शनिबार, असार ५ २०७८
काठमाडौं १५:३०
वासिङटन डिसी 05:45

पढ्ने उमेरमा जेलमा बस्न बाध्य छन् बालबालिका

इनेप्लिज २०७३ कार्तिक २८ गते १३:१७ मा प्रकाशित

लिबाङ (रोल्पा), कात्तिक २८ । जिल्ला कारागार कार्यालय रोल्पाको बन्दीगृहमा आमाले गरेको दुष्कर्मको सजाय भोग्दै चार नाबालकले जेल जीवन बिताइरहेका छन् ।

झोलामा कापी कलम बोकेर विद्यालय जाने उमेरका यी नाबालकहरुले यसरी जेल जीवन बिताउनु पर्दा उनीहरुको कलिलो बाल मष्तिष्कमा कतिसम्मको प्रतिकूल असर पर्न सक्छ भन्ने विषयमा समयमै बाल अधिकारका क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरुको ध्यान जान जरुरी देखिन्छ । अपराधजन्य घटना घटाएका बालबालिकाहरुलाई पनि कारागारमा थुनामा नराखेर बाल सुधार गृहमा राख्ने कानूनी ब्यवस्था छ । संरक्षण गर्ने अभिभावक नभएको हुँदा उनीहरु आमाको संरक्षणमा जेल जीवन गुजार्न बाध्य भएका हुन् ।

बन्दी गृहमा छिरेसँगै यी बालबालिकाले पोषणयुक्त खानेकुरा खान त के देख्न सम्म पाएका छैनन् । न त यी बालबालिकाहरुसँग कुनै किसिमको खेलौना छ । साँझ बिहानको दुइ छाक खाना र चाउचाउ बिस्कुटले मात्र कसरी यिनीहरु हुर्केलान् ? यस विषयमा सरोकारवाला निकायहरु गम्भीर बन्न जरुरी छ ।

यसरी रोल्पाको कारागारमा जेल जीवन बिताउने नाबालकहरुमा महत–५ रुकुमका साढे तीन वर्षका शक्तिमान पुन, इरिबाङ ३ रोल्पाका तीन वर्षका हुकुम पुन, थबाङ–८ रोल्पाका साढे तीन वर्षका आशा नेपाली र रन्मामैकोट रुकुमका ३ वर्षका मीरा विक छन् ।

शक्तिमान पुनकी आमा दिलकुमारी पुनले २०७२ चैत ३ गते आफ्ना श्रीमान् र सासूलाई धारिलो हतियार प्रयोग गरी मारेको हुँदा १० वर्ष लामो कैद सजाय भोगिरहनु भएको छ । पुनका अनुसार घरमा श्रीमान् र सासूको मृत्युपछि बच्चाको स्याहारसुसार गर्ने अन्य जिम्मेवार ब्यक्ति कोही नभएको हुँदा उहाँले बालकलाई बन्दीगृहमा आफूसँगै राख्दैआउनु भएको हो । उहाँका अन्य दुइ छोरा पनि गाउँमै अलपत्र अवस्थामा रहेको उहाँको भनाइ छ ।

यस्तै, हुकुम पुनकी आमा बिमला पुनले श्रीमान् विदेश गएका बेला देवर नाता पर्ने गोविन्द पुनमगरसँग पटक पटक अनैतिक सम्बन्ध राखेको र बिमलाका सौताका छोरा १२ वर्षिय भरत घर्तीमगरले पटक पटक देखेका हुँदा उसले खुलासा गरिदिने डरले बच्चाको घाँटी थिचेर २०७३ साउन १० गते हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि बिमला थुनामा पठाए र हुकुम पनि आमासँगै कारागार कार्यालयमा बन्दीगृहमा दिन गुजार्न बाध्य भए् ।

यस्तै, आशा नेपालीकी आमा जालकुमारी नेपाली ज्यान मार्ने उद्योगमा २०७३ कात्तिक १२ गतेदेखि थुनामा परेसँगै आशा पनि आमासँगै जेलभित्र बस्न बाध्य भएकी छिन् । बच्चालाई घरमा पठाउने अवस्था नभएको हुँदा आशालाई आफंैसँग राख्दै आएको जालकुमारीले बताउनुभयो ।

यसैगरी, मीरा विककी आमा लगन विकले २० वर्षको कैद जीवन बिताइरहेको हुँदा उहाँसँगै मीरा पनि कारागार कार्यालय रोल्पामा बन्दीगृहमा बस्दै आएकी हुन् । विसं २०७२ फागुन २ गते आमा स्थानान्तरण भई रोल्पा आएदेखि उनी पनि जिल्ला कारागार कार्यालय रोल्पाको बन्दीगृहमा जेल जीवन बिताउन बाध्य भएकी हुन् । विकका अनुसार घरमा बच्चाको स्याहारसुसार गर्ने कोही छैन । माइतीमा पनि कसैले हेर्ने अवस्था नभएको हुँदा मीरा आमासँगै बन्दीगृहमा थुनामा बस्दै आएको विकले जानकारी दिनुभयो ।

“बन्दीगृहमा जेल जीवन बिताइरहेका बालबालिकाहरुको भविष्य तर्फ न त परिवारले सोचेका छन् न त कुनै सरकारी कार्यालयको नै ध्यान गएको छ,” समाजसेवी हुकुमा सुवेदीले भन्नुभयो । उहाँका अनुसार बालअधिकारका क्षेत्रमा काम गर्ने राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैससहरु पनि बालबालिकाको क्षेत्रमा चर्का चर्का नारा लगाउनमै ब्यस्त छन् तर यिनीहरुको भविष्यका बारेमा कसैले सोच्न भ्याएका छैनन् ।

“यी बालबालिकालाई चर्का चर्का बालअधिकारका नारा होइन यथार्थमा सहयोगी हातहरुको खाँचो छ,” सुवेदीले भन्नुभयो ।

यता, जिल्ला कारागार कार्यालय रोल्पाका प्रमुख प्रदीपकुमार रेग्मीका अनुसार यी बालबालिकाका लागि कार्यालयले दैनिक १५० ग्राम चामल र १० रुपैयाँ बाहेक अन्य कुनै किसिमको छुट्टै ब्यवस्था गर्न सकेको छैन । आमाको इच्छा वा पारिवारिक बाध्यताका कारण उनीहरु पनि आमासँगै भित्र बस्दै आएका हुन् । “आमाले दिने मन्जुरी दिएमा वा कुनै सहयोगी निकायले लिएमा यी बालबालिकालाई सहयोग गर्न सकिन्छ तर आजसम्म यिनीहरुको बारेमा कसैले केही चासो देखाएको छैन,” रेग्मीले भन्नुभयो ।

यस्तै, जिल्ला बाल कल्याण समिति रोल्पाका बाल अधिकार अधिकृत गोकर्ण पुनले यस विषयमा आफू र आफ्नो कार्यालय निकै गम्भीर भएको बताउँदै यी बालबालिकालाई आपत्कालीन सहयोग गर्न सकिने जानकारी दिनुभयो । साथै, यसरी कारागारभित्र रहेका बालबालिकाहरुका संरक्षकको हदम्याद लामो हुने अवस्था भएमा तिनीहरुको पारिवारिक पुनःस्थापना या जिल्लास्तरमै विद्यालयमा भर्नाका लागि पहल गर्न सकिने उहाँको भनाइ छ । तर आपत्कालीन सहयोगअन्तर्गत बालबालिकाका लागि विद्यालय पोसाक, पाठ्यपुस्तक, पोषिला खानेकुरा र विभिन्न किसिमका खेलौना उपलब्ध गराउन सकिने प्रावधान रहेपनि यी बालबालिकाले आजसम्म केही पाउन सकेका छैनन् ।

जिल्ला कारागार कार्यालय रोल्पाका प्रहरी सहायक निरीक्षक कुलबहादुर रावत भन्नुहुन्छ – “हामीलाई सरकारले यी बालबालिकाको लागि भनेर केही पनि उपलब्ध गराएको हुँदैन । कुनै सङ्घ संस्था वा परिवारले केही दिएमा भित्र पु¥याउने सम्म हो तर कतैबाट कुनै किसिमको सहयोग भएको छैन । हामीले संरक्षण दिने हो दिएकै छौं ।”

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा भन्नुहुन्छ “कुनै सहयोगी हात वा सङ्घसंस्थाले चासो राखेमा वा आमाले विश्वास गरेमा यी बालबालिकालाई हामी दिन सक्छौं । अन्यथा हामीसँग कुनै उपाय छैन ।”

बत्तीमुनी अँधेरो भने झै जिल्ला कारागार कार्यालय रोल्पा र तुल्सी आवासीय माध्यमिक विद्यालयको आँगन यौटै हो, केवल बीचमा यौटा पर्खाल छ । करिव १०० मिटर टाढा सरकारी विद्यालय बाल मन्दिर छ तर पनि त्यहाँ सम्म पुग्न यी बालबालिकाको पहँुच छैन । कसैले पर्खाल कटाउने ब्यवस्था मिलाउन सके यी बालबालिका अवश्य पनि शिक्षाको उज्यालो ज्योति पाउनबाट बञ्चित हुने थिएनन् । रासस

प्रतिक्रिया