रोल्पाका महिला आङखस्ने रोगबाट पीडित

इनेप्लिज २०७३ मंसिर २९ गते ३:५० मा प्रकाशित

रोल्पा, २९ मङ्सिर । रोल्पामा आङ खस्ने रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दै गएको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको घुम्ती स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका महिलामध्ये अधिकांशमा सो समस्या देखिएको हो ।

अघिल्लो आवमा सो सङ्ख्या ५८ रहेकोमा गत आवमा एकसय आठ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिनुभयो । तीमध्ये २२ जनालाई जटिल शल्यक्रिया गर्नु परेका कारण जिल्लाबाहिर सिफारिस गरिएको थापाले बताउनुभयो ।

चालु आवमा गरिएको एक घुम्ती शिविरमा ५३ जनालाई स्वास्थ्य परीक्षण गरिएको थियो, जसमध्ये आठजनालाई भेरी अञ्चल अस्पताल, नेपालगन्ज र राप्ती उपक्षेत्रीय अस्पताल, दाङ पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । अधिकांश महिलामा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्या देखिएको बताइएको छ ।

सानै उमेरमा विवाह गर्नु, सुत्केरी अवस्थामा गह्रौँ भारी भोक्नु तथा आवश्यक मात्रामा आराम र पोषणयुक्त खानाको उपलब्धता नभएका कारण यो समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेव कुलबहादुर डाँगीले बताउनुभयो । पछिल्ला दिनमा जनचेतनामा आएको परिवर्तन, पारिवारिक सहयोग तथा बिरामी आफैँ जागरुक भएका कारण यो रोगका बिरामी बढी देखिएको थापाले बताउनुभयो ।

प्रतिक्रिया