हिन्दी फिल्मले जत्तिकै नेपाली फिल्मले पनि कमाउने दिन आउँदैछः दीपकराज गिरी (अन्तर्वार्ता)

इनेप्लिज २०७३ मंसिर २५ गते ११:४८ मा प्रकाशित

hqdefault

अहिलेको हिट फिल्म हो ‘छक्का पञ्जा’ । झण्डै एक सय दिन मनाउन लागेको यो फिल्मलाई दर्शकहरुले दुई–तीन पटकसम्म हेरेर धित मारेका छन् । फिल्मले १५ करोड भन्दा माथि कमाइसकेको छ । एकसय दिनसम्म पनि निरन्तर चलिरहेको यो फिल्मले नेपाली चलचित्रकर्मीलाई नयाँ उत्साह दिएको छ । ‘छक्का पञ्जा’लाई निर्माण गरेका हुन् – हास्यव्यंग्य कलाकार एवं तितो सत्यका दीपकराज गिरीले । यसै फिल्मबाट कलाकार दीपाश्री निरौलाले निर्देशनमा डेब्यु समेत गरिन् । दीपकराज गिरीको लेखन रहेको फिल्ममा दीपकसहित नायिका प्रियंका कार्की, कलाकारहरु शिवहरी पौडेल, जितु नेपाल, बुद्धि तामाङ, बर्षा राउत, नम्रता सापकोटा, अरुणा कार्की लगायतको अभिनय छ । ५१ दिन पूरा गर्दा ब्यान्ड बाजा बजाएर शहर परिक्रममा गरेका ‘छक्का पञ्जा’का निर्माता र निर्देशकले ७५ दिन पार गरेको अवसरमा केही दिन पहिले परोपकारी काम समेत गरे । यसै सेरोफेरोमा दैनिक नेपालले ‘छक्का पञ्जा’ का निर्माता दीपकराज गिरीसँग गरेको कुराकानीः

नेपाली चलचित्र इतिहासमै ‘छक्का पञ्जा’ हिट भयो । यो सफलतालाई कसरी लिनुहुन्छ ?

हेर्नुस् नेपाली दर्शकहरु तिर्खाएका थिए । ‘छक्का पञ्जा’ले प्यास मेटाएको छ । तिर्खाएका नेपालीहरुले अहिले पानी खाएजस्तो लाग्यो । फिल्म हेर्न ८ वर्षको बालकदेखि ९० वर्षको वृद्धासम्म हलसम्म पुगेको मैले पाएँ । हामीले वर्षाैपछि दर्शकको प्यास मेटाएका छौं । यो नेपाली चलचित्र उद्योगमा ऐतिहासिक सफलता हो ।

यति सफल हुन्छ भन्ने लागेको थियो ?

थिएन् । सोच्ने कुरा थिएन् । बनाउने कुरा चल्छ कि चल्दैन भनेर रिजल्ट सोच्न सकिँदैन् । चाहे बलिउड होस् वा हलिउड यो संसारमा अनिश्चित कुरा हो ।

दर्शकको प्रतिक्रिया कस्तो पाउनुभयो ?

विभिन्न प्रकारको पाएँ । असाध्यै राम्रो छ भने धैरेले । ‘समाजमा घटेको यथार्थ घटना बाहिर ल्याउनुभयो । समाज परिवर्तनको सन्देश छ । कुरिती र विकृतिलाई प्रष्टसँग देखाएको छ’ भन्नुभयो । कतिले चाँहि ‘कठिन विषयवस्तुमा हँसाई हँसाई मनोरञ्जन दिनुभयो । यो घर घरको कथा हो । समाजको ताजा घटनालाई पर्दामा देखाउनुभयो’ भन्ने प्रतिक्रिया हामीले धेरै पायौँ । त्यसैले खुसी छौं ।

हास्यव्यंग्य भएर फिल्म चलेको हो कि ?

‘छक्का पञ्जा’ फूल प्याकेज मनोरञ्जन हो । हँसाई मात्र रहने र रुवाउने मात्रै भए हावा हुन्छ । र दर्शकले खोजेको, चाहेको कुरा हामीले फिल्ममा दिएका छौं ।

फिल्मको लागत कति हो ?

‘छक्का पञ्जा’ ९० लाखमा बनेको हो । रिलिजपछिको प्रचारप्रसार लगायत खर्च जोड्दा करोड नाघेको छ ।

फिल्मले ९० दिन पार गरिसकेको छ, अहिलेसम्म कति कलेक्सन गर्यो ?

फिल्म अहिले पनि सिनेमा घरमै छ । हालसम्म १५ करोड संकलन भएको छ ।

फिल्मको नाफा रकम सामाजिक काममा पनि लगाउनुभयो ? के–के गर्नुभयो ?

‘छक्का पञ्जा’को नाफा रकम सामाजिक काममा लगाउने कार्य प्रारम्भ भइसकेको छ । दुई साताअघिमात्रै हामीले राजधानी नजिकैको जीतपुर फेदीमा रहेको मातृ नेपाल अपाङ्ग अन्र्तगत सञ्चालित बालगृहका ३६ जना अनाथ बालबालिकालाई जाडोको न्यानो कपडा (ज्याकेट) वितरण गर्दै भोजन समेत गराएका छौं । यसैगरी ‘छक्का पञ्जा’ सुटिङ गरेको काभ्रेपलाञ्चोक जिल्लाको पनौतीस्थित सल्मीटार गाविसलाई एउटा एम्बुलेन्स दिने निर्णय गरेका छौं । अशक्त कलाकार वुद्धिकृष्ण लामिछानेलाई ५० हजार र वृद्ध कलाकार भीम बहादुर थापा, जयनन्द चन्द, दुर्घटनामा परी अशक्त भएका कलाकार पवन मैनालीलाई २०–२० हजार दिने योजना बनाएका छौं । र धरानमा रहेको बुढासुब्बा मन्दिरको जिर्णोद्वारका लागि २५–२५ हजार दिनेछौं । यस्तै, ६ जना भूकम्प पीडित बालबालिकाहरुलाई पढाउने जिम्मा लिन्छौं ।

फिल्मले कमाएको नाफाबाट बोनस रकम बाँड्ने पनि सुनिएको छ, कति बाँड्नुभयो ?

नाफाअनुसार बोनस बाँड्छौं । अहिले बाँडेका छैनौं । फिल्मका सबै साथीहरुको मनोबल उच्च पार्न तथा परिश्रमको उचित सम्मानका लागि हामीले बोनस बाँड्ने निर्णय गरेका हौं ।

फिल्म निर्माणमा तपाईको टिम अहिलेसम्म सफल हुँदै आएको छ ? नयाँ फिल्म बनाउने योजना के छ ?

हामीले बनाएको ‘छ एकान छ’, ‘वडा नम्बर ६’ र अहिलेको ‘छक्का पञ्जा’लाई दर्शकले मनपराइदिनुभएको छ । हेर्नुस् कलाकारले बनाउने भनेकै फिल्म नै हो । गहन विषयवस्तुको खोजीमा छु । आगामी दिनमा दर्शकले अझै मन पराउने फिल्म बनाउन लागिरहेको छु ।

अन्त्यमा दर्शकलाई के भन्न चाहनुहुन्छ ?

म सम्पूर्ण दर्शकलाई धन्यवाद भन्न चाहन्छु । नेपाली चलचित्रलाई यो स्तरसम्म पुर्याइदिनुभयो । माया गर्नुभयो । पहिला पहिला हिन्दी र हलिउड फिल्मले यति पैसा कमायो, लग्यो भन्ने सुन्थ्यौं । आज त्यो अवस्था नेपाली चलचित्रमा देखिएको छ । म फेरि पनि धन्यवाद भन्न चाहन्छु ।

प्रस्तुतिः कमलराज भट्ट / दैनिक नेपाल

प्रतिक्रिया