पत्रकारको चिरफार: मलाई ती निष्ठावान पत्रकारको श्राप नलागोस!

इनेप्लिज २०७३ भदौ २७ गते २१:४० मा प्रकाशित

unnamed

प्रसिद्ध लेखक आलन वार्थले भनेका छन्: “पत्रकारहरु नै ईतिहाँसको एकमात्र खेस्रा लेखक हुन।” सुन्दै गौरव लाग्ने यो भनाई मनन गर्दा हामी ईतिहाँसको खेस्रा लेख्ने पत्रकार आफै निष्ठावान र स्वतन्त्र हुन सकेनौँ भने हाम्रा सन्ततिले पढ्ने र गौरव गर्ने हाम्रै ईतिहाँस कस्तो होला?त्यसैले समाजको एेना बनेका पत्रकारले आफ्नो एेना पनि समाजलाई देखाउनुपर्छ भन्ने अडानमा छु म।

केहि दिन अगाडि वरिष्ठ पत्रकार प्रतीक प्रधानले बाह्रखरीमा ” http://baahrakhari.com/news-details/5147/2016-09-08 भनेर बडो सटीक शिर्षकमा पत्रकारिताका केहि दुर्बल पक्षहरु उजागर गरिदिँदा आम मान्छेहरुलाई पत्रकारका कालो मैलो कामको बारेमा जानकारी भयो। प्रतीकजीले बडो राम्रो बिषयको उठान त गर्नु भो तर त्यो बिषय उठान क्लाईमेक्समै पुग्न नपाई अधुरै रहेको महशुस भयो मलाई। म २०५६ तिर शौखको रुपमा पत्रकारितामा लागेको तथा यसै बिषय अध्ययन गरेको र पत्रकारका गतिविधि नजिकबाट नियालेकोले यसमा केहि कुरा थपौँ कि भन्ने लागेकोले उहाँकै पदचाप पछ्याएर अघि बढ्ने कोशिस गरेको छु।

मलाई ती अब्बल,निष्ठावान र स्वतन्त्र पत्रकारहरुको श्राप नलागोस जो अपवादको रुपमा छन्, जसले अहिले सम्म आफ्नो गतिलो बास बनाउन सकेका छैनन्। काठमांडौको परिप्रेक्ष्यमा पौडी पोखरीको सेरोफेरोमा घुमिरहेको पत्रकारहरुको हर्कत मोफसलमा भने बिभिन्न सरकारी ग़ैरसरकारी कार्यालय धाउने र रिपोर्टिंगको नाममा खाम हात पार्नु पनि हो। अझ मौसमी बेमौसमी बिज्ञापनको बील बोकेर ती कार्यालयका हाकिमको कार्यकक्षमा बेला बेलामा झुम्मिएको,थर्काएको र चाकडी गरेको यी आँखाले देखेकै हो।

अहिले ठ्याक्कै कस्तो छ मैले तथ्यांकगत रुपमा तोकेर भन्न त सक्दिन तर दलका झण्डामूनि बसेर दलकै भजन गाउने पत्रकार, ग़ैरसरकारी संस्थाको खर्चमा प्रायोजित मनगढन्ते बिकासे खबर छापेर खाम प्राप्त गर्ने पत्रकार, ब्यावसायिक घरानाका घटीया उत्पादनमा गुणस्तरका फरिया लगाईदिएर बढ़िया बनाएर लेखिदिने पत्रकार, त्यसै गरि जात,धर्म र सम्प्रदायको बदख्वाईँ गरेर चर्चा बटुल्न खोज्ने पत्रकारहरुको बारेमा प्रतीकजी बोल्न चुक्नु भएकै हो।

त्यसैगरि शक्तिकेन्द्रको सत्तों श्राप गरेर अन्त्यमा ठूलो खाम पाएर तीनैलाई नोबेल पुरस्कार दिईनुपर्छ भन्ने छेपारे पत्रकार, तथा योग्यता बिना कसैको आशिर्वादले पत्रिका बेच्दै गर्दा एउटा दुईटा समाचार लेखेर परिचय पत्र बनाई बनेका पत्रकार, जुन सरकार आउछ,त्यसैका नेताहरुको अभूतपूर्व चाकडी गरेर टिकेका पत्रकार क्लबहरु,पश्चिमाहरुको डलर लिएर नेपाली कलर(रंग) को बिभाजन गर्ने पत्रकारको बारेमा प्रतीकजी बोल्न छुटाउनु भएकै हो।

पत्रकारिताले साख गुमाउनुमा पत्रकार मात्र दोषी कसरी हुन्थे? कसैको जुठो खाएपछि त्यसको गुन त तिर्नै पर्यो। अझ सित्तैमा हाकिमहरु संग भट्टीमा भट्भटाएको र भोलिपल्ट उनैका प्रशंसाका शब्दजाल हरु बिछ्याएर तारिफ गरेका कुरा पनि प्रतिकजीले छुटाउनु भएको हो। अमेरिकामा भर्खरै मच्चिएको भात काण्ड पनि त्यस्तै लगामहीन र स्तरहीन पत्रकारिताका कारणले उब्जिएको हो भन्ने कुरामा दुईमत छैन। पत्रकारिता नबुझ्ने मान्छे र पत्रकारिताको धर्म निभाउन नसक्ने केहि पत्रकारले आफ्नै पेशाको लाज राख्न नसक्नुले पत्रकारहरु सित्तैमा खाने,धेरै खाने समूहको रुपमा बिकसित भएको तथ्य मनन गर्नै पर्छ।

पत्रकारिताको भर्जिनिटी नष्ट हुनुमा अरुको भन्दा हामी पत्रकारकै दोष बढि छ। आज पत्रकार भनेर चिनाउँदा लाज लाग्ने अवस्था आउनुमा पत्रकार क्षेत्रमा हुल्लडहरुको बिगबिगी भएर हो भनेर लेख्न किन डराउने?

मेरा एक सहपाठी मित्र छन्: नाम तोकेर म भन्दिन तर उनको शैक्षिक योग्यता एस. एल. सी. भन्दा माथिको होईन, जिल्लामा अमुक दलमा आवद्द हुँदा हुँदै उनी अमुक दलकै पत्रिका(मुखपत्र?) मा संवाददाताको रुपमा काम गरे,समाचार लेख्न सम्म नजानेर अरुले लेखेको समाचारको ठ्याक्कै नक्कल गरि लेख्थे, जिल्ला बिकास समिति, नगरपालिका र भन्सार कार्यालयमा बेला बेलामा पुग्थे, यहाँ सम्म कि बसमा समेत पत्रकारको कार्ड देखाएरै सित्तैमा यात्रा गर्न पछि पर्दैनथे। पछि दल सम्बद्ध पत्रकारको नेता हुँदै अहिले माथि पुगेका छन्। अहिले पनि उनको लेख्ने शैली सुध्रेको छैन तर उनी वरिष्ठ पत्रकार भैसकेका छन्। दलको चश्मा लगाएर गरेको पत्रकारिताबाट के आश गर्न सकिन्छ र?

अझ उनका बारेमा लेख्नै बाँकी छ: जिल्लामा चाकडी राम्रै गरेपछि काठमांडौ जान समेत प्लेनको टिकट माग्न नहिच्किचाउने उनको हर्कत देखेपछि उद्योगी र ब्यापारीहरु समेत भेट्न हिच्किचाउँथे। अहिले पनि उनको हर्कत जारी नै छ।

सित्तैमा आफू तथा आफ्नो परिवारलाई पौडी पोखरीमा तैराउने र सिनेमा हलमा छिराउने त गौण कुरा हुन्,जति सत्यलाई बंग्याएर समाजमा भ्रम छर्ने पत्रकारहरु सकृय छन्। मानौ समाज र सरकारका आकर्षक निकायका उनीहरु दुहुना गाई हुन, कहिले दाना खाएको खुशीमा लेख्छन् कहिले खान नपाएको झोकमा लेख्छन्, कहिले दलको हनुमान बनेर लेख्छन, कहिले टाट बनेर लेख्छन्।(फेरि पनि क्षमा माग्छु जो स्वतन्त्र पत्रकारिता गर्छन, मलाई तिनीहरुको श्राप नलागोस)अझ पत्रकारिताको धर्म र आचारसंहिता नबुझेका,बिभिन्न शक्तिकेन्द्रको चाकडी गरेरै पत्रकार भएकाहरुको बारेमा पनि प्रतीकजी बोल्न हिचकिचाउनु भएकै हो।

अझ अहिले त अन लाईन मिडियाको जमाना चलेको छ, कुनै घटना परिघटनाको दश पन्ध्र मिनेटमै संसारभरि पुग्ने,कतिपय बेला गम्भिर कुराहरु पनि हचुवाको भरमा लेखेर, समाचारको सारलाई दवाएर झूठो शिर्षक राखेर पाठकलाई क्लिक गर्न लगाउने र भ्यु कै आधारमा जीँउ पाल्ने खुराफाती पत्रकारको बारेमा पनि प्रतीकजी बोल्न भ्याउनु भएन वा चाहनु भएन। दलका मुखपत्र बनेर अस्तित्व धानिरहेका हुल्लड पत्रकारहरुको बारेमा पनि प्रतीकजी मौन हुनुभएकै हो,शायद आफ्नै साथी भाइको पूरै नांगेझार त भो नगरौँ भनेर सबै कुरा खुलाउन नचाहनु भएको पो हो कि?(आशंका)

तर एउटा कुरा के हो भने पत्रकार समाजका एेना हुन र हुनुपर्छ, आफ्नै वरपर घटेका साना घटनाहरुले बाहिर घटेका ठूला घटनाले भन्दा बढि महत्व राखेका हुन्छन, कतिपय अवस्थामा चुनौतिको पहाड चढेर समाचार या बिचारको प्रक्षेपण गर्नुपर्ने नै हुन्छ। त्यस्तो महान काम गर्ने सबै पत्रकार पूरै आलोचनाको पात्र कसरी हुन्थे र? ती कर्मठ र निष्ठावान पत्रकारको जय होस् जसले सत्य र तथ्यगत समाचार बाहिर ल्याएर समाज परिवर्तनमा बेजोड भूमिका निभाईरहेका छन्।

