अन्तर्राष्ट्रिय सनातन वैदिक आर्य महासम्मेलन नेपालमा हुने

इनेप्लिज २०७३ असोज ३० गते १३:१० मा प्रकाशित

hindu-symbols-_om_jpgकाठमाडौँ, ३० असोज । नेपाल आर्य समाजको आयोजनामा अन्तर्राष्ट्रिय सनातन वैदिक आर्य महासम्मेलन कात्तिक ४, ५ र ६ गते टुँडिखेलमा हुने भएको छ ।

महासम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने आयोजक समितिका सहसंयोजक जनार्दन घिमिरेले राससलाई जानकारी दिनुभयो । सम्मेलनमा अमेरिका, अस्ट्रेलिया, भारत र नेपालका गरी आठ हजार ५०० व्यक्तिको सहभागिता हुनेछ ।

महासम्मेलनका तीनै दिन बिहान ५ देखि ६ बजेसम्म योग शिविर सञ्चालन गरिनेछ । कात्तिक ४ गते बिहान ६ बजेदेखि सहिदगेट–त्रिपुरेश्वर–सहिद शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकुस्थित रुख–झोँछे–असन–इन्द्रचोक–भोटाहिटी हुँदै टुँडिखेलसम्म शोभायात्रा हुनेछ । शोभायात्रापछि वैदिक यज्ञ गरी महासम्मेलनको उद्घाटनको कार्यक्रम तय गरिएको छ ।

महासम्मेलनका क्रममा आठवटा छुट्टै सम्मेलनसमेत आयोजना गरिएको समिति संयोजक सहप्राध्यापक डा माधवप्रसाद उपाध्यायले बताउनुभयो ।

कात्तिक ५ र ६ गते भने बिहान ७ बजेदेखि वैदिक यज्ञ हुनेछ । महासम्मेलनको वैदिक यज्ञमा कन्याले चार वेदका छानिएका वैदिक मन्त्र पाठ गर्ने कार्यक्रम छ ।

महासम्मेलनको समापन कात्तिक ६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया