राज्यकोष दोहन गरी सिंगापुर थाईल्याण्ड र युरोप अमेरिका ज्वरो जचाउन जाने नेताहरुलाई निगरानी गर्न लेखक सरगम भट्टराईको सुझाव

इनेप्लिज २०७३ भदौ १२ गते ०:५४ मा प्रकाशित
unnamed
बिषय प्रवेश:
नेपालीमा एउटा प्रचलित भनाई छ : रात रहे अग्राख पलाउँछ भनेर । साँच्चै, छल छाम र दलीय भागवण्डाको मारमा सिंगो देश परिरहेको बेला एउटा सानो समाचारले पनि अर्थ राख्ने रहेछ: प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त हुँदा खुशी नभएको यो बबुरोको मन आश लाग्दा युवा नेता गगन थापा स्वास्थ्य मन्त्री हुँदा किन किन खुशी भयो, यो खुशीमा मैले कुनै भोज भतेर त गरिन तर पनि देश सम्झेर हरेक क्षण चिन्तित हुने एउटा ठिटोले भित्र भित्रै उत्सव मनायो: अब केहि हुन्छ जस्तो छ ।

सानोमा गरेको एउटा काम सम्झँदा अहिले आफैलाई हाँसो लाग्छ मलाई: साथी भाइले माछा मारेको देख्दा मलाई पनि बडो माछा मार्न मन लाग्यो, घरमा बुवा आमाको आँखा छली त्यतिबेला पच्चिस पैसामा आउने एउटा बल्छी र जनैको धागों को डोरी बनाएर माछा मार्न गएँ । साथीहरु भकाभक माछा मार्दै थिए, उनीहरुको माछा उन्ने झीर भरिँदा मेरो भने रित्तै थियो ।

मैले मेरो बल्छीमा किन माछा परेन भनेर सोधेको त साथी बिर बहादुर मेरो नजिक आयो र भन्यो खोई बल्छी हेरौँ त ?

मैले बल्छी तानेर देखाएँ, टलक्क टल्किने बल्छी मात्र देखेर बिर बहादुरले भन्यो: खोई त गड्यौला उनेको ? बिना गड्यौँला माछा फँस्छ त ? पछि गड्यौला त उनेँ तर सबै गड्यौँला भ्यागुतोले खाईदिए, भ्यागुतो मात्र परे, माछा मार्न सकिएन । वास्तवमा रित्तो बल्छी मात्रै पानीमा तल माथि गराईरहेकोमा म अहिले बल्ल एक्लै हाँसिरहन्छु ।
आशाको केन्द्र:
हो ! नेपाली युवाहरुका आशाका केन्द्र गगन थापा कांग्रेस भित्रको ठूलो बखेड़ा बिच स्वास्थ्य मन्त्री बनेका छन, उनीसंग पदस्थापन पछि  हुनै पर्ने गड्यौलाहरु त छन् तर चारैतिर कपटी भ्यागुताहरु  मात्र छन् ,चाहेको काम गर्न पाउने छैनन्, तर पनि एउटा स्पष्ट वक्ता युवा देशको नियम कार्यान्वयन गर्ने ठाउँमा पुग्दा आशावादी भईँदो रहेछ । थाहा छ यो सत्ता समीकरण धेरै लामो हुने छैन, केहि कामको शुरुवात गर्न नपाउँदै उनले पदबाट हात धुनुपर्ने छ , या केहि राम्रा काम गरेकै आधारमा भोलि फेरि मन्त्री बन्न नदिने हुन सक्छ तर पनि एउटा देश प्रति चिन्तित मान्छेले दृढ ईच्छा शक्ति हुने हो भने पक्कै केहि गर्छ भन्ने मेरो ठम्याई हो । ईमान्दार राजनीतिज्ञलाई जनताले पुरस्कार पक्कै दिने छन् । नशामा बि. पी. को बिचार बगेको छ भन्ने गगनले अब गरेर देखाउने समय आएको छ ।

डाक्टर गोबिन्द के. सी. को मेडिकल क्षेत्र सुधारको आन्दोलनमा पहिले एेक्यवद्दता जनाउने यीनै गगन थापा हुन, नेपाली कांग्रेसका थोरै आशलाग्दा र भरपर्दो नेताहरु मध्ये यीनै गगन थापा हुन , राजनीतिका बिसंगति प्रति कटाक्ष गर्ने यिनै गगन थापा हुन, पार्टी भित्र र बाहिरबाट जनताले यिनलाई सभापतिमा देख्न चाहेका थिए, तर यिनले हिम्मत जुटाउन सकेनन, बूढाहरुले देश बिगारे भन्ने गगन थापाले अन्तत: एउटा गुटबाट उमेदवारी दिए: त्यो पनि महामन्त्रीमा, र गुटतन्त्रको शिकार भए । गुण्डा नाईके घैटे प्रकरणमा त उनले कमाएको साख ह्वात्तै घट्यो ।

तर नेपाली जनता महान थिए र छन् , समकालीन नेत्तृत्वमा एक दुईवटा गल्ती गरे पनि गगन थापा प्रति युवाहरुको बेजोड विश्वाश छ, त्यसैले सामाजिक मिडियामा गगन थापा छाईरहेका छन् ।  हिजोको त्यो जोशिलो भाषणलाई ब्यवहारमा उतार्न उनलाई एउटा अवसर मिलेको छ, यो अर्थमा उनको यो अवसर लक्ष्य प्राप्तिको शुरुवात हो ।
कटू सत्य:

नेपालमा पछिल्लो समय असाध्य बिग्रिएको क्षेत्र स्वास्थ्य क्षेत्र हो , शक्ति केन्द्रको प्रभावले च्याउ जस्तै उम्रिएका नीजि मेडिकल कलेजहरुले स्वास्थ्यको नाममा ब्रम्हलुट गरिरहेका छन, राजधानी केन्द्रित यी कलेजहरुमा डाक्टर पढाउने नाममा गुणस्तर र बिश्वसनता हराएको छ, नक्कली डाक्टरको बिगबिगी छ, एकातिर देशका भि. आई. पी. हरुले राज्यकोषको दुरुपयोग गर्दै युरोप अमेरिका ज्वरों जचाउन दौडिरहेका छन् भने अर्को तिर दूर दराजमा जनताहरु सिटामोल खान नपाएर मरिरहेका छन् ।

सबै घटनाक्रमलाई हेर्ने हो भने गगन थापा भूतले खाजा खाने बेलामा मन्त्री भएका छन् , यस्तो बेला धेरै सुधारका काम गर्न सक्ने अवस्था त नहोला तर दृढ ईच्छाशक्ति हुने हो भने स्वास्थ्य क्षेत्रका धेरै समस्या हल हुन सक्छन् । कमसेकम डाक्टर के. सी. ले उठाएका मागको सम्बोधन र मौजूदा नियम कानूनकै कार्यान्वयन गर्दा पनि नतीजामूलक सुधार हुन सक्छ । स्वास्थ्य सम्बन्धि पूर्बाधार तयार गर्दा दूरदराज़लाई पहिलो प्राथमिकतामा राख्न पहलकदमी गर्ने उनी साँच्चैका बाघ हुन् कि मिडियाले बनाएका कागजी बाघ हुन्, हेर्ने दिन आएको छ ।

गगन थापालाई देवत्वकरण गर्नु पनि जरुरी छैन, किनकी उनी पनि एक सामान्य मान्छे हुन्, उनीबाट गल्ती नै हुँदैन भन्ने अपेक्षा पनि गर्नु हुँदैन तर एउटा स्पष्ट भिजन भएको मान्छे हुनाले आफूले चर्को रुपमा बोलेका कुराहरुलाई लागू गर्न हिम्मत गर्छन् कि भनेर युवाहरुको ठूलो हिस्सा आशावादी भएकै हो । छोटो समय भएपनि मन्त्री भएर जनप्रिय भएका गोकर्ण बिष्ट र लालबाबु पण्डितलाई पछ्याउन सक्लान् नसक्लान त्यो हेर्न बाँकी छ । उनी प्रति सहानुभूति राख्दै खबरदारी गर्नु एउटा सचेत नागरिकको कर्तब्य हो ।

