सास रहुन्जेल सहयोग गर्न तत्परता देखाउन आवस्यक – प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ कार्तिक ३ गते २:५९ मा प्रकाशित
image1
हामी जो कोहीलाई थाहाँ छ गरिव र साहारा विहिन भएर बाँच्नु जस्तो पीडादायक जीवन अरु केही हुँदैन । देश भित्रै यस्तो अवस्था हुँदा कम्तीमा खान नपाई, उपचारनै नपाई ज्यानै अकालमा गएपनि कम्तीमा जन्मेकै माटोमा देहत्याग हुनेछ भनेर एक हिसावले मन बुझाउन सकिएला तर प्रदेशको अन्जान ठाउँमा यस्तो अवस्था भएमा एकसरो मन बुझाउन पनि नसकिने हुन्छ । त्यसमा पनि प्रदेशमा परिवारको साथ विहिन अवस्थामा लाखौ ऋणको भारि बोकेर परिवारको सपना साहाकार पार्ने आशाले रातदिन मरिमेटेर काम गरिरहेको बेलामा अचानक खतरनाक रोगले ग्रसित बनेर आर्थिक अभावको कारण उपचार गर्न बाधा व्यवधान आईपर्दा कस्तो अवस्था गुज्रिन्छ होला ? एकपटक हामी सबैले सोचौ त !
अहिले उठाउन खोजिएको प्रसंग कुनै उपन्यास र कथाका लागी उठाउन खोजिएको काल्पनिक प्रसंग होईन । यो त यथार्थ कसैको जीवनमा घटेको घटना हो जसको बारे दुई चार शव्द भुमिका बाँधेर उल्लेख गर्न खोजिएको मात्र हो । अव जाउ मुख्य विषयवस्तु तर्फ –
वास्तवमा यो विषयवस्तु पटक पटक अनलाईन मिडिया र सामाजिक संजालमा आईरहेको पनि थियो र आउँदै गरेको पनि छ । विगत केही समय देखि दुवै मृगौला फेलिएर भएर मृगौला प्रतिस्थापनको पर्खाईमा रहेका गोरखा कट्टेल डाँडा-७ का ३७ बर्षिय मनोज कट्टेल( विगत ५ बर्ष देखि मेरिल्याण्ड, बाल्टिमोरमा बस्दै आएका ) निकै आर्थिक एवं सामाजिक सहयोगको अभावमा अत्यान्तै नाजुक दैनिकी गुजारा गर्न बाध्य रहेका छन् । एकातर्फ स्वास्थ्य विमा छैन भने अर्को तर्फ साहारा दिने व्यक्तीहरु पनि छैनन्, उनको नजिकको भन्नु नै सम्पुर्ण नेपाली समुदाय हो । नजिकको ठानिएको नेपाली समुदाय र नेपाली समुदायका सामाजिक संघसंस्थाहरु, व्यवसायी, उद्यमी, समाजका चल्ताफुर्ता भनेर आफुलाई परिचित गराउन रुचाउने व्यक्तीहरुले समेत उनलाई आवस्यक साथ र सहयोग दिन निकै कन्ज्युसाई गरिरहेको देखिन्छ । यसको बारेमा यो पंक्तिकार बोल्नु भन्दा पनि प्रमाणहरु बोलिरहेका छन् ।
केही व्यक्तीको बारम्बारको ध्यानाकर्षणमा हातेमालो गर्दै मेरिल्याण्डमा रहेको प्रचलित पुरानो संस्था BANA ले मनोज कट्टेलका उपचारार्थ एवं दैनिक गुजारा चलाउन सहयोग गर्नको लागी अपिल गर्दै Go Fund Me एकाउण्ट खोलेको छ । करिव १ महिना पहिला खोलिएको यस एकाउण्टमा हालसम्म अत्यान्तै न्युन व्यक्तीहरुको सहयोग उठेको छ अर्थात् यो आलेख लेखिरहँदा $११५१ ( एक हजार एक सय एकाउन्न डलर ) जम्मा भएको देखिन्छ । त्यसो त यस संस्थाले Go Fund Me बाट करिव २० हजार डलर उठाउने लक्ष्य राखेको देखिन्छ । यतिका रकम त वास्तवमै मेरिल्याण्ड बस्ने हरेक नेपालीले मात्र १ डलर सहयोग गरेपनि उठ्न सकिने देखिन्छ किनकी मेरिल्याण्डमा करिव २० हजार भन्दा बढि नेपालीहरु बसोबास गरिरहेको अनुमान गरिन्छ ।
यसो त मेरिल्याण्डकै मात्रै जिम्मेवारी भन्दा पनि सम्पुर्ण अमेरिकामा बस्ने र अन्य देशमा बस्नेहरुको पनि समान दायित्व हो की एउटा नेपालीलाई आपतविपत पर्दा अन्य नेपालीहरुले पनि एकसाथ जुटेर सहयोग गर्नु पर्छ । हुनत यस्ता विभिन्न समस्या विदेशमा बस्ने नेपालीहरुलाई आईपर्दा नेपालीहरुकै आपसी सहयोगबाट लाखौ रकम १-२ हप्तामै उठाएर संकट समाधान गरेका धेरै उदाहरण छन् । खाडी मुलुकमा विदेशी नागरिकलाई ज्यान मारेको अभियोगमा मृत्युदण्ड दिन थालिएका नेपाली व्यक्तीहरुलाई ” ब्लड मनी” जुटाउन सबैले साथ दिएको पनि हामीले नदेखेको, नसुनेको होईन । तर अमेरिका जस्तो यतिका धेरै नेपालीहरु बसोबास गर्ने ठाउँ र जहाँ खाडी मुलुकमा भन्दा तुलनात्मकरुपमा राम्रो कमाई र आर्थिक हैसियत बनाएका व्यक्तीहरु एवं करिव ७०० को हाराहारीमा रहेका साना ठुला सामाजिक संघसंस्थाहरु( नेपाली समुदायको ) हुँदा समेत यतिका समय साथ र सहयोगको लागी अपिल गरिरहदाँ समेत एकदमै थोरै रकम उठ्नुका साथै विभिन्न संघसंस्थाहरुले कानमा तेल हालेर बसेको देख्दा भने अचम्मित भईएको छ ।
 त्यसो त दिनप्रतिदिन अमेरिकामा नेपालीहरुको जनसंख्या बढ्दै गएको छ तसर्थ पनि स्वाभाविक रुपमा विभिन्न दुर्घटना र रोगका कारण फाटफुट मृत्यु हुनेहरुको संख्या पनि बढ्दै गएको छ । त्यसमा पनि मृत्यु पश्चात दाहसंस्कार गर्न समस्या परेकाहरुको लागी आर्थिक सहयोग उठाउन आव्हान गर्दै खोलिएका यस्तै Go Fund Me एकाउण्टमा एक दुई दिनमै आवस्यक रकम उठेको देखिन्छ । भर्खरै न्युयोर्कमा मृत्यु भएका नेपाली हुन् या टेक्सासमा केही महिना पहिला कार दुर्घटनामा ज्यान गुमाएका नेपाली विद्यार्थी हुन् यिनीहरुलाई आवस्यक रकम सजिलै उठेको देखिन्छ । यसरी हेर्दा पनि नेपाली समुदाय ” सास छउन्जेल” मतलव नगर्ने र सास सकिएपछि लाजैकाजै अन्तिम दाहसंस्कार गर्न २-४ डलर भएपनि दान दिने संस्कारको विकास भएको हो की भन्ने आशंका गर्ने प्रशस्त ठाउँ देखियो ।
यस्तो आरोप यसै निराधार लगाईएको पनि हैन किनकी यो मनोज कट्टेल भाईलाई सहयोगको लागी पटक पटक विभिन्न सामाजिक संघसंस्थाहरुलाई अपिल विभिन्न तरिकाबाट व्यक्तीगत एवं सामाजिक संजाल मार्फत पनि हुने गरेको पाईन्छ । त्यसो त यो पंक्तिकारले समेत आफनो फेसवुक पेज, आफैले संचालन गरेको गुरुप र अन्य एनआरएन अमेरिका लगायतका पेज, गुरुपमा समेत सहयोगको लागी अपिल गर्दै समाचार सेयर गर्दै आएको छ । यसो त ” मेरिल्याण्डको हामी नेपाली” पेजले समेत पटक पटक सबैको ध्यानाकर्षण गर्दै आएको पाईन्छ तर विडम्वना मान्नु पर्छ यस्ता अपिलहरुलाई कुनै संघसंस्थाहरु र सामाजिक अभियान्ताहरुको नाममा आफुलाई दर्ज गराउनेहरु पनि बेखवर रहेको शैलीमा प्रस्तुत भएका छन् । अव यस्तै शैलीमा नेपाली समाज अमेरिकामा अगाडी बढ्ने हो भने किन सामाजिक संघसंस्थाहरु, विभिन्न सम्पर्क समितीहरुको आवस्यकता चाहियो ? यस बारे बहस हुनु जरुरी छ र “नेपालीको लागी नेपाली” नारा बोकेर हिडेको एनआरएन एनसीसी अमेरिका लगायत सबै पक्षले गम्भिर ढंगबाट सोच्नु जरुरी छ । अझै हरेक सामाजिक संघसंस्थाहरुले आकस्मिक कोषको व्यवस्था समयमै गरेर यस्ता विपतमा परेकालाई सहयोग गर्ने र आवस्यक पर्दा सहयोग जुटाउन साथ र सहयोग माग्ने र दिने व्यवस्थाको थालनी हुनुपर्छ । त्यस्तै यस्ता आपत विपतमा पर्नेहरुलाई सघाउने विदेशमा रहेका सम्बन्धित देशका सरकारी एवं सामाजिक संघसंस्थाहरु सम्म पुग्ने माध्यम बनि दिएर नेपाली संघसंस्थाहरुले काम गर्नु पर्ने पनि हुन्छ ।
अत: मनोज कट्टेल भाईलाई परेको आपतविपतमा सबैले सहयोग गरेर उनको ज्यान जोगाउन साथ र सहयोगको अपिल गर्दै उनलाई आर्थिक सहयोग गर्न देहायको Go Fund Me लिंकको प्रयोग गर्नु हुन हार्दिक अनुरोध छ । https://www.gofundme.com/2r24f5qk
यस फण्ड मार्फत सहयोग प्राप्त हुन आउने सम्पुर्ण विवरण BANA को Website र फेसवुक पेजमा स्पस्ट राखिने पनि जानकारी पाईएको छ ।
                                     बाल्टिमोर मेरिल्याण्ड, अमेरिका

प्रतिक्रिया