प्रधानमन्त्रीले आङ्काजीबाट सिक्ने कि नविना लामा बाट ?

इनेप्लिज २०७३ कार्तिक ३ गते १३:२५ मा प्रकाशित

image1

देशका दुई तिहाई बढि मान्छेले धुम धाम दशैँ मनाए । यिनै चाड पर्व हुन् बेलायतका प्रधानमंत्री, अमेरिकाका राष्ट्रपतिले शुभकामना दिए, पूजामा सरीक भए । अझ यसपालि त नेपालका लागि अमेरिकी राजदूत टेप्लिजले त दशैँको टीका समेत थापिन् , कैयौँ क्रिश्चियनहरुले समेत दशैँ धुमधाम मनाए । पोखरामा त एक अमेरिकी जोडीले हिन्दु परम्पराबाट बिधिवत बिवाह समेत गरे ।

हेर्ने र सुन्नेहरु दंग परे । नेपाली भएकोमा गौरव गरे ।

अर्को तर्फ देशका प्यारा प्रधानमंत्री, राष्ट्रको अभिभावक, हजारौँ नेता र कार्यकर्ताका प्रेरणाका श्रोत, लोकतन्त्रका महान हस्ती प्रधानमन्त्री प्रचण्डले यसपालि पनि टीका लगाएनन् । उनको यो छलांगले एउटा सानो हिस्सा खुशी भयो होला धेरै जनता कार्यकर्ता खुशी भएनन् । म पनि खुशी भईन ।

हो ! हजुर थाहा छ देश धर्मनिरपेक्ष छ, राज्यको कुनै धर्म हुँदैन त्यसैले राज्यले कुनै धर्मलाई भेदभाव गर्नु हुँदैन ।

यहि राजनीति भित्र आफ्नो प्रतिभा र दृढ़ता लिएर निर्वाचनमा होमिई हट्टाकट्टा बाहुन प्रतिस्पर्धीलाई उछिन्दै बिजयमाला प्राप्त गरेकी तामांगकी छोरी नविना लामाले एमाले पार्टी अध्यक्ष के. पी. ओलीको हातको टीका थापेको कुराले ठूलै खैलाबैला मच्चियो: बिशेष गरि उनकै समुदायबाट आलोचनाको बर्षा भयो । धेरैले बिरोध गरे । कसैकसैले त नवीनाले धर्म बेची, जात बेची सम्म भन्न भ्याए । प्रचण्डले टीका नलगाएको भन्दा नविनाले टीका लगाएको कुरा बढि चर्चित भयो ।

फेरि देख्ने सुन्नेहरु निराश भए । बढ्दै गएको जातीय उन्माद प्रति खेद प्रकट गरे ।

यो खबर कुनै बिदेशीले नसुनोस, नपढोस भनेर म दुर्गा माता संग प्रार्थना गर्दछु ।

म हाम्रै प्रधानमंत्रीकै सेरोफेरोमा सन्दर्भ जोड्न चाहन्छु : भित्री मनले जे सुकै गरून्,प्रधानमन्त्रीले यति धेरै मान्छेले मनाउने चाड दशैँमा पनि अरुले जस्तै सहानुभूति राखिदिएर टीका थापे के बिग्रन्थ्यो र ? यसै पनि उनी हिन्दू धर्मका धेरै संस्कार टेकेरै यहाँ सम्म आएकै होलान् । उनको आफ्नै चाड मनाउँदा अरु संग किन हिचकिचाउनु परेको होला ? एउटी तामांगकी छोरीले मनाउने दशैँ प्रचण्ड आफैले नमनाएर के सन्देश दिन चाहेका हुन्: धेरै मान्छे जान्न चाहन्छन ।

कतै प्रचण्डज्यूले सुटुक्क धर्म परिवर्तन त गरेका होईनन् ?

कम्यूनिष्टहरु धर्म मान्दैनन् भन्थे: तर मन पर्दा अरुको धर्म मान्न बाह्र हात उफ्रेर जाने तर आफ्नै चाड मनाउन नाक चेप्राउने यो के प्रबृर्ति होला? फेरि अरु नेता कार्यकर्ताले धुमधाम मनाउने कस्तो खालको कम्यूनिज्म होला ?

धर्म चाहिँ मान्दिन भन्ने तर अरिष्टताको शान्तिको लागि भैँसी पूजा गरेको, गाई दान गरेको र बाबा रामदेवको हातबाट रातो टीका लगाएको लगायत धेरै कर्महरु गर्दा कुन धर्मको हैसियतमा गरे होलान ?

यिनै प्रधानमंत्री हुन: जो ब्रिक्स सम्मेलनमा ताँईँ न तुईँको पोशाक लगाउँछन(स्मरण रहोस सबै जसोले आफ्नो पहिचानयुक्त पोशाक लगाएका थिए), आफ्नै समुदायले मनाउने चाड दशैँ मनाउँन नसक्नेले ब्रिस्क सम्मेलनमा बुद्द र पशुपतिनाथ भजाएर सहयोगको याचना कुन मुखले गर्न सकेको होला ?

