अस्ट्रेलिया जाने तरखरभित्र धेरै कुरा लुकेका थिए । उद्वेग, उमंग, कुतूहल र हर्सोल्लासको सम्मिश्रण पनि थियो । भिसा आएको दिनदेखि जाने तरखरमा व्यस्त भइयो ।
२०७३ वैशाख १० गतेको कुरा हो । उक्त दिन भिसा आएको खवर आयो । त्यसकाे करिव ७ दिन जतिपछि हिड्ने साइत जुर्यो ।
त्रिभुवन विमानस्थलबाट २ बजेतिर थाई एयरको विमान चढ्यौ । यत्ति ठूलो, विमान पहिलो पल्ट चढेकोले मनमा कता कता डर पनि थियो । कस्तो हुन्छ होला माथि आकाशमा पुगे पछि के देखिन्छ होला आदि सोच्दै र मन रोमान्चित हुँदै थियो । समय गएको पत्तै भएनछ । करिव साडे दुई घन्टा जतिमा थाइल्याण्डको सुवर्ण भूमि विमानस्थल पुगियो । थाइल्याण्डबाट अर्को एक घन्टा भित्रै अस्ट्रेलियातिर लाग्नु पर्ने थियो । हाम्रो गन्तव्य अस्ट्रेलियाको एउटा प्रान्त सिड्नी भएकोले उतैको विमान समात्न हतारिदै हिड्यौ । हामी विमानभित्र पुग्ने बित्तिकै विमानले आकाश मार्ग समात्यो ।
यदाकदा देश भित्रका साना विमान चढेको र तिनमा यात्रा गरेको अनुभव भए तापनि यति ठूलो अनि यति लामो विमानको यात्रा मेरा लागि पहिलो नै थियो । निकै माथि करिव ११/१२ हजार मिटर जति माथिबाट तल हेर्दा कपासको झुण्ड जस्तो देखिने तहतह मिलेको बादल, परपर कता हो निकै तल देखिने नीलो समुन्द्र अनि अरु सबै क्षितिज मात्र, बादलमाथिको अर्कै ससार, स्वर्गीय आनन्दकाे अनुभव भइरहेकाे थियाे । मनले सोच्दै थियो सायद स्वर्ग भनेको यस्तै हो कि ! चौतर्फ खाली खाली ससार । सानो झ्यालबाट हेर्दाहेर्दै रात पर्यो । करिव नौ घन्टा जतिको उड़ानपछि सिड्नीको समय अनुसार बिहानको सात बजेतिर हामी विमानस्थल पुगेछौ ।
जाँचबुझ सकेर सकेर बाहिरिदा नौ बजेको हुँदो हो । ट्याक्सिबाट करिव आधा घन्टा जतिमा वासस्थान पुग्यौ ।
नेपालका जस्ता साना र साघुँरा बाटा र गल्ली त्यता हुँदा रहेनछन् । फराकिला लामा र सुघ्घर बाटा, जता हेरे पनि उस्तै, एक्लै हिड्दा अल्मलिएर हराइएला भने जस्तो । पुगेको सात दिनसम्म पनि एक्लै बाहिर निस्कन आँट आएन । गारो भयो । काठमाडौको बासिन्दा भएको हुँदा उति अनौठो नलागे तापनि बाटोघाटों सबैतिर उस्तै भएकाले अलि ठम्याउनै गारो भयो । जता हेरे पनि एकछत्त बाटो ।
पैदल हिडड्दा अलि चिनेझै भए तापनि गाडीबाट सबैजसो बाटो उस्तै देखिने ।
मनमा कुतूहल र हलचल अति भो, हामी यो उमेरमा यसरी बाटो नचिनेर रनभुल्ल हुन्छौ भने ती साना-साना हाम्रा छोराछोरी सात समुन्द पारको यस्तो बिरानोको मुलुकमा कसरी आफूले आफैलाई ढाल्न सकेहोलान् । एक गिलास पानी आफैले झिकेर खान नसक्नेले यत्रो समुन्द्रमा कसरी पौडेर पार लगाए होलान् । न भाषा मिल्ने, नभेष मिल्ने, आफन्त कोही छैन, सन्चो बिसन्चोमा ख्याल कस्ले राख्दो हो, बालखैमा यस्तो बिरानो मुलुकको भोगाइ खप्न पर्दा कत्ति गारो भयो होला । मन भावुक वनेर आयो, काठमाडौमा बस्दा त निकै धाक रवाफ सहित भनिन्थ्यो , मेरा छोराछोरी त अस्ट्रेलियामा बसेका छन्, पठेका छन्, गाडी चडेर हिडेका छन् । मोज गरेर सयलमा बसेका छन् । म मात्रै हैन मेरा आफन्त लगायत् चिनेजानेकाका सन्तान पनि बिदेशमै बस्छन् । सबैको एउटै खालको कुरा हुन्छ, विदेशिएका सन्तानको बारेमा गौरवसाथ बखान हुन्थ्यो । को भन्दा को कमको पारामा गफ हुन्थ्यो । सबैले आआफ्नै पाराले बढाइचढाइ कुरा गर्ने । ऐले आँखाले प्रत्यक्ष देख्दा त्यत्ति सानै कलिलो उमेरमा विदेश पठाएर मैले गल्ती पो गरेको रहेछु कि जस्तो लाग्यो । मेरो भावुक परिस्थिति मैले सन्ततिका सामु जाहेर हुन दिइन । सम्यमित भएरै बसें ।
