एकै दिन पैँतालिस कार्यालयबाट सूचना माग

इनेप्लिज २०७३ असोज १२ गते ९:०९ मा प्रकाशित

काठमाडौँ, १२ असोज । पच्चिसौैँ अन्तर्राष्ट्रिय सूचना अधिकार दिवसका अवसरमा ४५ कार्यालयबाट सूचना माग गरिएको छ ।
सूचनाको क्षेत्रमा लामो समय काम गरेको संस्था फ्रिडम फोरमको अगुवाइमा आज काठमाडौँका ४५ कार्यालयबाट सूचना माग गरिएको हो ।

फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल र सूचनाको हकका अभियान्ता कुमार चौलागाईंले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, अर्थ, सहरी विकास, रक्षा, भौतिक पूर्वाधार तथा यातायातलगायत ३० मन्त्रालयबाट सूचना माग गर्नुभयो ।

यस्तै त्रिभुवन विश्वविद्यालय, नागरिक उड्डयन प्राधिकरण, नेपाल राष्ट्र बैंक, निजामती किताबखाना, सैनिक विश्वविद्यालय, व्यवस्थापिका–संसद् सचिवालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, राष्ट्रिय योजना आयोगलगायत कार्यालयबाट पनि सूचना माग गरिएको दाहालले बताउनुभयो ।

उहाँले ती मन्त्रालय तथा कार्यालयमा रहेका सवारीसाधन, तिनका अवस्था, इन्धन र खर्चको विवरण माग गरिएको जाकारी दिनुभयो । दाहालले सूचनाको हक प्रत्याभूति भएको २५ वर्ष तथा सूचनाको हकसम्बन्धी ऐन आएको १० वर्ष हुँदासम्म पनि सूचनाको हकबारे जनता अझै अनविज्ञ रहेकाले आफूले सूचना माग गरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया