मुस्ताङबाट रु २३ करोडको स्याउ निकासी

इनेप्लिज २०७३ कार्तिक १४ गते ८:३८ मा प्रकाशित

downloadमुस्ताङ, १४ कात्तिक । हिमाली जिल्ला मुस्ताङबाट रु २३ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ ।

भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म रु २३ करोडको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अझै रु आठ करोडको हाराहारीमा स्याउ निर्यात हुने कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिनुभयो । “गत वर्ष मुस्ताङमा चार हजार ७०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । अहिले ४४ सय मेट्रिक टन उत्पादन हुने अनुमान गरेका छौँ”, योजना अधिकृत गुरुङले भन्नुभयो “अझै स्याउ टिप्ने क्रम जारी छ ।” अहिलेसम्म तीन हजार २०० मेट्रिक टन स्याउ बाहिरिएको उहाँले बताउनुभयो ।

कृषकले लगाएको स्याउ ठेकेदारले हचुवाका भरमा पहिल्यै खरिद गर्ने चलन छ । साउनमै ठेक्कामा बिक्री गरेर कृषकले पैसा बुझिसकेका हुन्छन् । पोखरा, धादिङ, काठमाडौँका व्यापारी आएर होलसेल मूल्यमै बारीबाट स्याउ टिपेर लाने गरेका छन् । “हामीले पहिल्यै ठेक्कामा दिन्छौँ, घाटा नाफा व्यापारीको कुरा हो” मार्फा–९ का कृषक प्रेमबहादुर तामाङले भन्नुभयो, “यसपालि मैले डेढ करोडमा ठेक्का दिएको हुँ । असिना परेर बोटमा पातलो दाना लाग्यो, हिउँ खासै नपरेकोले उत्पादन घटेको छ ।”

मुस्ताङी स्याउ निकै स्वादिलो हुने भएकाले पोखरा, काठमाडौँ लगायतका प्रमुख सहरमा व्यापारीले पु-याउने गरेका छन् । यस वर्ष मुस्ताङका बगैँचाबाट कृषकले ठेक्कामा व्यापारीलाई स्याउ बिक्री गर्दा रु ७० देखि ८० प्रतिकिलो थोक मूल्य परेको छ । जिल्लाको मार्फा, टुकुचे, जोमसोम, कागबेनीलगायतका गाउँमा अत्यधिक स्याउ उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया