित भेट हुनु कम उपलब्धीमुलक कुरा थिएन । म ती सुखद् पल सम्झिन्दै साथीहरूसित नेब्रास्कातर्फ लागें ।

टेक्सासबाट नेब्रास्का कारमा १४ घन्टाजति लाग्ने रहेछ । नयाँ ठाउँ, नयाँ बाटो मैले बहुत मनोरञ्जन गरें । नेब्रास्काका साथीहरू सबै रौसिक थिए । गीत, गाउँदै, ठटटा गर्दै ३ वटा राज्य काटेको पतै भएन । हामी २७ तारिख अपरान्ह नेब्रास्काको ओमाहा पुग्यौं । मेरो वस्ने व्यवस्था कर्णजीको घरमा भयो । मलाई साह्रै राम्रो अतिथि सत्कारमा राखे । कर्णजीकी श्रीमती बहिनी रीताले धेरै सेवा गरिन् । कर्ण, भिम, खडका, डिबी सबै साथीहरू अति सहयोगी र मिलनसार । डिसेम्बर १ तारिख भयवादको कार्यक्रम र खडका जीको “काली” अल्बमको कार्यक्रम भयो । जाडो निकै थियो । फुस्स फुस्स हिउँ पर्न लागेकोथ्यो । यस्तो मौसममा पनि कार्यक्रम बहुत राम्रो भयो । कार्यक्रममा आउनु भएका डा किरण बास्तोलासित भेटने अवसर पाएँ ।

डिसेम्बर ३ मा नेब्रास्काबाट कनेक्टीकुट उडे । अमेरिकन दर्शन अध्ययन समूहको कार्यक्रम ४ तारिख थियो । त्यसैले रमाइलो मान्दा मान्दै मैले नेब्रास्का छोडें । मलाई छोडन विमानस्थलमा खडक गजमेर र डिबी तामाङ आउनु भएको थियो । जाडो जाडोमा सम्झना पोको पारेर म नेब्रास्काबाट बिदा भएँ ।

३ वटा घरेलु विमान फेर्दै म बिहान ७ बजे चढेर अपरान्ह ५ बजे कनेक्टीकुट पुगें । यो हवाइ यात्रा लामो भएकोले पनि सम्झना रहिरहने भयो । विमानबाट उर्लिनासाथ डा. बिद्या मलाई लिन विमानस्थल आउनु भएको रहेछ । हामी कुरा गर्दै जिनजान गर्दै शान्ति सिंहको घरमा आयौं । यहाँको कार्यक्रमको सहयोग धन लामा र इड स्मीथले मिलाएका थिए । वहाँहरूको काम अलि ढिलो सकिने भएकोले डा. विद्याले सहयोग गर्नु भएको थियो ।

डिसेम्बर ४ तारिखमा केनेक्टीकुटमा भव्य कार्यक्रम भयो । यसमा आधाजस्तो अमेरिकन थिए, आधा अमेरिकन नेपाली । कतिपयले अगाडि नै Philosophy of Fearrsim – A first East-West Dialogue पुस्तक पढेको पाएँ । त्यहाँबाट नै प्रश्न गरे । कार्यक्रम रोचक भयो । दर्शनको गहिरो ज्ञान भएका शुद्ध अमेरिकनसित भएको यो पहिलो कार्यक्रम थियो । धन लामा र एड स्मीथले कार्यक्रम सफल पार्न भरमजदुर कोशीश गरेका थिए । स्मीथले कार्यक्रम सुन्दर बनाउन गीत गाए । मेरो रात्री खाना र होटलको खर्च स्मीथले व्यहोरे । उनको प्रेम भयवाद र देशलाई भएको पाएँ ।

कार्यक्रम समाप्त हुनासाथ हस्याङफस्याङ गर्दै हामी बस पार्क गयौं । मैले तुरून्तै बोस्टोनको लागि बस समात्नु थियो । ४ तारिख आइतबार नै बोस्टोनमा नेपाली साहित्यकारहरूबीच कार्यक्रम थियो । कवि दीपा पुन राईले धेरै मिहेनत गरिन् । पोहोर साल पनि म बोस्टोनको साहित्यिक श्रृंखलामा गजलकार आनन्द श्रेष्ठसँग पुगेको थिएँ, कार्यक्रम दीपा पुन राईकै घरमा थियो । हामी बिहान ३ बजेसम्म गीत, संगीत, गजल, कविता सुनेर बस्यौं । मैले झण्डै आधा घण्टा “भयवाद” बोलें । पोहरसालभन्दा यसपटक मैले केही नयाँ बोलें । पछिल्लो चरणमा मलाई लाग्न थालेको छ—उत्तराधुनिकतावादका सबैजसो सिद्धान्त शक्तिले कमजोरलाई दमन गरेको पाएँ । सिमान्तकृत, औपनिवेशिक, सबाल्टर्न, नयाँ माक्र्सवाद र माक्र्सवाद, लैङ्गिक दमन सबै नै भय देखाएर गरिएको देखें । कुनै शक्तिले कमजोरलाई भय सृजना गर्न सक्दैन भने शक्तिको कुनै अर्थ रहँदैन । फ्राइड मनोविज्ञानमा पनि नयाँ कुरा बोले । बाबुको डर Castrationआमासित सम्भोग गर्ने भन्दा महत्वपूर्ण लाग्न थाल्यो । ज्याक लकाँनले भनेजस्तो Castration भाषाले गरेको पनि देखिनँ । Castration अर्थले गर्दोरहेछ भन्ने निष्कर्षमा पुगें । यस्ता धेरै तर्क, विचार राखें । यी नवीन विचार नै मैले सबैतिर राख्दै आएको थिएँ । साँझ बहुत रमाइलो भयो । दीपा बहिनीको स्वादिष्ट भोजन, सत्कार र सहभागी साहित्यकारहरूको मलाई सधैं सम्झना रहनेछ । हामी साहित्यमा खेलिरहेको बेला बाहिर हिउँ परेको रहेछ । बिहान मात्र थाहा भयो ।

५ तारिख मलाई न्युयोर्क जानु थियो । दीपा बहिनीले बस स्टेशनसम्म पु¥याउनु भयो । उनलाई काममा जानु थियो । हामी छुट्टियौ । हिउँले छोप्न खोजेको बाटो, गाडी र रेल हेर्दै म न्युयोर्क लागें । आधा बाटोसम्म हिउँ देखें, अनि छोडियो । दिनको १ बजे म न्युयोर्क पुगें । मिलनसार र आत्मीक विस्वासका धनी विश्व थापा साइनोले ज्वाँइ मलाई लिन बस स्टेशन आइसक्नु भएको थियो ।

बस स्टेशनबाट सिधै घर गयौं । नातिनी स्कुलबाट आएकी थिइनन् । ६ तारिख मेरो जन्म दिन परेकोले मैले न्युयोर्कमै मनाउने र आराम गर्ने सोच हङकङबाट नै बनाएको थिएँ । ६ तारिख बिहान विश्वले भने, “काका, आज म्यानहाटन घुम्ने, फोटो खिच्ने ।” मलाई राम्रै लाग्यो । उनी व्यापारी हुन् । घरबाटै व्यापार गर्छन् । बाटोमा समान दिनेलिने गर्छन् । हामी म्यानहाटन गयौं । मलाई विश्वले फोटो खिचीदिए । न्युयोर्कमा Barnes and noble को ठूलो सोरूम छ । यो पुस्तक बिक्री गर्ने, प्रकाशन गर्नेमा संसार प्रसिद्ध छ । यसको कफी सप छ भनेर मलाई थाहा थिएन । हामीले कफी पियौ । मेरा पुस्तक कतै छन् कि बिक्रेतालाई सोधें, उसले कम्प्युटर हेरेर “स्टकमा छैन, अर्डर गर्नुपर्छ” भने । सन्तोष लाग्यो कम्तिमा अर्डर गरेर लिन सकिने रहेछ । कफी पिउँदै बसिरहेका थियौं । विश्वलाई टेक्स मेसेज आयो । मेसेज Madam Marcis McBroom बाट आएको थियो । उनी Manhattan Comprehensive High School, New York बाट रिटार्ड भएकी रहेछिन् । तिनलाई विश्वले चिन्दा रहेछन् । विश्वले त्यहाँ “भयवाद” कार्यक्रमको लागि कुरा गरेका रहेछन् । संयोगले मिल्यो । हामी Manhattan Comprehensive High School, New York विद्यालयमा गयौं । करीब २ घण्टा विद्यार्थीसित “भयवाद” बारे कुरा ग¥यौ । यसलाई पनि मैले भयवादको उपलब्धी माने । न्युयोर्क जस्तो ठाउँको विद्यालयमा हामीले हाम्रो कुरा राख्नु पाउनु सानो उपलब्धी थिएन ।

७ तारिख अपरान्ह म वाशिङ्गटनतिर लागे । भर्जिनियामा ८ तारिख कार्यक्रम थियो । ७ साँझ मेरा सानीमाका छोरा भाइ देशराज संयोग लिम्बूले प्रसिद्ध लेखक कृष्ण धराबासीलाई बोलाएका रहेछन् । ४ वर्षपछि हाम्रो भेट भयो । सन् २०१३ मा धरानमा भएको “भयवाद विमर्श र अन्तरसंस्कृति सम्बन्ध” भन्ने अन्तर्राष्ट्रिय कार्यक्रममा विशेष अतिथिको रुपमा धरावासीलाई निमन्त्रणा गरेका थियौं । उक्त कार्यक्रममा उत्तरपूर्व भारतबाट ५५ जना नेपाली, गैर नेपाली साहित्यकार, कलाकार, चित्रकार, समालोचक आउनु भएको यियो । त्यसपछिको भेट यही नै हो । कृष्ण धरावासी, उहाँकी धर्मपत्नी र कृष्ण भण्डारीलाई भाइले रात्री भोजमा बोलाएका रहेछन् । घरका हामी सबै र अतिथिहरूसित रमाइलो गर्दै, खानपिन गर्दै साँझ बितायौं ।

८ तारिख मेरो अमेरिकाको अन्तिम बसाइ र कार्यक्रम थियो । बिहानै बहिनी सरीताले सपिङ गर्न नजिकैको सेन्टर लगिन् । नानीको खेलौना र श्रीमतिको लागि सामान्य उपहार खरीद गरें । बहिनीले पनि केही उपहार किनिदिइन् ।

साँझमा थोमस जेफर्सन पुस्तकालय, भर्जिनियामा हाम्रो कार्यक्रम थियो । कृष्ण धरावासी लगायत प्राध्यापक, विश्व बैंकका कर्मचारी धेरै थिए । मैले झण्डै एक घन्टा बोले । अनि प्रश्न उत्तर भयो । कृष्ण धरावासीले पनि मन्तव्य राखे । इ नेपालीज डट कमका विश्वास राज थापाले लाइभ प्रसारण र धेरै पत्रपत्रिकामा त्यो कार्यक्रमको समाचार संप्रेषण गर्न सहयोग गरे । संसारभरको अनलाइन मेडियामा समाचार आयो । धन्यवाद इ नेपालीजका प्रिय मित्रहरुलाई ।

यसपटकको अमेरिका यात्रा धेरै सफल रह्यो । धेरै साहित्यकार, साथीभाइ, आफन्तले सहयोग गरे । “ग्रान्ट इन्टरनेशनल क्रियटीभ सेरेमनी ३” ले मूल कार्यक्रममा “भयवाद” लाई स्थान दिनु सानो कुरा थिएन । प्रायः आयोजकले आफ्नै कार्यक्रमलाई मात्र जोड दिएका हुन्छन् । जिबिएलओले उदारणीय कार्यक्रम गरेर भयवादलाई माथि उठाउन ठूलो सहयोग पु¥यायो । जिबिएलओको निमन्त्रणा नआएको भए सायद् म यसपटक अमेरिका जाने थिइनँ । यस कार्यक्रममा जानुको अर्को कारण छ, त्यो हो भुटानी सृजकहरूको सफलताको संभावना । भुटानीहरूको सृजनालाई मैले हेर्दै आएको केही वर्ष बिते । स्वीकारोक्ति सिद्धान्तको बारेमा समय समयमा छलफल हुने गर्छ । जसले नेपाली भाषा, संस्कृतिको लागि देश नै छोडेर हिँडे ती आफन्तहरूलाई मेरो उपस्थितिले सानो हौसला दिए आफुलाई  धन्य ठान्थे भन्ने लागेकोथ्यो । मेरो उपस्थिति कतिको फलदायी भयो भुटानी सृजक, पाठकलाई । त्यो त म भन्न सक्दिनँ । मैले कोशीश गरेको थिएँ र गर्ने छु । यी सबै मिलाएर अमेरिका उडेको थिएँ । “भयवाद”सोचेको भन्दा धेरै राम्रो भयो । यतिको विशाल कार्यक्रम, सफलता मजस्तो सामन्य साहित्यकारको जीवनमा विरलै हुने गर्छ । मलाई र भयवादलाई सफल पार्न सहयोग गर्नुहुने सबै साहित्यकार, मित्र र आफन्तहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु र सधैं हृदयमा सजाइ राख्न चाहिन्छु ।

प्रतिक्रिया