नदेखिकन गर्ने गफ र देखेर गर्ने कुरामा धेरै अन्तर हुँदोरहेछ १६/१७ बर्षको कलिलो उमेरमा अर्काको देशमामा जानु र त्यतै भिजेर बस्न सक्नु भनेको आज बुझ्दैछु धेरै ठूलो कुरा रहेछ । अधिकाम्श नेपालीले जस्तोसुकै बढाइचढाइ गरेर कुरा गरे तापनि डरल खेपेर विदेशमा छोराछोरी पढाउन सक्दैनन्। सक्ने भनेको कि त राजनीतिक कर्मीका सन्तान हुनु पर्यो कि त ठूला घरानाका व्यापारी हुनु पर्यो, व अरु नै कुनै अनैतिक आय स्रोत हुनुपर्यो । बिदेश पुगेपछि छोराछोरीको पहिलो काम भनेको कॉमको लागि दिनभर ढोकाढोका चाहार्नु नै हुने रहेछ यो तितो सत्य मैले त्यहाँबाट जाने । काम पाए ठिकै भो नपाएर निरास हुँदै बेलुका कोठामा फर्केर आधी पेटमै घुप्लुक्क सुत्नु, फेरि उज्यालो नहुदै कामको खोजीमा निस्कनु उनीहरुको दिनचर्या हुँदे रहेछ । सारै भाग्यमानीले मात्र छिट्टै काम पाउँदा रहेछन् । काम पनि थोरै पैसामा दिनभर घोट्टाउने रहेछ । त्यही पनि नगरे खान नपाइने, गर्नै पर्यो । थकाइले लखतरान हुँदै कोठामा पुग्दा निन्द्रा र भोकले चुर । एउटा सानो कोठामा धेरै जना मिलेर बस्नु पर्ने, मनलागे पकाएर खाने नलागे रुखा सुख्खा जे छ त्यै खायो सुत्यो ।
महलजस्तो घरमा सुखसयलले बसेका सन्तानको यो हालत । पढ्नेको नाममा गरिव देशका नागरिकलाई करिब १० बर्षसम्म घोटाउँदा रहेछन् धनी देशले । बल्ल पढेर भ्याएपछि अलिकता खुट्टा टेक्ने गरी पाइने काम, जुन कामले यिनलाई माम खान मात्र पुग्ने । अति नै बिजोग देखियो । उच्च स्तरको काम त उनकै देशका नागरिकले मात्र पाउने, हाम्रा लाख योग्य हुन् तर गँवार भए पनि उनकै देशकाहरुले प्रार्थमिकता पाउँदा रहेछन् । बचेखुचेको काम मात्र हाम्राले पाउँदा रहेछन् । बल्लतल्ल पेट काटेर करिव १२/१५ वर्ष भएपछि एउटा घरवार जोडेर बस्न सक्ने हुँदा रहेछन् ती बिचराहरू । त्यही पनि ऋणैमा न हो, जिन्दगी भरी तिर्नुपर्ने ।
यत्तिको दुःख, रातो दिनको घोटाइ हुँदा पनि फेरि किन हो कुन्नि हाम्रा सन्तती बिदेशमै बस्न रुचाउँछन् त ! म यसो सोच्छु यसको कारण वास्तवमा माओवादीहरुको त्रास र भयबाट नै यसरी पलायन भएका हुन् जस्तो लाग्छ । स्वदेशमा काम पाए पनि नानाथारीका चन्दा धम्कीहरुबाट नै युवायुतीहरु स्वदेशबाट पलायन भएका हुन् भन्ने मेरो सोचाइ बन्यो । यसबारे कुतूहल बढ्यो, कारण म आफै अर्थ्याउन थालें, सायद आफ्नो देशमा जति पढे पनि सुयोग्य काम नपाइने, आफ्नै बलबुताले केही काम गर्न खोजे पनि राम्रो सर्कारी नीतिनियम न हुनु र योग्यता अनुसारको काम नपाउनु पनि बिदेशिने कुरा होला भनेजस्तो लाग्यो।
दोस्रो कुरामा सुरक्षित बातावरण नै होला । आफ्नो देशमा सरकारले जनतालाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गर्छ, सबै कुराको ज़िम्मेवारी नागरिक आफैले ब्यहोर्नु पर्छ, पैसा हुनेले पनि मन लागेको चिज किन्न नपाउने, न बिजुलीको व्यवस्था छ न सडककै राम्रो सुधार छ, स्वाथ्य उपचारको उचित व्यबस्था छैन, पिउने पानी शुध्द आफै व्यबस्था गर्नुपर्छ । अव्यबस्थित परिवहनहरुले गर्दा कतै पुग्न सारै कठिन हुने । खाना बनाउने इन्धनको पनि प्रबन्ध सरकारवाट हुन सक्दैन । यी सबै न्यूनतम आधारका कुरा पनि सरकारको तर्फबाट हुँदैनन् । ब्यक्ति स्वयम्ले जोहो गर्नुपर्छ अनि के हेरेर युवाहरु स्वदेश भनेर बसून् त ।
बिकसित मुलुकहरुमा यस्तो हुँदो रहेनछ, पहिलो प्राथमिकता जनता कसरी सहज तरिकाले बस्न सक्छन् ती सबै कुराको ख़्याल सरकारले राखेको हुन्छ । व्यवस्थित पूर्वाधार बिना बसोबासको अनुमति हुँदो रहेनछ जनताको पहिलो आबश्यकता भनेको गॉंस, बास र कपास हो, सम्पूर्ण रुपमा सबै कुरा सहज उपलब्ध हुँदो रहेछ । जन्मदेखि मृत्युपर्यन्त सबै जिम्मा सरकारको हुँदो रहेछ । जनताले भविष्यको चिन्ता गर्न नपर्ने । भबिष्यको अनिश्चितताले मानिसलाई चिन्तित र दुःखी बनाएको हुन्छ । यताको सुनिश्चित भविष्यप्रति पनि हाम्रा सन्तति बढी उतातिर आकर्षित भएका होलान् ।
हाम्रा राजनेताले थोरै मात्र जनताको बारेमा सोच्ने हो भने सायद हाम्रा सन्तति जो हाम्रो देशका भविष्य हुन्, बिदेशतिर बसोबास गर्ने थिएनन् कि ! स्वदेश र परिवारजनके माया नभएको त पक्कै हैन होला ।
खै सन्ततिका मनका कुरा सबै त कसरी जान्नु र उनको बयष्क उमेरको चाहना र बिलासिताका प्रतिको आकर्षण पनि हुन सक्छ बिदेशमा रमाउनका पछि । जीवन भरपुर जिउने सम्पूर्ण सुख सुबिधा सम्पन्न मुलुक बस्न छोडी अभाबै अभावले ग्रस्त देश, स्वदेश नै भए पनि के भो र त । जता मह उतै माहुरी झुम्मिन्छन् नि । यो त यथार्थ हो । किशोर अवस्थादेखि लड् भिड् गरेर बल्ल बल्ल पाएको सुखी जीवन अब गुमाउन चाहँदैनन् होला । रुचि अनुसारको काम, गाडी, बङ्गला जोडजाम गरेर बसेका सन्तति अव स्वदेश फर्कन्नन् होला । हामी आमा बाबुहरुके मायाले मात्रै स्वदेश तान्न सक्दैन होला । उनीहरुको जीवन यापनको भरपुर प्रवन्ध स्वदेशमा कतै पनि भनेजस्तो छैन । माय खाएर मात्र त जीवन बित्दैन । त्यसैले मलाई पनि स्वदेश फर्क भनेर आफ्ना सन्ततिलाई भन्न मन लाग्दैन । यो उन्को जीवन हो जसरी मन लाग्छ बाचून् भन्न म पनि रुचाउन थालेकी छु ।
मलाई लाग्छ, नेपाल अब बृद्धाश्रममा परिणत हुँदैछ । सबैका सन्तति बिदेश बस्छन् । सक्नेका पढाइको नाममा खर्च गरेर धनी देश जान्छन् भने नसक्नेले खाडीतिर कामको खोजीमा जान्छन् । बेलैमा सर्कारमा बसेकाले नसोच्ने हो भने एक दिन देश युवा विहीन हुन्छ । अनि कसको नाममा राज्य गर्ने हो कुनि !!
करिव तिन महिना जतिको सिड्नी बसाइमा मैले देखेका र भोगेका अनुभव भित्रका केही कुराहरु मात्र यी हुन् । सबै ता लेखिसाध्य पनि हुन्न। हुन सक्छ सत्य अर्कै होला, म कतिपय कुरामा अनभिज्ञ पनि छु । बर्षौं बस्दा त नबुझ्ने कुरा जाबो तिन महिनामै कसरी सबै बुझ्नु र । बुझ्न भन्दा पनि सन्ततिको चाहना अनुसार घुम्न गएको, अधिकाम्श समय त रमाइलोसँग घुमेर नै बित्यो । जे होस् जुन उद्देश्यले सिड्नी पुगें सो पुरा भयो । मैले आफ्ना सन्तानलाई पनि धन्यवाद दिनै पर्छ । यत्रो दुनियाको दर्शन् गराएकोमा उनीहरु प्रति माताको हैसियतमा शुभाशीष दिनै षर्छ ।
पृथ्वीको जुन कुनामा बसे पनि र जहाँ रहे पनि ती सधै सुखी बनून्, सुखी रहून्, जीवनमा उन्नति प्रगति गरुन् मातृहृदबाट यो मेरो शुभ आशीर्वाद हो ।
अस्तु ।
प्रतिक्रिया