कविता रारा : यात्रा संस्मरण
इनेप्लिज
२०७३ कार्तिक १ गते १२:५१ मा प्रकाशित
यतै छोडेर मेरो संसार
म उसतर्फ बढ्दै थिएँ ..
विशाल क्षेत्रफलमा अडिग- मेरी प्यारी रारा तिर
यस्तो लाग्यो:
मेरो पृथ्वीनारायणले जस्तै
प्रकृतिले एकीकरण गर्दैछ त्यहाँ ।
एक सुन्दर खाेचमा लुकेको कोहिनूर
ऊ पृथ्वीमा झर्दै गरेकी एक तारा हो,
तारा झर्दै गर्दा माग्यो भने पुग्छ रे !
त्यसैले
आँखा चिम्लेर हात जोडी केही मागेँ ।
ऊ मुस्कुराई ! म लजाएँ,
मैले वरिपरि नियाल्दै सुटुक्क भनेँ:
मेरो संसारतिर पोतिएको हरियो रङ,
तिम्रो हरियालीभन्दा निकै फिक्का छ ।
ऊ फेरि मुस्कुराई, मख्ख परी !
म हेरिरहेँ ..
हीरा बगेजस्ता पानीका सुन्दर लहरहरु,
आफैँ भन्दै थिए:
सुन्दर देखिए पनि हामी सुन्दर हैनौँ,
राराको माया जालमा परेर हो,
अचम्म भो :
भुकम्पले भत्काएको मेराे धरहराको आत्मा
मैले त्यहाँ भेटेँ !
ईतिहासलाई पस्कदैँ भविष्यतर्फ दर्शाएर ..
वर्तमान कोर्न मलाई राराले आग्रह गरी
ऊ भित्र परावर्तन भएर छापिएको उच्च आकाश जस्तै ..
सायद, मेरा संसारतिर उच्च राष्ट्रियता खाेज्दछे ऊ ,
एकछिन अलमल्ल परेँ
अनि, उसलाई मैले गर्वका साथ सुनाईदिँए -
"के तिमीलाई थाहा छ?
मैले मङ्गल ग्रहमा पानी भेट्टाएँ नि !
उसले प्रतिप्रश्न गरी:
"के म मङ्गल ग्रहभन्दा टाढा छु ?
मान्छेहरु मलाई किन भेट्टाउँदैनन् त ?
म फेरि अनुत्तरित भएँ ।
सायद, ऊ एक्लो अनुभूति गरिरहन्छे ।
उसले मलाई केही भन्न खोज्दै थिई:
म पनि भन्न चाहन्थेँ
तर,
न त शब्दमा उतार्न सक्थेँ ..
यहाँका बेहाल परिस्थितिहरु ।
न त जवाफ दिन सक्थेँ ..
उसले उभ्याएका राष्ट्रियताहरु ।
म साच्चिकै निशब्द भएँ,
अनि फर्किएँ
छोडेर मेरी रारा...
चुपचाप .. चुपचाप
मस्तिष्कभरि निर्दोष रारा बाेकेर ... ।।
(हाल: काठमाडौं )
स्थायी ठेगाना : कावासोती, नवलपरासी





प्रतिक्रिया