हो, लुमझडी पत्रकार मात्र भएर परिवार त के आफ्नै ज्यान सम्म पाल्न गाह्रो छ, कुनै एउटा दलको पुच्छर बनेन भने पनि अघि बढ्न नसकिने अवस्था छ तर परिवार र ज्यान पाल्न स्वाभिमान बेच्दै जाने हो भने जनताले प्राप्त गर्ने सूचनाको वैधानिकता हराउने छ।

पत्रकारले जहाँ जे पनि सित्तैमा प्राप्त गर्न खोज्नुमा सम्बन्धित मिडियाको झिनो तलब र सरकारी नीति कमजोर हुनु पनि हो। मन लागेको लेख्ने र हुँदै नभएको लेख्ने होडबाजीमा पत्रकारहरु लागि पर्नु बिडम्वना बाहेक केहि होईन, पत्रकारको निश्चित योग्यता,क्षमता र निष्पक्षताको ग्यारेन्टी हुन यसमा बैज्ञानिकता जरुरी छ। टिके पत्रकार ,ओके पत्रकार(जे भन्यो बिश्लेषण नगरी हुवहु लेख्ने) र बिके पत्रकारको बिगबिगी भएसम्म पत्रकारिताको नदी स्वच्छ बन्न सक्दैन, राजनीति खराब हुनुमा यीनै टिके, बिके,ओके र चाकडीवाज पत्रकारको पनि दोष छ भनेर भन्न तपाई हामी डराउन हुन्न।

सबैलाई थाहा छ यातायात ब्यवस्था कार्यालयमा घुस बिना कामै हुन्न, अहिले सिसीटीभी क्यामेरा राखिएको छ त्यहाँ तर लाईसेन्स बनाउँदा ड्राईभिंग ईन्स्टिच्युटकै मिलेमतोमा हाकिमहरुको भाग छुट्टिन्छ, यहि पंतिकार संग मोटरसाईकल नामसारी गर्ने काममा लेखन्दास मार्फत घुस मागिएको प्रमाण सुरक्षित छ। नापी र मालपोतको अवस्था त्यस्तै छ,भंसारका कर्मचारीले करोडौँ रुपैयाँ कम मूल्याँकन गरेर या चोरबाटो भित्र्याएर कुम्ल्याउँछन्,त्यस्ता समाचारहरु झीना समाचार बन्छन,या बन्दैनन्,तिनै कार्यालयहरुमा पत्रकारहरु खाम थाप्न गएको मैले आफ्नै आँखाले देखेको छु। त्यसो त कतिपय सरकारी तथा ग़ैरसरकारी संस्थाहरुले पत्रकारहरुलाई अनुगमन खर्च समेत छुट्याईदिएका हुन्छन्, उनीहरुको भक्तिगान गाईदिए वापत।

त्यति मात्र होईन ट्राफिक नियम मिचेर पनि पत्रकारको कार्ड देखाएरै उन्मक्ति माग्न खोज्ने, उद्योगी ब्यवसायी संग पैसा तथा रिचार्ज कार्ड माग्ने, डान्स र क्याबिन रेष्टुरेन्टमा छिरेर सित्तैमा खान पल्केका देखि प्रहरीकै मिलेमतोमा दुई नम्बरी गाडी चढेर हिड्ने पत्रकार र बिभिन्न गिरोह संग मिलेर अवैध गतिविधि गर्न सघाउने पत्रकारको पनि पर्दाफास गर्नु जरुरी छ। राजनैतिक दलका नेताहरुले नियम कानून मिचे जस्तै केहि पत्रकारले नियम मिचेर अन्त्यमा जोगिनकै लागि पत्रकार हूँ भन्दा एक निष्ठावान पत्रकारको मन कति अमिलो हुन्छ होला?

अन्त्यमा:
त्यसैले राज्यको चौथों अंग कहलिएका पत्रकार सित्तैमा पाएपछि अलकत्र पनि खाने अलकत्रकार भए भने शुसासन हुनै सक्दैन, मिडिया क्षेत्र वाचडग हुनुको सट्टा स्यालहुईया मात्र बनेर यसले पत्रकारिताको लाज ढाक्छ जस्तो लाग्दैन। संग्लो पत्रकारिता गर्नेले छुटेका कुरा औल्याईदिनु भए या टिप्पणी गर्नु भए आभारी हुनेछु। हैन भने पत्रकारिता र नेपालको समसामयिक राजनीतिमा तात्विक फरक हुने छैन: अझै हाँसका बिचका बकुल्लो बनेका निष्ठावान पत्रकारलाई चिनाउन प्रतिकजीकै शब्दमा: हैन! वहाँ तपाईले सोँचेजस्तो पत्रकार होईन है भनेर चिनाईरहनु पर्ने कहिले सम्म हो थाहा छैन।

फेसबुक प्रतिकृयाका लागि: Krishna Sargam

प्रतिक्रिया