गरुडास्थित श्रीराम सुगर मिल्समा किसानहरुले तोडफोड गर्दा लाखौँको क्षति

इनेप्लिज २०७३ असोज ११ गते १५:०२ मा प्रकाशित

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्समा किसानहरुले तोडफोड गरेका छन् । उद्योगपतिले किसानहरुलाई भुक्तानी दिन तयार भए पनि उद्योगका कर्मचारीहरुले गरेको आन्दोलनको कारण भुक्तानी नहुने भएपछि किसानहरुले मंगलवार उद्योगमा तोडफोड गरेका छन् ।
बितेको दुई आर्थिक वर्ष उखु किसानहरुले उद्योगलाई बेचेको उखुको मूल्य भुक्तानी पाउन बारम्बार आन्दोलन गर्दै आएका छन् । किसानहरुले आन्दोलनकै क्रममा राजधानी काठमाडौँ पुगेर उद्योगमन्त्रीलाई गुहारेका थिए । उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा उद्योपति र उखु उत्पादक संघबीच् भुक्तानीको लागि गत हप्तामात्र सहमति भएको थियो ।
उद्योगपति र किसानबीच भुक्तानीको लागि सहमति भए पनि तलब वृद्धिको माग गर्दै उद्योगका कर्मचारीहरुले उद्योगको कुनै पनि काम नगर्ने भनी आन्दोलनमा उत्रेपछि किसानहरु आक्रोशित भएका थिए । कर्मचारीको आन्दोलनको कारण किसानहरुले दशैँअघि सहमतिअनुसारको रकम नपाउने भएपछि तोडफोडमा उत्रेका थिए ।
आक्रोशित किसानहरुले आवास क्षेत्रको बैठक तथा कार्यालयहरुको सोफा, टेबुल, कुर्सी तथा झ्याल र ढोकामा तोडफोड गरेका छन् । केही कार्यालयको कुर्सीलाई बाहिर निकालेर किसानहरुले आगजनीसमेत गरेका छन् । किसानहरुले कार्यालयमा तोडफोड र आगजनी गर्न थालेपछि इलाका प्रहरी कार्यालय गरुडा र सशस्त्र प्रहरी बेस दुधियाभारका सशस्त्र प्रहरीहरुले स्थितिलाई नियन्त्रणमा लिएका थिए । उद्योगमा करिब दुई लाख बराबरको क्षति भएको बताइन्छ ।
आक्रोशित किसानहरुले उद्योगमा भयावह अवस्थाको सिर्जना गरेपछि तलब वृद्धिको माग गर्दै आन्दोलनमा उत्रेका कर्मचारीहरु सहमतिमा आएका छन् । उद्योगमा अस्तित्वमा रहेका चारवटा मजदुर संगठनहरुले उखु उत्पादक संघसित सहमति गर्दै किसानको रकमको भुक्तानीको काम तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । उद्योगको अन्य काम नगर्ने तर किसानको भुक्तनीसित सम्बन्धित सम्पूर्ण कार्य अगाडि बढाउने सहमति भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवले बताएका छन् ।
२०७१ फागुनको रकम करिब ११ करोड बाँकी रहेको र उद्योगका कर्मचारीहरु सहमतिमा आएपछि किसानहरुले रकम पाउने आशा बढेको संघका कोषाध्यक्ष मनोज कुमार सहनीले बताएका छन् ।

प्रतिक्रिया