त्यसो त हिजो मन्दिर र मूर्ति तोडेर धर्मलाई अफ़ीम भन्नेहरु आज प्रायश्चित स्वरुप रुद्राक्ष गनेर मन्त्र जपिरहेकै छन् । ठिकै छ उनीहरुले प्रायश्चित्त गर्न पाउनुपर्छ ।

प्रसंग जनजाति आन्दोलन र बाहुनवादी राज्य सत्ताको जोड्न चाहन्छु: भोट राजनीतिको लागि सबै दोष बाहुन क्षेत्रीलाई लगाएर आफै कार्यकारी प्रमुख हुने र जनता लडाएर सि. के राउत र आङ्काजीहरुलाई हौसला दिनु कुन अग्रगमनको सिद्धान्त भित्र पर्छ कुन्नि ? नेता चाहिँ सर्वहाराको जीवनशैली चाहिँ महाराजाको हुनु कम्युनिस्ट सिद्धान्त भित्र पक्कै पर्दैन होला ।

उनै प्रधानमन्त्री हुन् जो हिजो मुस्लिमहरुको कार्यक्रममा जाँदा मुस्लिम पहिरन गरे, तामांगकोमा जाँदा तामांग, गुरुंगकोमा जाँदा गुरुंग र थारु कहाँ जाँदा थारु पहिरनमा सजिए । कसैले चुँक्क बिरोध गरेनन्, सबैले राम्रै माने । अहा ! यस्तो पो समावेशीता !

तर आफ्नै समुदायको चाड दशैँलाई निरन्तर बहिष्कार गरेर क्रान्तिकारी होईन भ्रान्तिकारी मात्र देखिएका छन प्रचण्ड ज्यू ।

अचेल चौतारोमा बहस चलिरहेको छ : हिजो दशैँमा टीका नलगाउने बाहुन प्रचण्ड र तामांगकी छोरी भएर दशैँको टीका थाप्ने नवीना लामा मध्ये कसको उचाई बढ्यो होला ? अरुकै चाडवाड सम्म मनाउने प्रगतिशील प्रधानमन्त्रीलाई आफ्नै चाड मनाउन यति साह्रो हिचकिचाउनु किन पर्थ्यो र ? त्यसै गरि अर्को थरि मान्छेहरु भनिरहेका छन्: प्रचण्डले आफ्ना मतदाता घटाए आदि आदि …

फेरि पनि स्विकार गर्छु: सबैलाई टीका लगाउने र नलगाउने छुट छ, साधारण मान्छेलाई त फरक नपार्ला तर देश हाँक्ने मान्छेले यसरी ठूलो हिस्सा ओगटेका मान्छेको चाडवाड नमनाउँदा घाटा आफैलाई हुन्छ । तामांगकी छोरी नविनाले समाजमा सकारात्मक तरंग ल्याउन दशैँको टीका लगाईन्, उनले न धर्म बेचेकी हुन् न त कसैको डर धम्कीमा परेर लगाएकी हुन। उनले हिम्मतका साथ देशको प्रधानमन्त्री बन्ने प्रतिज्ञा गर्दा न त कसैसंग आरक्षण मागेकी छिन् न त कसैको आशिर्वाद । त्यसैले उनको भविष्य उज्ज्वल छ ।

जनै धारण गरेर ब्यक्तिगत रुपमा म धेरैपटक चर्च गएको छु, बौद्द गुम्बा त मेरा लागि मन्दिर जस्तै हो, म बूढा सुब्बा मात्र हैन, गुरुद्वारा पनि धेरैपटक गएको छु, मश्जिदमा समेत म धेरै पटक पुगेको छु । मेरा मुसलमान साथीहरुलाई असलम वालेकुम भनेर उनीहरुले भन्दा पहिले मैले भनेर अभिवादन गर्छु : भन्नुस मैले कसरी धर्म बेचेँ ? नविनाले कसरी धर्म बेचिन् ?

राजनीतिमा कुनै एउटा समुदायलाई काखी च्याँपेर अघि बढ्न सकिदैन, अघि बढ्न त सबैको गाथ र साथ चाहिन्छ । एउटा ठूलो हिस्सालाई बेखुशी बनाएर राजनीतिमा सफल हुन सकिन्न भन्ने कलिलै उमेरकी नवीनाले बुझिन्, पाका प्रचण्डले बुझेनन् ।

नविनाले देश तथा धर्म बुझेकी छिन्, त्यसैले उनले भोलि धर्म नै परिवर्तन गरेर हिन्दु बनेपनि कसैको टाउको दुखाई हुनुहुन्न । रोक्न त तिनलाई जरुरी छ जो करकाप र बाध्यताले धर्म परिवर्तन गरेका छन् । भोलि नवीनालाई ल्होसार नमनाउन कसैले जवर्जस्ती गर्यो भने बल्ल भन्न सकिएला नवीनाले धर्म बेचिन् भनेर ।

एउटाको पहिचान बचाउन अर्कोको पहिचान माथि धावा बोल्ने हो भने त्यसको परिणाम युद्द बाहेक केहि हुँदैन। पहिचानको लागि अरुलाई दुत्कारेर होईन सत्कारे मात्र गन्तब्यमा पुग्न सकिन्छ भन्ने कुरो आङ्काजीहरुले त बुझेनन् बुझेनन्, प्रचण्ड जस्ता दूरदर्शी नेताले समेत बुझेनन् । भोलि कुनै एक जाति बिशेषको भोटले मात्र अघि बढ्न सकिन्न भन्ने कुरा आङ्काजीहरुले नबुझे पनि नवीना लामा जस्ता संभावना बोकेका हस्तीहरुले बुझेछन् , बरु हाम्रा प्रिय प्रधानमन्त्रीले पनि नविनाबाटै यो समदृष्टि र सहिष्णुता सिके हुन्थ्यो नि !

राम्रो कुरा सानो ठूलो जो संग बाट सिके पनि हुन्छ हैन र ?
(यो लेखकको नीजि बिचार हो)

प्रतिक्रिया