चितवन राष्ट्रिय निकुञ्जमा संरक्षण सूचना चौतारी

इनेप्लिज २०७३ असोज ५ गते ६:२६ मा प्रकाशित

chitwan-national-parkचितवन, ५ असोज । वन्यजन्तुको संरक्षणबारे चेतना जगाउन चितवन राष्ट्रिय निकुञ्जको कसरामा संरक्षण सूचना चौतारी निर्माण गरिएको छ ।

चौतारीको मङ्गलबार निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल र निकुञ्ज सुरक्षार्थ खटिएको श्रीजङ्ग गणका गणपति प्रमुख सेनानी माधव थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । निकुञ्जको ४४औँ वार्षिकोत्सवका अवसरमा वन तथा वन्यजन्तुको संरक्षणमा आमनागरिकको सहभागिता रहोस् भन्ने उद्देश्य राखी चौतारी निर्माण गरिएको हो ।

चौतारीमा नियमित रुपमा निकुञ्ज तथा वन्यजन्तु संरक्षणका विषयमा तयार पारिएका वृत्तचित्र प्रदर्शनी गरिने छ । त्यस्तै, अध्ययनका लागि पर्चा, पम्प्लेट, ब्रोसर तथा किताब राखिनेसमेत निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो ।

आकर्षक रुपमा तयार पारिएको चौतारीमा रहेको सेतो बोर्डमा संरक्षणप्रति प्रतिबद्धता व्यक्त गर्न हस्ताक्षर गर्न सक्ने व्यवस्था पनि मिलाइएको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिनुभयो । सोही अवसरमा निकुञ्जको गस्तीलाई थप प्रभावकारी बनाउन निकुञ्ज प्रशासनका तर्फबाट निकुञ्जको सुरक्षार्थ रहेको श्रीजङ्ग गणलाई २५ थान साइकल हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा चौतारी निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने नेपाली सेनाका सातजनालाई सम्मान पनि गरिएको थियो । त्यसैगरी निकुञ्जका पूर्वकर्मचारी हस्तबहादुर गुरुङ र गैँडाको भाँचिएको खाग फेला पारेर बुझाउने नारायणी नगरपालिकाका राजु चौधरी र जितबहादुर गुरुङलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया