बिहीबार, असार १० २०७८
काठमाडौं ००:४५
वासिङटन डिसी 15:00

चुटकिलामै अल्झिराख्यो भने नेपाली फिल्म उँभो लाग्दैन

इनेप्लिज २०७३ मंसिर २० गते ५:५३ मा प्रकाशित

upendra-subba

मूलतः कवि तथा कथाकार उपेन्द्र सुब्बा फिल्मको स्क्रिप्ट लेखनमा पनि राम्रो दखल राख्छन् । लिम्बू भाषाको फिल्म समेत लेखेका सुब्बाले पछिल्लो समय निर्देशक राम बाबु गुरुङसँग सह–लेखन गरेका फिल्महरुले बजारको ध्यान तान्यो । त्यसमध्ये ‘कबड्डी कबड्डी’ लाई दर्शकले रुचाए भने हालै प्रदर्शनमा आएको ‘पुरानो डुंगा’ ले मिश्रित टिप्पणी पायो ।

लेखक सुब्बासँग फिल्मको कथा लेखन र नेपाली फिल्मको सेरोफेरोमा रहेर गरिएको कुराकानीः

फिल्म नराम्रै बनेको भन्ने चाहिँ मलाई लाग्दैन । ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ जस्तो रमाइलो विषयमा मात्र फिल्म नबनाई केही गम्भीर फिल्म पनि बनाऊँ भनेर नै राम बाबु गुरुङले पुरानो डुंगा बनाएको हो

पुरानो डुंगाबाट सोचेकै प्रतिक्रिया आयो कि नसोचेको आयो ?

प्रतिक्रिया मिश्रित छ । राम्रो भन्नेहरुको संख्या पनि त्यति नै छ, मन परेन भन्नेहरु पनि छन् ।

डुंगा अलि भरपर्दो खालको भएन भनेर टिप्पणी गर्नेहरुलाई के जवाफ छ ?

फिल्म नराम्रै बनेको भन्ने चाहिँ मलाई लाग्दैन । ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ जस्तो रमाइलो विषयमा मात्र फिल्म नबनाई केही गम्भीर फिल्म पनि बनाऊँ भनेर नै राम बाबु गुरुङले पुरानो डुंगा बनाएको हो । गम्भीर फिल्म बनाउँदा यस्तो दुर्घटना हुन्छ भन्ने हाम्रो आकलन नभएको पनि हैन । रामबाबुले जुन खतरा मोल्ने आँट गरे, त्यो चाहिँ बहुत सुन्दर कुरा थियो । किनभने लेखन र मेकिङमा सहजताको हिसाबले पनि उनको प्याटर्न भनेको कबड्डी जस्तो कमेडी जनरा थियो ।

जोड मेरो पनि के रह्यो भने, चर्चाको शिखरमा रहँदै केही गम्भीर फिल्म पनि गरौं न त । ख्यालठट्टा, हाँसखेल मात्रै त हैन नि फिल्म भनेको । यसमा राम गुरुङले खतरा मोले ।

भनेपछि फिल्म राम्रो हुँदाहुँदै व्यावसायिक असफलता झेल्नुपरेको हो ?

हो । मान्छेहरुले मन पराएनन् । तर, फिल्म मन नपराउनु र नराम्रो नै हुनु फरक कुरा हो । दर्शकले यो फिल्म मन नपराउने चान्स त्यति नै थियो । किनभने हामीकहाँ धेरजसो गम्भीर दर्शक छैनन् भन्ने त सबैले भनिरहेको अवस्थामा हामीले कमेडीदेखि सीधै यता हामफाल्दा सोचेको जस्तो नबनेको चाहिँ हो । कबड्डीको सिक्वलपछि फेरि कमेडी जनराकै फिल्म बनाएको भए सफलताको ह्याट्रिक पनि हुन्थ्यो होला । त्यो नगरेर गम्भीर विषयमाथि फिल्म बनाउनु नै सुन्दर कुरा हो कि !

आफूले लेखेको कथा पर्दामा हेर्दा पूरै चित्त बुझ्ने/कतै खट्किने के–कस्तो हुन्छ ?

राम गुरुङ र मेरो हकमा चाहिँ छलफलबाटै हामी लेख्छौं । लेख्ने चरणभन्दा अगाडि स्टोरीलाइनदेखि नै हामी डिस्कसमा हुन्छौं । उनले देख्ने भिजुअल र मैले देख्ने भिजुअलमा खासै फरक हुँदैन । तर, अन्य फिल्ममेकरहरुसँग मैले जति काम गरेँ, भिजुअल इमेजमा साह्रै धेरै फरक पाउँछु म ।

साहित्यिक पाठकका लागि कथा लेख्दा र फिल्मको कथा लेख्दा के फरक हुने रहेछ ?

फिल्म लेख्दा चाहिँ मेकिङको हिसाबले लेखिन्छ । जस्तोः खर्च हिसाब गरेर, लोकेसन विचार गरेर, प्राविधिक कठिनाइ ख्याल गरेर आदि दुनियाँदारी सम्झेर लेख्नुपर्ने हुन्छ । आफ्नो कल्पनालाई त्यति साह्रो फुकाउन मिल्दैन । केही सीमा हुन्छ । लेखिरहँदा मेरो यो कल्पना प्राविधिक रुपले सम्भव छैन अथवा खर्च ठूलो हुँदै छ भन्नेमा दिमाग जान्छ । फिल्म स्क्रिप्टको आफ्नै टेक्निक र टुल्सहरु हुन्छन् । त्यसको डायग्राम र फ्रेमहरुमा काम गर्दा म बाँधिएँ भन्ने त लाग्छ ।

तर, साहित्यिक कथा लेख्दा त्यो सबैबाट मुक्त भइन्छ । जस्तोसुकै कल्पना गर्न पनि सक्छु । आफूले मनखुसी गर्न पाइयो ।

दर्शकले, पाठकले वा बजारले मागेको जस्तो मात्र स्रष्टाले उत्पादन गरिराख्ने हो भने त कला–सिर्जनाहरु त मरेर जान्छ । त्यसले गति नै लिँदैन

लेख्न चाहिँ कुन सजिलो ?

लेख्न त फिल्मकै कथा सजिलो । छोटो–छोटो सिनहरु बनायो, १०–१२ हजार शब्दमा लेखिसकिन्छ । त्यो भनेको एउटा लामो कथा न हो ।

तपाईंले व्यावसायिक फिल्मसँगै लिम्बू भाषाका फिल्मको स्क्रिप्ट पनि लेख्नुभएको छ, अहिलेसम्म लेखेकामध्ये चित्त बुझेको फिल्म कुन हो ?

धेरै मन परेको त ‘कबड्डी कबड्डी’ नै हो । त्यसमा दुई–तीन वटा कथा उन्यौं हामीले । त्यो चाहिँ साह्रै सुन्दर तरिकाले उनेका थियौं प्लटहरु । एउटा स्टोरीलाइनमा तीन–चार जनाको कथा यस्तो मजाले भन्न सकेका थियौं । त्यसरी भन्न हामीलाई त्यत्रो मिहिनेत पनि लागेन । पात्रहरु पनि हामीले जहाँसुकै देख्ने, भेट्ने जस्ता सामान्य थिए । मेरो जीवनमा चाहिँ जुन कुरा सरल रुपले लेख्न सक्छु, त्यो चाहिँ मीठो बनेको हुन्छ । कबड्डी कबड्डीको स्क्रिप्टमा मैले त्यस्तो भयंकर मिहिनेत गरेको पनि हैन । कथा धेरै लेयरमा थियो, र पनि ती लेयरहरू मजाले बसेका छन् आपसमा । त्यो चाहिँ मलाई मजा लाग्यो ।

Upendra-subba.jpg1

त्यसरी सामान्य पात्रको सामान्य कथा भएको फिल्म चल्यो । उसोभए नेपाली दर्शकलाई खुसी पार्न फिल्ममा धेरै ठूलो पहाड फोड्नु पनि नपर्ने रै’छ है !

नेपाली फिल्महरु बजारमा जसरी सफल भए, त्यो हेर्ने हो भने दर्शकलाई खासै धेरै कुरा चाहिँ चाहिएको छैन । मनोरञ्जन प्रमुख, त्यसमा पनि हास्यप्रधान । हलमा बसेपछि दुई घन्टासम्म इन्टरटेन गरोस् भन्ने चाहँदा रै’छन् । उनीहरु त्यति धेरै डिमान्ड राख्दैनन् ।

दर्शक खासै ठूलो कुरा चाहँदैनन् भने फिल्ममा हाम्रो भूगोल, समाज, संस्कृति आउनुपर्‍यो भनेर किन ठूल्ठूला कुरा जोरजाम गर्ने त ?

त्यसमा फिल्ममेकरहरुले निर्णय गर्नुपर्ने दुइटा कुरा रै’छ । कि त तपाईं पूर्णरुपमा आर्ट मूभी बनाउनुस्, फेस्टिवल र विश्व बजार टार्गेट गर्नुस् । कि त नेपाली बजार टार्गेट गर्दै फुल्ली इन्टरटेनमेन्ट फिल्म बनाउनुस्, जसरी होस् र जहाँसम्म खस्न चाहनुहुन्छ । बीचको धार चाहिँ पुरानो डुंगा टाइपको फिल्म हो, सेमि आर्ट मुभी । जुन चाहिँ फ्लप हुन्छ भनेर यो फिल्मको प्रदर्शनपछि मेरो निजी धारणा बन्यो । आर्ट र इन्टरटेनमेन्टलाई फ्युजन गर्न थाल्यो भने निश्चित रुपमा डुबिन्छ । किनभने यसअघि राम बाबुकै लेखनमा बनेको ‘झुम्की’ पनि डुब्यो । त्यो पनि नराम्रो थिएन । तर, मान्छेहरुले मन पराउँदैनन् भन्ने चाहिँ अनुमान थियो । अहिले ‘पुरानो डुंगा’ पनि हामीले आश गरेको जस्तो नबन्दिँदा, मान्छेहरुले अलि घटेर गाली गरिदिँदा वास्तविकता यस्तो रै’छ भन्ने लाग्यो मलाई ।

एउटा स्रष्टा\लेखकले सामान्य गालीहरु पचाउनुपर्छ । मान्छेहरुका गाली–बेइज्जती सहँदै भए पनि लेख्नुपर्छ । इन्टरटेनमेन्ट रुचाउने दर्शकलाई तपाईंले एकैचोटि क्लासिक मुभी देखाउन त सक्नुहुन्न नि !

साहित्य\कलाप्रति सचेत फिल्ममेकरले फिल्म बनाउँदा निश्चित क्वालिटीमा पनि ध्यान दिनैपर्छ, बजारले रुचाओस् भनेर व्यावसायिकतालाई पनि हेर्नुपर्ने हुन्छ, त्यस क्रममा सन्तुलन मिलाउन कत्तिको गाह्रो हुन्छ ?

दर्शकले, पाठकले वा बजारले मागेको जस्तो मात्र स्रष्टाले उत्पादन गरिराख्ने हो भने त कला–सिर्जनाहरु त मरेर जान्छ । त्यसले गति नै लिँदैन । स्रष्टाको जिम्मेवारी धेरै हुन्छ । हामीलाई कला जोगाउनुका साथै अगाडि पनि बढाउनु छ । हामीले आउँदो पुस्ताको लागि पनि बाटो निर्माण गरिदिनु छ । हामीमा जिम्मेवारीबोध हुनु जरुरी छ ।

एउटा स्रष्टा\लेखकले सामान्य गालीहरु पचाउनुपर्छ । मान्छेहरुका गाली–बेइज्जती सहँदै भए पनि लेख्नुपर्छ । इन्टरटेनमेन्ट रुचाउने दर्शकलाई तपाईंले एकैचोटि क्लासिक मुभी देखाउन त सक्नुहुन्न नि ! थोरथोरै गरेर बानी पार्दै लैजानुपर्छ । यो चाहिँ सबैले प्रयास गर्नु जरुरी छ । रोनाधोनादेखि हाँस्नेसम्म आइपुग्यो नेपाली फिल्म, हाँस्ने चुटकिलामै मात्र अल्झिराख्यो भने त नेपाली फिल्म उँभो लाग्दैन । नेपाली फिल्म विविध विषयमा विविध संस्कृतिमाथि विविध प्रयोग गर्दै अगाडि बढ्नुपर्छ । यसका लागि मेकरहरुले आफ्नो माइन्ड मेकअप त गर्नुपर्छ ।

तपाईंले यसो भनिरहँदा हाम्रा फिल्महरुमा नेपाली समाज, संस्कृति कति हदसम्म आएको छ ?

खासै छैन । अहिलेसम्म संस्कृतिहरुमा त्यति भिजेका फिल्महरु छैनन् । तर, मेकरहरुले प्रयास चाहिँ जरुर गरिरहेका छन् । कुनै कृति संस्कृतिविहीन त रहनै सक्दैन, संस्कृतिमा आधारित त हुनुपर्छ । एउटा समाजमा आधारित हुनासाथ एउटा संस्कृति आउँछ । यस्तो प्रयास क्रमिक रुपले सानो–सानो रुपमा भए पनि भइरहेको छ । वाह वाह नै गर्नुपर्ने मात्रामा नभए पनि स्वागत गर्न सकिने खालको छ ।

तपाईंले पछिल्ला फिल्महरु राम बाबु गुरुङसँग मिलेर लेख्दै आउनुभएको छ । स्क्रिप्ट सह–लेखन गर्दा सजिलो\अप्ठेरो के हुन्छ ?

सह–लेखन त डिस्कसमा लेखिने कुरा भयो । एक्लै भइयो भने सबै आफैंले गर्नुपर्दा बोझ त धेरै हुन्छ । किनभने एउटा दिमाग र दुइटा दिमाग त उही हुने कुरा भएन । संयुक्त काम गर्दा धेरै राम्रो हो । अरुसँग नलेखेकोले सहज–असहज के हुन्छ, भन्न सक्दिनँ, राम गुरुङसँग काम गर्नु मलाई बडा नै कम्फर्टेबल छ । किनभने हाम्रा सोचहरु झन्डै–झन्डै मिल्छन् । हामीले बाँचेर आएको समाज, भूगोल झन्डै–झन्डै उस्तै भएर पनि होला । बाँचेर आएको समय, देखेको क्यारेक्टरहरू उस्तै भएकोले लेख्न सहज छ ।

पछिल्लो समय बनिरहेका नेपाली फिल्महरु अलि फरक छन् भनिन्छ, तपाईंले देख्नुभएको त्यो फरकपन के हो ?

सामान्य रुपमा मात्रै फरकपन देख्छु । पहिलेका फिल्ममा चाहिँ पात्रहरु काल्पनिक र तिलस्मी जस्ता हुन्थे भने अहिलेका फिल्ममा पात्रहरु सामान्य भएर आए । जनजीवनमा देखेका, भेटेका, तल्लाघरे, माथ्लाघरे जस्ता देखिन्छन् अहिलेका पात्रहरु । पहिला र अहिलेमा यति मात्र फरक छ । खासै नयाँ कुरा फिल्ममा भइरहेको छैन । यही कुरामा हामीले ‘पुरानो डुंगा’ मार्फत खतरा मोल्न चाहेका हौं । बडा सामान्य कथा भन्न सकिन्छ, भलै यो बजारमा नचल्ला । तर, हामीले खतरा मोलिनौं भने अर्को कसले मोल्ने त ? व्यावसायिक असफलता भनेको ठूलो कुरा हैन । त्यसको कारण नयाँ सोच रोकिँदैन ।

दयाहाङले जति काम गर्न सक्थ्यो र जति क्षमता राख्छ, त्यो अनुसारको चरित्र निर्वाह गर्न पाइराखेको स्थिति चाहिँ छैन । उही एकोहोरो किसिमको चरित्रहरुले गाँजेर उसको करिअर नै साँच्चै धरापमा छ

पछिल्ला नेपाली फिल्महरूमा नायकको हुलिया र काँठी फेरिएको छ । पर्दामा हिरोइज्म हराउँदै क्यारेक्टरमा सामान्य पात्र पनि स्थापित हुन थालेको छ । यो कस्तो लागिरहेको छ तपाईंलाई ?

प्रयास त हो नि आखिर भनेर हेर्नुपर्ला त्यसलाई । जस्तैः प्रयासको रुपमा दयाहाङ राई नायकको रुपमा नेपाली बजारमा छ । यो सन्तोषै मानिराख्नुपर्ने अवस्थामा नभए पनि चर्चा गर्न लायकको कुरा हो नै । यसरी नै त होला नि क्रमिक रुपले परिवर्तन हुँदै आउने । चाहेको मात्रामा त एकैचोटि परिवर्तन नहोला । दयाहाङले जनजाति पृष्ठभूमि, त्यहाँको अनुहारको हिसाबले थोरै भए पनि प्रतिनिधित्व गर्छ ।

तर, दयाहाङहरुमा सांस्कृतिक पृष्ठभूमि जोडेर हेरिए पनि उनीहरुले परम्परागत शैलीकै फिल्म खेल्ने हो भने त्यसले कति फरक अर्थ राख्ला र ?

दयाहाङ आज फिल्महरुमा जस्तो भूमिकामा देखिइरहेको छ, सधैं यस्तै भइराख्छ भन्ने त हैन होला नि ! मेकरहरुले पनि त नयाँ–नयाँ पात्र सिर्जना गर्लान् । त्यही अनुसारले मिहिनेत गर्दै गयो भने त सम्भावना छ नि । ऊसँग अहिले स्टारडम छ, बजारभाउ छ । उसलाई कसरी प्रयोग गर्ने भन्ने त मेकरहरुको कुरा हो । दया त एउटा अभिनेता न हो । उसलाई जस्तो रुपमा हेर्न चाहन्छन्, त्यस्तै रुपमा कुदिरहेको छ अहिले त । अब उसलाई मेकरहरुले कस्तो भूमिका दिन्छन्, उनीहरुले कत्तिको रिस्क मोल्न सक्छन् । त्यसमा निर्भर हुने कुरा हो ।

तपाईंलाई मन पर्ने नेपाली हिरो चाहिँ को हो ?

दयाहाङ राई नै हो । तर, उसले जति काम गर्न सक्थ्यो र जति क्षमता राख्छ, त्यो अनुसारको चरित्र निर्वाह गर्न पाइराखेको स्थिति चाहिँ छैन । उही एकोहोरो किसिमको चरित्रहरुले गाँजेर उसको करिअर नै साँच्चै धरापमा छ । उसलाई भेराइटी चरित्रहरु चाहिएको छ ।

हिरोइन चाहिँ ?

प्रियंका कार्की । उनी सामान्य खालकी भईकन बौद्धिक छिन् । जोसँग पनि घुलमिल हुन सक्ने फ्रेन्ड्ली छिन् । दिलको सफा पनि ।

फिल्ममा आफूले लेखेको चरित्रमा लोभलाग्दो चाहिँ कुन लाग्छ ?

लोभ लाग्ने त कबड्डीको ‘काजी’ पात्र नै हो । मैले देखेकै, भोगेकै आफ्नै छरछिमेकी जस्तो चरित्र लाग्छ त्यो । यस्ता थुप्रै क्यारेक्टर भेटिन्छन् पूर्वी नेपालमा ।

अहिलेसम्म हेरेकामध्ये मन परेको फिल्म ?

म क्लासिकल फिल्महरु मन पराउँछु । खासगरी कोरियन निर्देशक किम कि–दुकको मेकिङ स्टाइल मन पर्छ । सिङ्गल स्टोरी भन्ने र विम्बमा व्यक्त गर्ने उसको तरिका गजब लाग्छ । थरिथरिका निर्देशकको फरक–फरक टेक्निक र आफ्नोपना हुन्छ, त्यो आफ्नोपनामा आफूलाई खोज्ने हो र कहाँनेर उभ्याउने भनेर मनन गर्ने हो ।

इरानका निर्देशक मजिद मजिदीको कथा भन्ने शैलीबाट पनि मोहित छु । सामान्य लाग्ने कथामा फिल्म बनाउँछन् उनीहरु । मेरो पनि जोड हो, सामान्य कथा भन्ने । मसँग भएका कथाहरु यस्तै सामान्य छन् । सानो कथालाई पनि मीठो गरी भन्न सकिने देखेर यी मेकरहरुसँग म लोभिन्छु । सामान्य कथाहरुलाई विशेष रुपले कसरी भन्न सकिन्छ भनेर यिनीहरुका मेकिङ नियाल्छु म ।

Upendra subbaकबड्डी र त्यसको सिक्वलमा तपाईंले झाँक्रीको भूमिकामा अभिनय गरेर चर्चा पनि पाउनुभयो । अब चाहिँ फिल्म नै नखेल्ने कसम खानुभा’छ रे !

हाहाहा । कसमै त खाएको हैन । तर, नखेल्नु राम्रो हो भन्ने लागेको छ । किनकि फिल्ममा देखिने चरित्र र वास्तविक जीवनको सामान्य मान्छे फरक हुन्छ । जता गए पनि उपेन्द्र सुब्बा कवि भनेर चिनेन भने साथीभाइले चिनारीमा झाँक्री बा भनेर खुलाइदिन्छन् । त्यसो भनिदियो भने कबड्डी नहेर्नेले पनि झाँक्री बा चिन्दोरै’छ ।

यो चाहिँ मलाई प्सलभन्दा पनि बढी माइनस लाग्यो । किनभने म गम्भीर कविता भन्न स्टेज उक्लिरहेको बेला र पोडियममा कविता भनिरहँदा मान्छेहरु हाँसिरहेका हुन्छन् । यसले त मलाई जोकरभन्दा बढी बनाउने स्थिति देखिनँ । फिल्मको प्रभाव यति हुँदो रै’छ, मेरो सामान्य जिन्दगीमा पनि निकै असर गर्‍यो । त्यही भएर मैले रहर नै गर्न छोडेँ । नगर्ने नै भनेर बसेको छु । झाँक्रीको चरित्रमा बनाइएका फेसबुकका ट्रोलहरुले पनि समस्या पार्‍यो । ट्रोलहरुमा म हाँसि त दिएँ, तर मेरो साधारण चरित्रमा त्यो सुहाएन ।

फिल्म क्षेत्रसँग जोडिएको केही आकांक्षा पनि छन् कि ?

फिल्म चाहिँ आफैं पनि निर्देशन गरुँ भन्ने योजना हो मेरो । फिचर फिल्म नै बनाउँछु । त्यस क्रममा बजार मेरो मतलबको विषय हुनेछैन । मैले आफैंले रुचाएको फिल्म मात्रै बनाउँछु । केही स्क्रिप्टको काम आएका छन्, त्यसलाई दुई–चार महिनामा सक्छु । एक वर्ष उपन्यास लेख्छ् । त्यसको अर्को वर्ष त म फिल्ममा काम गर्छु ।

मैले आफ्नो दुई–चार वटा स्क्रिप्ट साथीहरुलाई सुनाएको थिएँ । तर, आइडिया मन पराए, फिल्म बनाउन भने आँटै गरेनन् । ती आफैंसँग थान्को लागेका छन् । मैले बनाउने फिल्म तिनै हुन् । मैले पत्याएका फिल्ममेकरले ती स्क्रिप्ट पत्याइदिए भने त बनाउँदिनँ । उनीहरुले हेरेनन् भने पक्कै आफैं बनाउँछु । फुर्सदमा अस्ति रिसर्चमा पनि गएँ । यसो टहलिँदा, डुल्दा दिमागमा आउटलाइन पनि कोर्दै, राख्दै गरेको छु ।

प्रस्तुतिः जोतारे धाइबा 

स्रोत :अनलाइनखबर

प्रतिक्रिया