यसकारण श्रीमतीको हातबाट टिका लगाएर दशै मनाईयो -प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ असोज २६ गते २१:२४ मा प्रकाशित

prakash

नेपालीहरुको महान चाड दशै, देश विदेशमा रहेका नेपालीहरुले धुमधामसँग मनाएको पाईयो । खासगरि विजय दशमीको दिन मान्यजन एवं आफन्त, ईष्टमित्रहरुबाट टिका लगाएर आशिर्वाद माग्ने चलन हुन्छ र कतिपय कारण र बाध्यताले गर्दा उक्त दिन टिका लगाउन सम्भव नहुने भएकाहरुले पुर्णिमाको दिन सम्म टिका लगाउन सकिने चलनचल्ती रहदै आएको छ ।
विशेषत हिन्दु एवं केही बौद्धधर्मालम्बीहरुले आ-आफ्नो ढंगबाट दशै मनाएको पाईयो । अझै आजकल सामाजिक संजालको बढ्दो प्रयोगले कसले, कसरी, कहाँ दशैलाई उत्सवको रुपमा मनायो भन्ने पनि मोटामोटीरुपमा जानकारी मिल्न सक्ने स्थिती पनि देखियो । यसले एकातर्फ देखासिकी बढ्दै गएको र आपसमा प्रतिस्पर्धा एवं होडवाजी सृजना गरेर चाडवाडहरु तडकभडकको रुपमा मनाउनु पर्ने मान्यताको पनि विकाश हुँदै गएको हो की भन्ने अनुभव गर्न सक्ने अवस्था देखियो ।

विगत केही समय पहिले कसले कसरी घर भित्र चाडवाड मनाउने गर्थे भन्ने खासै सबैमा जानकारी आपसमा सेयर हुँदैन्थ्यो तर आजकल आधुनिक प्रविधीले सबै कुरा आपसमा सेयर गर्न सक्ने अवस्था आएकोले पनि यसले कतिपय अवस्थामा सकारात्मक र कतिपय अवस्थामा नकारात्मक प्रभावहरु पारेको पाईन्छ । त्यसै सन्दर्भमा यो दशैमा पनि बलि प्रथा बारे निकै बहस सामाजिक संजालहरुमा भएको देखियो । यसबारे यस आलेखमा केही टिकाटिप्पणी गर्न खोजिएन । खासगरि दशैमा मान्यजनहरुबाट टिका, जमरा लिएर आशिर्वाद लिने चलन छ र यस्तै गरिदै आएको पाईन्छ । जसमा वैवाहिक जीवनमा गाँसिएका श्रीमान र श्रीमतीहरुको सन्दर्भमा दशैको दिन श्रीमानले श्रीमतीलाई पनि टिका लगाएर आशिर्वाद दिने परम्परागत चलन चल्दै आएको छ ।
त्यसो त हरेक हिन्दु नारीले विवाह पश्चात श्रीमानलाई देवता सरह मानेर पतिव्रत हुनुपर्ने आचरण एवं व्यवहार सानै बच्चा छदै परिवारमा सिकाईन्छ । त्यस्तै मुलरुपमा नारीहरुले पुरुषहरु र परिवार प्रति गर्नुपर्ने कर्तव्य धेरै घरपरिवारमा पढाईन्छ । जसको फलस्वरूप नारीहरु समाजमा निकै पछाडी पर्दै गएको पनि देखियो तथापी आजकल भने नारीहरु शिक्षा र चेतनाको कारण जागरुक भएर समाजमा रहेका कतिपय रुढीवादी परम्परागत मान्यताहरु परिवर्तन गर्न सफल भएका छन् ।

त्यसको ज्वालन्त उदाहरण भनेको ग्रामिण भेकमा समेत पतिको मृत्यु पश्चात रातो वस्त्र धारण गर्न र रातो टिका लगाउन नहुने मान्यताको साटो आजकल पतिको मृत्यु पश्चात पनि रातो वस्त्र र रातो टिका लगाउने चलन चल्न थालेको छ । जसको फलस्वरूप पतिको मृत्यु पछि जीन्दगीभर शोकको चिन्हहरु वा प्रतिविम्वहरु धारणा गरेर समाजमा बाँच्नु पर्ने परिस्थितीको क्रमश अन्त्य हुने मोडमा समाज रुपान्तरित हुँदैछ । त्यस्तै सासु एवं बुहारीहरु वीचको सम्बन्धहरु पनि क्रमश आमा छोरीको रुपमा स्थापित हुँदै गएको पाईन्छ । यसलाई पनि समाज परिवर्तनको अनुकुल अवस्थाको रुपमा लिन सकिन्छ ।
यस्तै परिवर्तनलाई मध्यनजर राख्दै यो पंक्तिकारले यस बर्षको बडा दशै देखि श्रीमतीको हातबाट टिका जमरा लगाएर आशिर्वाद लिने निर्णय गरि सोही अनुसार टिका लगाउने काम भयो । नारी पुरुष रथका दुई पांग्रा हुन भनिन्छ भने विवाहित पुरुष सधै उच्च स्थानमा र विवाहित नारी पुरुषको अधीनस्थ भईनै रहनु पर्ने मान्यता विद्यमान रहेको अवस्थामा यो प्रयासले पनि के देखाउँछ भने नारी पुरुष दुवैको समान हैसियत र सामाजिक मान्यता छ भन्ने दर्शाउँछ ।

हुनपनि विवाह वन्धनमा बाँधिदा वर र वधुले आपसमा एक अर्कालाई टिका लगाईदिन हुने र त्यसपछि भने श्रीमानले मात्र श्रीमतीलाई टिका लगाईदिने र श्रीमतीले पुजाआजा, व्रत बसे पछि पुजापाठ गरेपछि अक्षता सहितको पुजापु( पुजाको थाली) दिने र श्रीमानले आफै टिका लगाउने चलन चल्दै आएको पाईन्छ । त्यो त्यती व्यवहारिक देखिदैन जस्तो लाग्छ किनकी पुजाआजा गरिसके पछि श्रीमतीले श्रीमानलाई टिका लगाई दिदा त्यसले के नै पो फरक पार्छ र ? यस्तै संकुचित सोचबाट माथी उठ्न नसके समाज परिवर्तनको नारा केवल नारामै सिमित रहने देखिन्छ । त्यसैले पनि परम्परागत धार्मिक मुल्यमान्यतामा केही व्यवहारिकरुपमा परिवर्तन आउनै पर्छ । अझै पनि विभिन्न धार्मिक विरोधाभासहरु समाजमा देखिन्छ त्यसलाई समयसान्दर्भिक परिवर्तन गर्दै जानु आवस्यक छ ।

प्रतिक्रिया