कामना छ दशै, दशा बनेर नआओस् – प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ असोज १५ गते १६:४० मा प्रकाशित

PRAKASH SHRESTHAनेपालीहरु चाडवाडमा रमाउन तिव्र चाहना राख्छन् र स्वभाविक पनि हो, आफ्नो रितीरिवाज, संस्कृती, परम्परागत मुल्यमान्यतालाई अवलम्बन गर्नु पर्छ । वास्तवमा नेपाल बहुजाती, बहुसांस्कृतिक आयाम भएको मुलुक हो र बर्षका हरेक दिन जसो एउटा न एउटा चाडवाड, पर्व र उत्सव परिरहेको हुन्छ यदी समग्र जातजातीहरुको संस्कार एवं संस्कृतीलाई निहालेर हेर्ने हो भने ।
विशेषत हिन्दु धर्मालम्बीहरुले बर्षभरि मनाउने चाडवाड मध्ये दशै तथा तिहार( भाईटिका) लाई विशेष महत्वका साथ धुमधामले मनाउने चलन छ । खासगरि विजय वा पराक्रमको उत्सवको रुपमा मनाईने यस्ता चाडवाडहरुको धार्मिक विश्वास, मुल्यमान्यता, कथन, जनविस्वास, आस्थालाई अलग-अलग ढंगले विश्लेषण गर्ने गरिन्छ । तथापी मुलत यस्ता चाडवाड, पर्व, उत्सव मनाउने चलनचल्तीले आफन्तजनहरु, ईष्टमित्रहरु, साथीहरु, छिमेकीहरु वीच एक किसिमको आत्मियता एवं सौहार्दपूर्ण वातावरण सृजना गरेर आपसी भाईचारा र सम्बन्धहरु सदृढ र प्रगाढ गराउन मद्दत गर्दछ ।

परम्परागतरुपमा मनाउने यस्ता चाडवाडको आ-आफ्नो महत्व हुँदाहुँदै पनि विजयदशमीलाई शक्तीको देवी नवदुर्गामाताको पुजाआराधना गरि विशेष विधी पुर्वक घटस्थापना गरेर जमरा उमारेर शुभ साहितमा दशमीका दिन विशेष गरेर ठुलाबडा र मान्यजनबाट टिका र फूल प्रसाद ग्रहण गर्ने चलन चल्दै आएको छ । विशेष गरेर फुलपातीको दिन देखि अष्टमी, नवमी, दशमी र पुर्णिमाको दिनमा विशेष किसिमले पुजापाठ गरेर यस चाडलाई विशेष रोनकयुक्त बनाएर उत्सव मनाउने चलन छ । त्यसो त साना केटाकेटीहरुका लागी नयाँ लुगाफाटोहरु किनी दिने, खसी बलि दिने र विभिन्न शक्तीपिठमा पुजाआराधन गरि देवीदेवताहरुलाई खुशी पारेर मनोआंकाक्षाहरु पुरा हुने मान्यता र प्रचलन छ । अझै भन्नु पर्दा मासुजन्य पदार्थको व्यवस्था गर्ने, मिठा मिठा परिकारहरु, सेलरोटीहरु, नयाँ लुगाफाटोहरु, गरगहना, लठ्ठे पिंग, घुम्ने पिंग, चंगा उडाउने जस्ता कुराहरुलाई विजयदशमीमा विशेष महत्वका साथ हेरिने गरिन्छ ।
वास्तवम यस महान चाड विजय दशमीमा बर्षभरि ज्याला मजदुरी गर्ने, खेति किसानी गरेर जिविका निर्वाह गर्ने देखि व्यापार-व्यवसाय, पेशा र रोजगारी गरेर जीवन चलाउनेहरु सबैले आ-आफ्नै ढंगमा खुशियाली एकआपसमा साटेर हर्षोल्लासका साथ उत्सव मनाउँछन् । कतिपय आर्थिकरुपमा कमजोर हुनेले पनि सकिनसकी पनि साहुबाट ऋणधन गरेर यो चाडपर्व धुमधामले मनाउने प्रयास गर्छन् । तर विडम्वना त्यही दशै मनाएर परिवारमा खुशी ल्याउन खोज्दा चर्को व्याज तिर्ने गरि साहुबाट लिएको ऋण तिर्न बर्ष दिन रातदिन दश नंग्रा खियाउन पर्ने हुन्छ र यदी देश भित्रै त्यस्तो अवसर नमिलेमा फेरि साहुकै दैलोमा थप ऋण लिन घरघडेरी धितोमा राखेर तमसुकमा सहीछाप ठोकेर पैसा लिएर पासपोर्ट बनाएर मेनपावर दलालहरु मार्फत खाडी लगायतको मुलुकमा थाप्लोमा ऋण, पारिवारिक जिम्मेवारी, पारिवारिक विछोडको घाउ बोकेर विदेशीभुमिमा रगत र पसिनाले थोरै खुशी समेटिएको श्रमको मुल्य हात पार्न रातदिन जोतिनु पर्ने हुन्छ ।
अर्को तर्फ हुनेखानेहरु यस्ता दशै लगायतका चाडवाडमा सामाजिक प्रतिष्ठा प्रदर्शन गर्ने नाममा राजकीय शैलीमा धुमधाम ढंगबाट हर्ष बढाई हुने गरि सारा छिमेकी र समाजमा दम्भ र अभिमानको राप ओकल्ने गरेर तामझामका साथ घटस्थापनाको शुरुवात देखी तिहारको अन्तिम दिन सम्म भोजभतेर, विलाशितायुक्त मदिरा पार्टी र जमघटमा निरन्तर लागेको पाईन्छ । त्यसको प्रभाव भने त्यही समाजमा बस्ने विपन्न  परिवारमा जन्मेका बालबालिकामा पर्छ र उनीहरुले पनि त्यस्तै धुमधाम गरि चाडवाड मनाउने बालमनोविज्ञानले अभिभावकहरुलाई जाहेर गरेको ईच्छा र विभिन्न मागहरु पुरा गर्न नसकेर त्यस्ता कतिपय अभिभावकहरु चिन्तामा डुबिरहेको र आफ्ना सन्तती प्रति जिम्मेवार हुन नसकेको ठानी आफ्नो कर्म एवं भाग्यलाई दोष दिदै पीडावोध गरेर नरमाईलो गरि दिन विताईरहेको पनि पाईन्छ ।
त्यसो त पहुँच पुग्नेहरुलाई थप राज्यबाट समेत दशै खर्च भनेर हरेक बर्ष बजेट नै छुट्टाएर पुरस्कृत गरिएको हुन्छ । यस्ता पुरस्कार पाउनेहरुमा सत्ता सम्हालेका पार्टीका वा नेताहरुको हनुमान पहुँचवाला सम्पन्न कार्यकर्ता बाहेक सर्वसाधरण विपन्नहरु हुनै सक्दैनन् । त्यती मात्र हैन अझै नाम मात्रको उपचारको नाममा आफ्ना कार्यकर्ताहरुलाई बर्षै भरि पकेट खर्च पुग्नेगरि वा मोजमस्तीमा उनीहरुलाई रमाउन प्रेरणा मिल्ने गरि समेत उपचार खर्चको शिर्षकमा समेत करोडौ रकम समेत सरकारमा सम्मिलित राजनितिक पार्टीहरुले बाँड्ने गरेको पाईन्छ ।
यसरी हेर्दा विपन्न र आर्थिक अवस्थामा रहेकाहरुको दशै साँच्चै खुशी भन्दा पीडा र दशा लिएर आएको पाईन्छ । तसर्थ सकभर देखासिकी र तडकभडकमा फजुल खर्च गरेर दशै मनाउन नखोजौ । सामान्यतः ठुलाबडा र मान्यजनबाट आशिर्वाद लिने, आत्मियता कायम गर्ने ढंगबाट यसलाई सरल एवं सहज ढंगबाट मनाउन खौजौ । त्यस्तै गतसालको भुकम्पले उजाड पारेको बस्तीमा अझै सम्म खुशीको एक मुठ्ठी दिप जल्नै बाँकी रहदा कसरी सबै नेपालीहरुले दशैलाई साझा खुशीको चाडपर्व मान्न सकिएला यसमा समेत सबैले ध्यान पुराउ ।
त्यस्तैगरि राज्यलाई अनुरोध छ की ती भुकम्पपिडीत र गाउँमा बस्ने विपन्नहरुको घरदैलोमा वा बस्तीमा महिना भरि दशैको हर्ष मनाउने वातावरण नमिले पनि कम्तीमा एक दुई दिन भएपनि परिवारमा बसेर खुशी साट्ने मौका मिलाई देउ । पहुँच हुनेवालालाई चाडवाडमा दिईने जथाभावी सरकारी बोनस रकम( दशै खर्च लगायत) बाँडफाँड अविलम्ब बन्द गरि त्यस्ता तमाम विपन्नलाई दशै तिहार राहत प्याकेज बाँड्ने व्यवस्था गर । त्यसो गर्दा कम्तीमा एकै छिन, एकै दिन भएपनि विपन्नहरुले पनि राज्यमा सरकार भएको अनुभुत गर्ने छन् । अन्तमा सबै देश विदेशमा रहनु हुने नेपालीहरुमा विजय दशमीको हार्दिक मंगलमय शुभकामना छ ।

प्रतिक्रिया