स्वास्थ्य मन्त्रालयको बजेटको ठूलो हिस्सा लोक कल्याणकारी बिज्ञापनमा मात्र जान्छ, जुन प्रभावकारी छैन, तारे होटलहरुमा कर्णालीका लागि स्वास्थ्य नीति बन्छन, डाक्टरहरु र स्वास्थ्यकर्मीहरु राजधानी बसेर तलब भत्ता खान्छन, अति बिपन्नको उपचार प्रकृया प्रभावकारी छैन, जनतामा आफ्नो स्वास्थ्य प्रति जागरुकता छैन, रोग लागेपछि मात्र अस्पत्ताल धाउने प्रचलन छ, ग़ैर सरकारी संस्थाहरु रिपोर्ट बनाउँदै बजेट खर्च गर्दैछन ।

 स्वास्थ्य मन्त्रालयका हरेक कामकारवाहीमा आर्थिक लेनदेन हुने गरेको , मन्त्रालयको काम लथालिङ्ग, कर्मचारी सरुवा, बढुवा र विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र र शिक्षण अस्पतालहरुको क्षमता विस्तारका नाममा सरोकारवालाहरुबाट लाखौँ रुपैयाँ असुल्ने गरेका छन् भने स्वास्थ्य सेवामा कार्यरत करिब चालिस हजार कर्मचारी, डाक्टर, नर्स र मासिकाहरुको नियमित सरुवा, बढुवामा समेत पुर्वाग्रह राख्ने प्रबृर्ति बिरुद्द गगन थापा कति काम गर्छन हेर्न बाँकी छ । बैदेशिक रोज़गारीका लागि गरिने स्वास्थ्य परीक्षणमा हुने अनियमितता रोक्न उनले दिएको निर्देशन राम्रो कामको शुरुवात हो ।

अन्त्यमा,

त्यसैले डाक्टरहरुका मन्त्री गगन थापालाई मेरो सानो सुझाव छ: मेडिकल माफ़ियाले स्वास्थ्य क्षेत्र तहस नहस भएको बेला आसे पासे र भरौटेहरुको भीड़ बढाउन भन्दा तीन करोड नेपालीहरुको भविष्य जोडिएको स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने तर्फ लाग्नुस, मन्त्रालयमा चाकरीका आधारमा हुने सरुवा बढुवामा रोक लगाउनुस, दरवन्दी अनुसारका स्वास्थ्यकर्मीहरुलाई तुरुन्त आ-आफ्नो ठाउँमा पठाउनुस, ढिला सुस्ती र लापरवाही गर्नेलाई निलम्बन गरी अनुसन्धान गर्नुस, स्वास्थ्य विमा लाई जनताको पहूँच हुने बनाउनुस । सबै भन्दा खरो सुझाव : सिटामोल खान नपाएर जनता मर्ने देशमबाट नेताहरु राज्यकोष दोहन गरी ज्वरों जचाउन सिंगापुर जान पाईदैन भन्नुस । अझ नागरिकहरु उपचार नपाएर मरिरहेको बेला ब्यक्तिगत खर्चमा बिदेश उपचार गर्न जानु पनि नैतिक बेईमानी हो भन्नुस । हाम्रा अस्पत्ताल र डाक्टरहरुलाई हाम्रै नेताहरुले बिश्वास  गर्न सक्ने बनाउन कोशिस गर्नुस । अब  उपयोगी गड्यौलाहरु प्रयोग गरी ती कपटी भ्यागुताहरुको शिकार पहिले गर्नुस र बिस्थापन् गर्नुस अनि स्वास्थ्य क्षेत्र सफा बनाउनुस । सार्वजनिक रुपमा यो गर्ने उ गर्ने भन्दा पनि संबन्धित कर्मचारीतन्त्रलाई निर्देशन दिनुस । ईतिहाँसमा सबैले सम्झिरहने छन् । यसले तपाईको सुरक्षित राजनीति तर्फको बाटो खुला गर्ने छ। सबैको आशाको केन्द्र  गगन थापाज्यू ! तपाईँ  एउटा सफल स्वास्थ्य मन्त्री बन्न सक्नू !  यहि शुभकामना छ ।

प्रतिक्रिया