सोमबार, असार ७ २०७८
काठमाडौं ०४:२०
वासिङटन डिसी 18:35

सौर्य पम्पिङबाट जीविकोपार्जन

इनेप्लिज २०७३ मंसिर २७ गते १२:५१ मा प्रकाशित

pampकाठमाडौँ, २७ मङ्सिर । नजिकै पानीको स्रोत रहेर पनि सिँचाइ सुविधा पुग्न नसकेका स्थानमा सौर्य पम्पबाट साना किसानमा सिँचाइको पहुँच पु-याउन सरकारले अनुदानको व्यवस्था गरेपछि किसान त्यसतर्फ आकर्षित हुन थालेका छन् ।

सोलार पम्प सिँचाइ योजना हाम्रोजस्तो देशमा छरिएर रहेका साना किसानलाई सर्वसुलभ सिँचाइ सुविधा पु-याउने भरपर्दो प्रविधि बन्न सक्ने भएकाले सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत अनुदानको व्यवस्था गरेको छ ।

सरकारले हालै स्वीकृत गरेको राष्ट्रिय अनुदान नीतिमा पनि खानेपानीको साथै सिँचाइमा अनुदानको व्यवस्था गरेको छ । नयाँ अनुदान नीतिमा समुदायले वा निजी क्षेत्रले व्यवस्थापन गर्ने कृषियोग्य जमिनमा सिँचाइ सञ्चालन गर्न सौर्य पम्पिङ प्रणालीमा कुल लागतमा रु २० लाखमा नबढ्ने गरी ६० प्रतिशतसम्म अनुदान रकम उपलब्ध गराइने व्यवस्था छ ।

मुख्यगरी तराई क्षेत्रमा डिजेल जेनेरेटरबाट पानी तान्ने प्रक्रिया रहेकाले त्यसलाई निरुत्साहित गर्न सौर्य ऊर्जाबाट पानी तान्ने गरी बढवा दिने गरी सरकारको राष्ट्रिय कार्यक्रमभित्र यसलाई राखिएको केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले बताउनुभयो । सिँचाइका ठूला आयोजनामा मात्र ध्यान दिनुभन्दा यस्ता स–साना आयोजनामा जोड दिनसके सिँचाइको आधारभूत सुविधाबाट कोही पनि वञ्चित रहनु नपर्ने उहाँको भनाइ छ ।

पहिले डिजेल पम्पबाट पानी तानेर माछापालन गर्दै आएका चितवन खैरहनियाकी किसान शान्ति चौधरी अहिले सोलार पम्प जडान गरेपछि डिजेल पम्प चलाउन डिजेल किन्नुपर्ने समस्याबाट मुक्त भएको बताउनुहुन्छ । हप्तामा दुई÷तीनपटक डिजेल पम्प चलाउँदा रु चार÷पाँच सय खर्च हुने गरेकामा अहिले सौर्य पम्प जडानपछि त्यसमा हुने खर्च बचत हुनुका साथै दिनहुँजसो डिजेल पम्प चलाउन चाहिने डिजेलको जोहो गर्नुपर्ने बाध्यताको अन्त्य भएको उहाँको अनुभव छ ।

केन्द्रले विगतमा सौर्य पम्पिङबाट खानेपानीका लागि मात्र अनुदान दिँदै आएकामा अहिले सिँचाइका लागि पनि अनुदानको व्यवस्था गरिएको केन्द्रका सोलार कम्पोनेन्ट म्यानेजर मुकेश घिमिरेले बताउनुभयो । केन्द्रबाट हालसम्म ३०० भन्दा बढी सौर्य खानेपानी पम्प जडान भइसकेको छ । सिँचाइमा अनुदानको व्यवस्था भएपछि यसको माग अत्यधिक बढेको उहाँको भनाइ छ । हालसम्म करिब ५० वटा सौर्य पम्पिङ प्रणाली जडान भइसकेको र झन्डै ४०० को आवेदन आएको घिमिरेले जानकारी दिनुभयो ।

सौर्य पम्पिङ सिँचाइमा विभिन्न सरकारी, गैरसरकारी र सहयोगी संस्थाले पनि आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् । विनरक इन्टरनेसनलले युएसएआडीको सहयोगमा विभिन्न निजी कम्पनी, सहकारी संस्था, स्थानीय निकाय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र समुदायको सहकार्यमा देशका विभिन्न भागमा सौर्य पम्प जडान गरी कृषिलाई व्यवसायीकरणमा सहयोग गरेको छ । सौर्य पम्प सिँचाइ कार्यक्रमअन्तर्गत हालसम्म देशका विभिन्न ठाउँमा ३८ प्रणाली जडान भएको र केही प्रणाली जडानको प्रक्रियामा रहेको सो संस्थाकी वरिष्ठ कार्यक्रम अधिकृत रेशा पियाले जानकारी दिनुभयो ।

सिँचाइको अभावमा तीन बाली हुने खेतबारीमा मुस्किलले एक खेती पनि नहुँदा विदेश पलायन, अन्य व्यवसाय गर्न बाध्य र बसाइँ सर्न विवश देशका कतिपय किसान अब सौर्य पम्प सिँचाइबाट पानी तानेर राम्रो उत्पादन गरी मनग्य आम्दानी गर्न सक्षम भएका छन् ।

सिँचाइको अभावमा एक खेती पनि राम्रो नहुने उनको गाउँमा अहिले सौर्य पम्पिङ प्रणालीबाट सिँचाइ सुविधा उपलब्ध भएपछि सुर्खेतको छिन्चु ताउले गाउँका भीमबहादुर गुरुङको दुःखका दिन समाप्त मात्र भएन, छ महिनाको अवधिमै उहाँ लखपती बन्न सफल हुनुभएको छ । उहाँ भन्नुहुन्छ – ‘‘सोलारबाट सिँचाइ भएपछि हामीले तरकारी खेती सुरु गरेका छौँ । मैले एकै याममा तरकारी खेतीबाट रु तीन लाख कमाउन सकेँ ।”

विसं २०७२ जेठमा विनरक इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोग, युएसएआइडीको किसान परियोजना र भेरीगङ्गा नगरपालिकाको आर्थिक सहयोगमा सुर्खेतको छिन्चु ताउले गाउँमा सौर्य पम्प जडान भएपछि भीमबहादुर जस्तै सो गाउँका ११ परिवारको तरकारी खेतीबाट जीविकोपार्जनमा ठूलो परिवर्तन आएको छ । सिँचाइ सुविधा भएपछि किसानले मौसमी बेमौसमी तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

विनरक इन्टरनेसनलका निर्देशक विनोद श्रेष्ठले कार्यक्रमबाट सिधै किसानलाई अनुदान नदिएर व्यापारिक संयन्त्रको विकास गर्ने, आर्थिक तथा प्राविधिक सहयोग गर्ने, व्यापारिक ढाँचाको विकास गरिदिने तथा सेवाबापत शुल्क लिन सकिनेजस्ता विभिन्न किसिमका वित्तीय ढाँचाको विकास गरिएको जानकारी दिनुभयो । यस्ता व्यावसायिक ढाँचालाई आगामी दिन राष्ट्रिय नीतिमा समावेश गर्न सकिने उहाँको भनाइ छ ।

सौर्य पम्पिङ प्रणालीतर्फ किसानको आकर्षण बढेपछि विभिन्न सोलार कम्पनीले यसलाई व्यवसायका रुपमा अगाडि बढाएका छन् । झन्डै पाँच÷छवटा कम्पनीले सोलार पम्पिङका सामग्री आयात गरेका र १५-१६ वटा कम्पनीले जडान कार्यमा क्रियाशील रहेको नेपाल सौर्य विद्युत् उत्पादक सङ्घका अध्यक्ष उत्तम सिटौलाले जानकारी दिनुभयो ।

सिँचाइको अभावमा बाँझै राख्नुपर्ने खेतबारीमा सौर्य पम्पबाट पानी तानेर कृषि उत्पादन गर्न सकिने भएकाले ती जमिनमा कृषि उत्पादन वृद्धि गरी खाद्य सङ्कटको समस्या कम गर्न तथा किसानको जीविकोपार्जनमा सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया