काठमाडौँ, २४ मङ्सिर । नेपालमा पितृसत्तावादी सोचका कारण महिला हिंसा हुने गरेको बताइएको छ । लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानका क्रममा राष्ट्रिय महिला आयोगले केयर नेपाल र महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको सहयोगमा आज यहाँ आयोजना गरेको ‘लैङ्गिक हिंसा न्यूनीकरण , प्रयास र सम्भावना’ विषयका छलफलमा पूर्व महिला बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले महिलामाथि हुने हिंसा र विभेदलाई अपराधका रुपमा लिएर तिनलाई दण्डित गर्ने कानुन बनेकाले यसलाई कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–“ नेपालको संविधान महिलामैत्री छ, संविधानमा समावेश भएका महिलाका अधिकारलाई कार्यान्वयन गरे महिला हिंसा कम हुन्छ ।” नेकपा (माले)का महासचिव मैनालीले समाजमा व्याप्त अशिक्षा र गरिबीका कारण महिला हिंसा हुने गरेकाले यसलाई कम गर्न सामाजिक आन्दोलनको खाँचो औँल्याउनुभयो ।
राष्ट्रिय महिला आयोगका सचिव रामप्रसाद भट्टराईले आव २०७२÷०७३ मा नौ हजारभन्दा बढी घरेलु हिंसा भएको र महिला दिउँसोको तुलनामा राति बढी हिंसामा पर्ने गरेको उल्लेख गर्नुभयो ।
केयर नेपालका प्रतिनिधि डा विसिका थापाले सामाजिक सञ्जालमा महिला सम्बन्धमा धेरै नकारात्मक कुरा राखिने गरेकाले यसलाई रोक्नु सबैको दायित्व भएको बताउनुभयो ।
आयोगका कावा अध्यक्ष भगवती घिमिरे, महिला मन्त्रालयका सहसचिव विनिता भट्टराईलगायतले गर्भदेखि नै छोरीमाथि विभेद हुने काम रोक्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको थियो ।
आयोगले अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरी चलाउँदै आइरहेको छ ।
प्रतिक्रिया