कौडीको भाउमा उखु बेच्दै रौतहटका किसान

इनेप्लिज २०७३ मंसिर ६ गते १२:२६ मा प्रकाशित

उखु उत्पादक महासंघ र चिनी उत्पादक संघबीच उखुको मूल्य तोक्ने वार्ता असफल भएपछि रौतहटका किसानले कौडीको भाउमा उखु बेच्न थालेका छन् । चिनी उद्योगले किन्ने मूल्यभन्दा आधा घटीमा किसानहरुले सख्खर उद्योगहरुलाई उखु बेच्न थालेको देखिएको छ ।
रौतहटको सुन्दरपुरमा एक दर्जनभन्दा बढी सख्खर उद्योगहरुले कात्तिकको पहिलो हप्तादेखि नै उखुको मूल्य प्रति क्वीन्टल तीन सय रुपैया तोकेर किनिरहेको छ । पन्ध्र किलोमिटर टाढादेखि किसानहरु आफ्नो खेतको उखु सख्खर उद्योगहरुलाई पु¥याइरहेको महम्मदपुरका उखु किसान मौजेलाल राय यादव बताउंछन् ।
गत दुई आर्थिक वर्षको उखुको मूल्य चिनी उद्योगबाट किसानहरुले नपाएको हुनाले गत वर्ष चिनी उद्योगले तोकेको ४ सय ४८ रुपैया प्रति क्वीन्टलभन्दा एक सय ४८ रुपैया कम मूल्यमा किसानहरुले सख्खर उद्योगलाई धमाधम उखु बिक्री गरिरहेका छन् । उखु उत्पादक संघले प्रति क्वीन्टल छ सय २५ रुपैया माग गरेको र चिनी उत्पादक संघले चार सय ९३ रुपैया दिन खोज्दा चालू आर्थिक वर्षको उखुको मूल्यमा सहमति हुन सकेको छैन । उखु उत्पादक संघ र चिनी उत्पादक संघबीच उखुको मूल्यको विषयमा सहमति हुन नसक्दा सख्खर उत्पादकहरुले मनपर्दो न्युनतम मूल्य तोकेर किसानलाई ठगिरहेका छन् ।
उखु किसानले तत्काल वा एक–दुई हप्तामा पैसा पाउने भएपछि सस्तोमा उखु बेचिरहेका छन् । कात्तिक र मंसिर महिनामा किसानले उखु बेचेर खेत खाली गर्न पाउंदा खेतमा नयां बाली लगाउन पाउंछन् । गत कात्तिकमा आफ्नो एक बिगाहाको उखु सख्खर उद्योगलाई बेचेर मसुरो बाली लगाइसकेको संग्रामपुर ८ का राजन ठाकुर बताउंछन् । तत्काल उखुको पैसा कम नै भए पनि हात परेको र खेती गर्न सजिलो भएको ठाकुरको भनाइ छ ।
सुन्दरपुर लगायत जिल्लाको विभिन्न भागमा करिब दुई दर्जन सख्खर उद्योगहरु संचालनमा रहेका छन् । चिनी मिलले किसानलाई पैसा दिन नै नचाहने र सख्खर उद्योगहरुले नगदमा उखु किन्ने भएकोले उखु किसानले दोहोरो फाइदा लिन सस्तोमा उखु बेचेका हुन् । उखु किसानले सस्तोमा उखु बेचिरहेको भए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।
सरकारले धानको न्युनतम मूल्य तोकेजस्तै उखुको न्युनतम मूल्य पनि तोक्नु पर्ने माग गरेका छन् । उखुको न्युनतम समर्थन मूल्य पाएमा किसानलाई सख्खर उद्योगहरुले ठग्ने अवस्था नै नआउने गरुडाका अगुवा उखु किसान राम कृष्ण चौधरीको भनाइ छ । सरकारले समयमै उखुको न्युनतम समर्थन मूल्य तोक्न नसके उखु किसान सधैं ठगिइरहने चौधरीको भनाइ छ ।
चिनी उद्योगकहां बांकी रहेको करिब ५८ करोड रुपैया भुक्तानीको पहल भइरहेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवले बताएका छन् । रौतहटको गरुडास्थित श्री राम सुगर मिल्सले गत दुई आर्थिक वर्षको ५८ करोड रुपैया तिर्न बांकी रहेकोले केही किसान निराश भएर सख्खर उद्योगलाई उखु बेचिरहेको अध्यक्ष यादव बताउंछन् ।

प्रतिक्रिया