फेरि हँसाउन आइपुगे कमल गाउँले

इनेप्लिज २०७३ भदौ १७ गते १:५६ मा प्रकाशित

Kamal-Gaunle-Kalakar-Nepali-650x366

पुराना हाँस्यकलाकार कमल गाउँलेलाई खासै परिचय दिइरहनु पर्दैन । उनको नामले कमल को हो भनेर परिचय दिन्छ । प्रत्येक वर्ष जस्तै कमलले यस वर्ष पनि गाईजात्राको एल्वम तथा भिसिडी निकालेका छन् । गाईजात्रा भने पछि कमललाई खुब मन पर्छ । भन्छन्, ‘अरु बेला नेताहरूका साथै अन्य गन्नेमान्ने व्यक्तिहरूलाई झटारो हान्न पाइँन्न । गाईजात्राका बेला घोँचपेच गर्न पाइन्छ । गाईजात्राको आफ्नै महत्व छ । मलाई गाईजात्राको बेग्लै मज्जा आउँछ ।’ कमलले अरुसँग मिलेर कहिल्यै गाईजात्राका एल्वम वा भिसिडी निकाल्दैनन् । आफै मिहिनेत गरेर आफ्नै कला प्रस्तुति गर्ने उनको बानिका कारण पनि १६ वर्षदेखि कमल यो गाईजात्राको ब्राण्ड नै बनेका छन् । उनै कमल गाउँले सँग  विमल योगीले गर्नु भएको कुराकानी :

० यस पटककको गाईत्राजामा तपाईले केही नयाँ ल्याउनु भएको छ ?

ल्याएको छु । ‘राजनीतिक पराकम्पन’ नामक गाईजात्रा ल्याएको हुँ । भूकम्पपछि जसरी परकम्पन गए त्यसै गरी हाम्रो मुलुकको राजनीतिले पनि कम्पन दिएकाले त्यसैलाई व्याङ्ग्य गर्न गाईजात्रा रेकर्ड गराएको हुँ ।

० तपाईको यो कतिऔँ गाईजात्रा एल्वम हो ?

मैले गाईजात्रामा एल्वम तथा भिडियो बनाउन थालेको १६ वर्ष भयो । ‘राजनीतिक पराकम्पन’ १६औँ एल्वमको रुपमा ल्याएको हुँ ।

० गाईजात्राले नेपाली समाजलाई केही प्रभाव पार्छ कि पार्दैन ?

किन नपर्ने पार्छ नि । गाईजात्राको माध्यमबाट नेपाली जनतालाई सरल रुपमा मुलुकको वस्तुस्थिति जानकारी गराउन सकिन्छ । अन्य माध्यमभन्दा गाईजात्राले धेरै समाजलाई प्रभाव पार्छ ।

० तपाईको गाईजात्रे एल्वम र भिडियोहरुमा कस्ता खालका व्याङ्गात्मक प्रस्तुति छन् ?

मुख्य विषय राजनीति हो । राजनीति हरेक क्षेत्रमा हावी छ । राजनीति एक नम्बरमा छ । हामीभन्दा धेरै त दलका नेता र कलाकारहरुमा राजनीति हाबी छ । जुन कुरा धेरै महत्व हुन्छ त्यसैलाई गाईजात्रामा विषयवस्तु बनाउँदा राम्रो हुन्छ । र बनाउनु पनि पर्छ ।

० गाईजात्रका नाममा जे पायो त्यही भन्नु हुन्छु रे तपाईले ?

नामै गाईजात्रा । देशै गाईजात्रा । नेतै गाईजात्रा । समाजै गाईजात्रा । त्यसमा झन् हामी गाईजात्रे कलाकार । व्याङ्ग्यत गर्नै प¥यो नि ?

० गाईजात्राको एल्वम र भिडियो आजकाल अलि कम निस्नेको जस्तो लाग्छ हो ?

हो । एउटा तीज पर्वलाई केन्द्र बनाइ सयौँ गीत निस्कन्छन् । देशमा यति धेरै संकट छ । मनपरितन्त्र भए जस्तो लाग्छ । हामी जस्तो कालकारले व्याङ्ग्य नगर्ने हो भने नेपाली समाज झन् बिग्रन सक्छ । गाईजात्राको एल्वम र भिडियो कम आउनुको कारण यही हो भन्ने अवस्था, म भन्न सक्दिन तर सृजनामा कमी र कलाकारमाथिको कुनै बाध्यात्मक अवस्थाले पनि प्रभाव पारेका हुन सक्छ । त्यो बाध्यता भनेका पैसा पनि हो । पहिला जस्तो सीडी, भिसिडीबाट कमाइ हुने अवस्था पनि छैन । बिक्री पनि हुँदैन । अहिलेको डिजिटल प्रविधिलाई नियमन गर्न नसक्दा कलाकारका लागि दर्शक बढेपनि पैसा भने फिटिक्कै छैन । यसको मारमा कलाकार छन् ।

० तपाईले किन १६ वर्षदेखि निरन्तर गाईजात्राका एल्वम र भीसीडी निकाल्नु भएको हो ?

हिजो राणाकालमा पनि व्यङ्ग्य गर्ने परम्परा थियो । अरु बेला व्याङ्ग्य गर्न नपाइए पनि गाईजात्राका बेला हाँस्यव्यङ्गका रुपमा कलाकारहरुले व्याङ्ग्य गर्थे । अहिले त झन् मुलुक गणतन्त्रमा गईसक्यो यस्तो उर्वर समयमा आफू भित्र भएका सृजनालाई किन बाहिर नल्याउने ? फेरि मेरो कला भनेकै हाँस्यव्यङ्ग विधा हो । मेरा लागि गाईजात्रा दशैँ पर्व जस्तै हो । मेरो कलाको निरन्तरता र एउटा कलाकारको दायित्व स्वरुप पनि गाईजात्रा एल्वम र भिडियो निकालेर निरन्तरता दिएको हुँ । यसमा मलाई आर्थिक फाइदा नभए पनि मभित्रको कलालाई जोगाउन र संस्कार बसाल्न गाईजात्रालाई निरन्तरता दिएको हुँ । र दिइरहनेछु ।

० तपाईका म्युजिक भिडियोहरुमा पनि जोडदार हाँस्यव्याङ्ग प्रस्तुति हुने गरेका छन् है ?

हो । अहिलेसम्म दुई सयको हाराहारीमा हाँस्यव्यङग गीतमा अभिनय गरेको छु । यसो गर्दा मैले चरित्रलाई निभाए जस्तो महसुस हुन्छ । र मलाई आनन्द पनि लाग्छ ।

० तपाईको सबैभन्दा चर्चित म्युजिक भिडियो कुन हो ?

नामै लिनुपर्दा सबैले रुचाएको ‘गर्नु गर्‍यौँ बलराम भैँसी पालेर…’ भन्ने हो । तर अधिकांश तीजका गीतहरुलाई पनि दर्शक स्रोताले मन पराएका छन् ।

Kamal Ji० फिल्ममा पनि खेल्नु हुन्छ ? चित्त बुझ्ने अभिनय गर्न पाउनु भएको छ ?

यो अति राम्रो प्रश्न । पाएको छैन । किन भन्दा निर्देशकले हामीलाई फिल्मको कलाकार होइन जस्तो ठान्छन् होला । तर हाम्रो आफ्नै पहिचान छ । अहिलेसम्म चित्त बुझ्ने गरेर फिल्ममा अभिनय गर्ने धोको पूरा भएको छैन । हेरौ एक दिन समय आउँला ।

० हाँस्यप्रधान फिल्म पनि बनिरहेका छन् त्यसमा भूमिका पाउनु भएको छैन ?

म फिल्ममा भन्दा बढी म्युजिक भिडियोमा व्यस्त हुन्छु । त्यसले पनि होला । तर पनि अब रिलिज हुन थालेको फिल्म ‘छक्का पञ्जा’मा भूमिका निर्वाह गरेको छु । जे गरेको छु । राम्रो गरेको छु ।

० तपाईले आफै हाँस्यप्रधान फिल्म बनाउने सोँच बनाउनु भएको छ ?

सोँच त बनाएको छु । पैसा बनाएको छैन । पैसा छाप्ने मेसिन पाएँ भने सोँच्नु पर्ला ।

० कार्यक्रमका लागि बिदेशतिर जाने गर्नुभएको छ ?

गएको छु । १५ वटा जति मुलुकमा गएर कार्यक्रम प्रस्तुति दिएको पनि छु ।

० तपाईले अब के गर्ने योजना बनाउनु भएको छ ?

कलाकार हुँ । एनजिओ आइएनजिओ पक्कै खोल्दैन होला । यही क्षेत्रमा समर्पित भएर आफ्नो विधालाई अगाडि बढाउँछु । र दशैँ अगाडि आमदर्शक स्रोताले मन पराउने मेरो आफ्नै स्वरमा रहेको ठट्यौली गीत ल्याउँदैछु ।

० त्यसो भए अहिले त्यही गीतको तयारीमा हुनुहुन्छ ?

हो भरखरै रेकर्डिङ सक्कियो । अब यसको भिडियो शूटिङका लागि जुट्छु । दशैँ अगाडि दर्शक स्रोताहरुले मेरो गीत हेर्न र सुन्न पाउनु हुनेछ ।

– See more at: http://www.dainiknepal.com/2016/08/179985.html#sthash.0cx4OHLv.dpuf

प्रतिक्रिया