केपी ओलीले संसदबाटै प्रचण्डमाथि हाने वाण (हेर्नुस् भिडियो)

इनेप्लिज २०७३ असोज ११ गते २१:०८ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपालको संविधान कार्यान्वयनका सम्बन्धमा भारतीय चाँसो र भूमिका आमन्त्रण गरेको जनाउँदै आपत्ति जनाएका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रतिपक्ष दलका नेताका हैसियतमा पहिलो सम्बोधन गर्दै उनले भारत भ्रमणबाट फर्केपछि संसद्लाई औपचारिक जानकारी नदिइएको र सार्वभौम नेपालको संविधानबारे साझा चासोका विषय झैँ अनावश्यक चासो र भूमिका आमन्त्रण गरिएको जिकिर गरे ।

‘नेपाल र भारतबीचको सम्बन्ध कहाँ बिग्रेको थियो ? के सप्रियो ? प्रधानमन्त्री हट्नु वा नयाँ प्रधानमन्त्री बन्नु सप्रनु हो ? के कुनै नाकाबन्दी थियो वा व्यवधान थियो र हट्यो कि ?’ अध्यक्ष ओलीले प्रश्न गर्दै भने, ‘के संविधानबारे भारतीय चासो बढ्नु भ्रमणको उपलब्धि हो ?’

प्रधानमन्त्री दाहालले भारतमा गएर नेपालमा फलानो फलानो भारतविरोधी भनेर कूटनीतिक मर्यादा विपरीत कुरा गरेको र प्रमुख अन्तर्राष्ट्रिय मामिलामा भारतसँग निकट सहकार्य गर्ने भन्ने संयुक्त वक्तव्यमा उल्लेख गराएर नेपालको पञ्चशीलका सिद्धान्त, पारस्परिक लाभ, असंलग्न परराष्ट्र नीति विपरीत काम गरिएको भन्दै विरोध र असहमति जनाए ।

‘अरु पनि प्रधानमन्त्री विशेष भ्रमणमा जान्छन् तर अरुले विदेशमा गएर प्रतिपक्षको धज्जी उडाउँदैनन्, मर्यादा त सोच्नुपर्ने हो ।’ ओलीले भने, ‘मेरो दल समस्या समाधानमा वार्ता र छलफल गर्न तयार छ तर सरकारका तर्फबाट यसमा गम्भीर बाधा भएको छ ।’ उहाँले नेपालको परराष्ट्र नीति भारत वा कुनै मुलुकसँग बाँधिन नमिल्ने र यसरी बाँधिने कुराले सार्वभौम राष्ट्रको भूराजनीतिमा प्रतिकूल असर पर्ने बताए ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=rpCz1jyJ0V0

 

प्रतिक्रिया