हामी सबैलाई थाहाँ छ अमेरिकामा नेपालीहरुको जनघनत्व दिनप्रतिदिन बढ्दै गएको छ । यसको साथसाथै अमेरिकामा नेपाली समुदायलाई आपसमा जोडेर सामाजिक काम गर्ने, आपसी समस्याहरु समाधान गर्ने, आफ्ना चाडवाड, रितीथिती मिलीजुली मनाउने, आपतविपत पर्दा सामुहिक समाधानमा जुट्ने आदी ध्येय राखेर विभिन्न सामाजिक संघ संस्थाहरु औपचारिक वा अनौपचारिकरुपमा खोलिएका छन् । यस्ता सामाजिक संस्थाहरु कतिपय भौगोलिक आधारमा, कतिपय जातीय आधारमा, कतिपय राजनैतिक गोलबन्धमा रहने आधारमा त कतिपय प्रतिस्पर्धाको भावनाबाट अभिप्रेरित भएर त्यस्तै कतिपय आपसी “ईगो” पुरा गर्न समेत खोलिएको पाईन्छ ।
जे, जसरी, जुन आधारमा यस्ता सामाजिक संघसंस्थाहरु स्थापना र संचालन भएपनि यिनीहरुबाट वास्तविक नेपाली समुदायहरु लाभान्वित हुनुपर्ने हुन्छ तर करिव ९०० भन्दा बढि संख्याको हाराहारीमा रहेका सानाठुला यस्ता संस्थाहरुले गर्ने मुलभुत काम भनेको चाडवाडमा जम्मा भएर नाँचगान गर्ने, रमाईलो गर्ने, भाषण छाँट्ने, खादा ओडाएर विभिन्न व्यक्तीलाई सम्मान गर्ने र आपसमा गफगाफ छाटेर आफ्नो व्यक्तीगत प्रचारवाजी गर्ने काममै धेरै समय खर्चेको पाईन्छ ।
यदाकदा नेपालमा प्राकृतिक प्रकोप पर्दा विभिन्न तरिकाबाट सहयोग उठाएर पठाउने र कहिलेकाही अमेकिकामै कोही अचानकरुपमा दुर्घटनामा परेर ज्यान गुमाई हाल्यो भने दुईचार पैसा संकलन गरेर दाहसंस्कार गर्न सहयोग गर्ने र नेपालबाट नेताहरु, यसो नाम चलेका मान्छे आए भने होटेल, रेष्टुरेन्ट र निजी घरमा लगेर केही व्यक्तीहरु जोडिएर खानापान गर्ने, सामुहिक फोटो खिच्ने र दुईचार शव्दहरु चिटिक्क मिलाएर फेसवुक लगायत सामाजिक संजालमा राख्ने र अनलाईन मिडियामा समाचार बनाएर पठाउने अनि मिडियामा समाचार प्रकाशित भएपछि सबैलाई ट्याग गरेर फेसवुकमा सियर गरेर प्रचारवाजी गर्ने जस्ता बढी कामहरु हुने गरेको पाईन्छ र यसैको आधारमा आफुहरु एक नम्बरको समाजसेवी हो भनेर मौका पाएको बेला मंचमा आसन/कुर्ची ओगट्ने, गलामा खादा, भाषण गर्ने वक्ताको लिस्टमा नाम र अतिथीको मर्यादाक्रम खोजेर आफ्नो हैसियतलाई उचो भएको भान सर्वसाधरण नेपालीहरुलाई दिनको लागी उद्दत भएको पाईन्छ ।
