रआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टले भूकम्प पीडितको नाममा जापानमा संकलित रकम आफ्नो निजी खातामा नभएको प्रष्ट पार्नुभएकाे छ ।
नेपाल ब्रिटेन डटकममा बुधवार प्ररकाशित‘भूकम्प पीडितको ३ करोड रुपैयाँ एनआरएन उपाध्यक्ष भट्टको निजी खातामा’ शीर्षकको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै भ्रममा नपर्न सवैमा अाग्रह गर्नुभएकाे छ। भट्टले एक विज्ञप्ति जारीगरि अाफ्नाे संयोजकत्वमा एनआरएन जापान सहित जापानमा रहेको सिंगो नेपाली समूदायमा क्रियाशील राजनीतिक दलहरुका भातृसंगठन तथा सामाजिक संघसंस्थाहरुका अगुवाहरु सम्मिलित भूकम्पपीडित राहत तथा सहयोग समितिको खातामा सो रकम रहेको उल्लेख गर्नुभएकाे छ ।
भट्टले भूकम्पपीडित राहत तथा सहयोग समितिको जापान स्थित जापान पोष्ट बैंकको आफ्नै खाता रहेको र उक्त खातामा जापानी येन २ करोड ३० लाख १ हजार ७०३ हाल मौज्दात रहेको विज्ञप्तिमा जनाउनु भएकाे छ ।
यसैवीच भट्टले गैरआवासीय नेपाली सँघको बैठक भित्रका आन्तरिक सूचना बाहिर चुहिएकोमा समेत असन्तोष प्रकट गर्दै विज्ञप्तिमा ‘एनआरएनए आइसिसिका जिम्मेवार पदमा रहेका व्यक्तिद्वारा संस्थाको गोपनियतालाई ख्याल नगरी र संस्थाको मर्यादा समेतमा आँच आउने गरी गलत नियतबस बैठकका आन्तरिक छलफलका विषयहरु मिडियामा ल्याउन खोजिएको देखिन्छ’।
भट्टद्धारा जारी विज्ञप्तिको पूर्णपाठ :
नेपाल ब्रिटेन डट कममा ६ सेप्टेम्बर २०१६ मा ‘भूकम्प पीडितको ३ करोड रुपैयाँ एनआरएन उपाध्यक्ष भट्टको निजी खातामा’ शीर्षकको समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । गैरआवासीय संघका सम्मानित अध्यक्षको समेत तस्विर राखी प्रसारित उक्त समाचारबाट एनआरएनए आइसिसिका जिम्मेवार पदमा रहेका व्यक्तिद्वारा संस्थाको गोपनियतालाई ख्याल नगरी र संस्थाको मर्यादा समेतमा आँच आउने गरी गलत नियतबस बैठकका आन्तरिक छलफलका विषयहरु मिडियामा ल्याउन खोजिएको देखिन्छ ।
सो समाचारमा उल्लेख गरिएको विषय र रकम दुवै गलत र भ्रामक रहेको कुरा म सबैमा जानकारी गराउदै उक्त भ्रमपूर्ण समाचार प्रति खेद प्रकट गर्दछु । संपूर्ण एनआरएन र यस संस्थाका शुभचिन्तकहरुलाई प्रस्तुत समाचारको भ्रममा नपर्नुहुन पनि हार्दिक अनुरोध गर्दछु ।
सत्य तथ्य केहो भने मेरो संयोजकत्वमा एनआरएन जापान सहित जापानमा रहेको सिंगो नेपाली समूदायमा क्रियाशील राजनीतिक दलहरुका भातृसंगठन तथा सामाजिक संघसंस्थाहरुका अगुवाहरु सम्मिलित भूकम्पपीडित राहत तथा सहयोग समिति निर्माण भएको थियो । यस समितिको जापान स्थित जापान पोष्ट बैंकको आफ्नै खाता रहेको र उक्त खातामा जापानी येन २ करोड ३० लाख १ हजार ७०३ हाल मौज्दात रहेको जानकारी गराउन चाहन्छु । कसैले यसको गलत उपयोग वा दुरुपयोग गर्न सक्ने अवस्था नरहेको र म एनआरएनए आइसिसिको उपाध्यक्ष रहेका कारण सो रकम मैले मात्रै चाहे अनुसार उपयोग नहुने कुरा सबैमा अवगत गराउन चाहन्छु ।
यति हुँदाहुँदै पनि त्यतिखेरै समितिका साथीहरुलाई आस्वस्त पारी ३ करोड जापानी येन एनआरएनए आइसिसिको नेपालको खातामा पठाइएको थियो । बाँकी रकम पनि एनआरएनए आइसिसिकै पहलमा आगामी दिनमा हुन गैरहेको पुनरनिर्माणका कार्यमा नै सहयोग हुने गरी पठाउन मेरा तर्फबाट आवश्यक पहल भैरहेको पनि जानकारी गराउन चाहन्छु ।
स्मरणरहोस् संघको स्थापनाकाल देखि नै म अविरलरुपमा संघको अभियानमा तन मन र धन सहित जुटिरहेको छु। संघको जापान समितिको सदस्यदेखि अध्यक्ष सम्म र आइसिसिको कोषाध्यक्षदेखि उपाध्यक्षको दोस्रो कार्यकालको जिम्मेवारी सम्हाली रहेको छु ।
यो संगठन नितान्त सामाजिक भएको र त्यहाँबाट केही लिन नभएर दिन जाने भन्ने कुरा मैले राम्रोसँग बुझेको छु । यसै अनुसार नै नेपालमा भूकम्म गएको २ घण्टा भित्रै समिति गठन गर्न पहल गरी आफ्नो तर्फबाट तत्काल नेरु एक करोड दिने घोषणा गरेको सर्वविदितै छ । तसर्थ यस्ता गलत कुराहरु तिर ध्यान दिनु भन्दा संस्थाप्रति जिम्मेवार र शुभचिन्तक साथीहरुलाई म संस्थाको सर्वोपरि हित र ५० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको मात्रै नभएर सम्पूर्ण नेपालीहरुको आशाको केन्द्र रहेको संघको एकतामा जोड दिनुहुन अनुरोध गर्दछ । संघ भित्रबाट हुने यस किसिमका गैरजिम्मेवार कार्यहरुलाई निरुत्साहित गर्न संघका सम्पूर्ण अभियन्ताहरुमा विशेष आग्रह गर्दछु ।
भवदीय
भवन भट्ट
यसैबीच भूकम्प पीडित राहत तथा सहयोग समिति जापानले एक विज्ञप्ति जारी गर्दै भूकम्प पीडितको नाममा संकलित सो रकम संस्थाको नाममा सुरक्षित रहेको पुष्टि गरेको छ । बुधवार जारी बिज्ञप्तिमा जापान पोष्ट बैंकको आफ्नै खातामा जापानी येन २ करोड ३० लाख १ हजार ७०३ मौज्दात रहेको र कसैले यसको गलत उपयोग वा दुरुपयोग गर्न सक्ने अवस्था नरहेको प्रष्ट पारिएको छ ।
प्रतिक्रिया