यतिभनिरहदाँ नेपालीहरुबाट संचालित सामाजिक संस्थाहरुको कुनै औचित्यनै छैन भन्न खोजिएको अर्थमा बुझ्नु गलत हुनेछ तर जे काम र जे गर्न सकिन्छ त्यो काम नेपाली समुदायमा यस्ता सामाजिक संघसंस्थाहरुबाट पक्कै भएका छैनन् र यसो हुनुमा सबै भन्दा ठुलो कमजोरी त संख्यात्मक रुपमा धेरै सामाजिक संघसंस्थाहरु खोलिनु, वास्तविक नेपालीहरुको समस्यामा ध्यान नपुर्याईनु, कसैको अस्तित्व र विचारलाई कसैले महत्व नदिनु, आफु भन्दा बाहेक अरु कोही जान्ने सुन्ने हुन्छ भन्ने तथ्यलाई आत्मसाथ नगर्नु, सामाजिक सेवाको नाम भजाएर आफु र आफ्नो व्यवसायको समृद्धीको लागी काम गर्नु, सामाजिक सेवाको आवरणमा दलाली गरेर विभिन्न चरबाट आयआर्जन गर्न खोज्नु, अनावस्यक नेपाली राजनितीक गुटवन्दीलाई भित्राउनु, सामाजिक सेवालाई दाम र आर्थिक सम्पन्नताको आधारमा मुल्यांकन गर्ने परम्पराको विकास हुनु, एउटै व्यक्तीले हरेक ठाउँमा आफ्नो स्पेस खोज्नु, समसामयिक समस्याहरुमा सहयोगी बन्न नखोज्नु, नयाँ आउने नेपालीहरुलाई आवस्यक पर्ने सुचनाहरु जस्तै काम सम्बन्धी, बसाईको व्यवस्था सम्बन्धी, बैक खाता खोल्ने सम्बन्धी, बच्चाबच्चीहरुको स्कुल भर्ना सम्बन्धी, हेल्थ ईन्सुरेन्स एवं आवास, गाडी, जीवनविमा लगायतको बारे सामान्य जानकारी दिने अाधिकारिक व्यवस्था नहुनु, रोजगारीबाट कमाई गरेर आफु स्थापित हुने चरणमा घर खरिद, व्यवसायमा लगानी लगायतका काममा अगाडी बढ्ने सन्दर्भमा आवस्यक सुचनाहरु एवं जानकारीहरुका साथै आवस्यक परामर्श तथा साथ सहयोग दिने आधार खडा गर्न नखोज्नु, कानुनी परामर्श लगायतका निकायसम्म सहजै सम्पर्क गर्न सक्ने मार्ग निर्देश गर्न पहल नहुनु, नेपाली कला, भाषा, संस्कृतीलाई संरक्षण गर्न उचित पहल गर्न नसक्नु, सबै नेपालीहरु वीच सौहार्दपूर्ण व्यवहार गर्न नसक्नु जस्ता अनेकन कमजोरीहरु छन् ।
यस्ता थुप्रै कमिकमजोरीहरुलाई सुधारेर यति विघ्न खेलिएका संस्थाहरु आपसमा मिलाएर वा मर्ज भएर केही निश्चित उद्देश्य सहित सिमित संख्यामा नेपालीहरुको बृहत्तरहित हुने गरि संस्थाहरु संचालन हुनु आवस्यक छ । खासगरि नेपालको राजनितीलाई अमेरिकामा समेत प्रदुषित पार्ने गरि विभिन्न नामका सम्पर्क समितीहरु संचालन गर्नु कुनै आवस्यकता अमेरिकामा देखिदैन । सकिन्छ भने अमेरिकी मुल राजनितीको धारमा नेपालीहरु प्रवेश गर्न संगठित हुनु आवस्यक छ हैन भने नेपालीहरु मिलेर नेपालीहरुको अमेरिकामा के कसरी आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न सकिन्छ त्यस तर्फ सोचविचार गरेर आवस्यक कार्यक्रमका साथ अघि बढ्नु पर्ने आवस्यकता छ ।
नेपालको राजनितिक आस्थाको आधारमा अमेरिका जस्तो सम्पन्न र प्रजातान्त्रिक प्रणाली भएको मुलुकमा आफ्नो नेपालको राजनैतिक हैसियत खोज्न आपसमा गलाकाटको राजनिती गर्नुको कुनै औचित्य छैन र अमेरिकामा त्यस्तो काम कानुन सम्मत पनि छैन । तसर्थ सकभर नेपालीहरुको हित हुने किसिमबाट विशुद्ध सामाजिक संस्थामा काम गरेर अगाडी बढ्नुनै सबैको लागी हितकर हुन सक्छ । नेपालबाट नेताहरु बोलाएर गन्धा भाषण गरेर सर्वसाधरण नेपालीहरुको समय र दिमाग खराब गराउने काममा लाग्नु कुनै पनि हालतमा उपयुक्त छैन यसमा वौद्धिक र स्वघोषित वरिष्ठ समाजसेवीहरुलाई ध्यान दिन अनुरोध पनि छ । अत: आगामी दिनमा औचित्य र नाममात्रको सामाजिक संघसंस्थाहरुको ठाउँमा सबैलाई समेटर काम गर्न सकिने नेपालीहरुको पहिचान र आवाजलाई समेत अमेरिकन राज्यका हरेक निकायमा राख्न सकिने हैसियतको अधिकारीक संस्थाहरु सिमित संख्यामा स्थापना र संचालनमा ध्यान दिनु जरुरी छ । साथै भईरहेका संस्थाहरु पनि आपसी साझा मुल्यमान्यताको आधारमा एकताबद्ध भएर आपसमा गाँभिएर अझै सशक्त ढंगबाट धेरै भन्दा धेरै नेपालीहरुलाई समेटर आपसी हितको लागी अगाडी बढ्न समेत आग्रह छ ।
त्यसो त अमेरिकामा एशियन मुलका नागरिकहरु पर्याप्त भएर पनि उनीहरुको सिमित सामाजिक संघसंस्थाहरुबाट आपसमा मिलेर निकै प्रभावकारी रुपमा काम गरेको पाईन्छ । ईन्डियन, पाकिस्तानी, जापानी, कोरियन, चाईनिज, अरवियन, भुटनिजहरु आदीको सिमित सामाजिक संघसंस्थाहरु छन् तर उनीहरुमा यति राम्रो सामाजिक एकता र सौभार्दपुर्ण सम्बन्धबाट काम अगाडी बढिरहेको हुन्छ त्यो सामान्य व्यक्तीले कल्पना गर्न पनि सकिदैन । कम्तीमा उनीहरुको काम गराई र संस्थाहरु संचालन प्रकृया बुझेर मात्रै नेपालीहरु अगाडी बढ्न सकेमा अमेरिकामा नेपालीको जीवन स्तर उच्च राख्न र नेपालीको पहिचान अमिरिकन लगायत अन्य विदेशीमुलका नागरिकलाई पनि अभगत गराउन निकै सजिलो पर्ने हुन्छ ।
विडम्वना मान्नै पर्छ हामी नेपालीहरुको ठाउँ परिवर्तन भयो तर सोचमा परिवर्तन भएन जसको कारण अमेरिका जस्तो ठाउँमा पनि आफ्नो व्यक्तीगत दम्भ र घमण्ड देखाउन एवं चाकडी र चाप्लुसी गर्न छोड्न सकिएन जसको फलस्वरूप माखेसाङ्लोमा अल्झिएर बसिरहनु पर्ने देखियो । अव केही सोच फराकिलो बनाएर धन, मन, शिप एवं क्षमताको आपसी संयोजनबाट सबै माथी उठ्ने प्रयत्न गर्नु आवस्यक छ । आखिर सबै मिलेर सबै सम्पन्न हुनसके अन्ततः प्रत्यक्ष वा परोक्षरुपमा नेपाललाई पनि फाईदा हुन्छ । अमेरिकामा सिकेको सिप, ज्ञान, क्षमता र पुँजीको उपयोग नेपालमा पनि हस्तान्तरण गर्न सकिन्छ तसर्थ सकारात्मक सोचको साथ सबै अगाडी बढौ ।
प्रतिक्रिया