एनआरएनए क्षेत्रिय सम्मेलन फोटो सेसन भन्दा फरक बनोस् -प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ भदौ १२ गते ०:३१ मा प्रकाशित

prakash 1

यतिखेर अमेरिकाको न्युजर्सीमा एनआरएनएको नवौ क्षेत्रिय सम्मेलन धुमधामका साथ चलिरहेको छ । यही अगस्त २७ बाट शुरुभएको सम्मेलनमा विश्वभरि छरिएर रहेका गैरआवासिय नेपालीहरुको प्रतिनिधित्व गर्दै धेरै महानुभावहरु भेला भएर सम्मेलनलाई सफल पार्न र एनआरएनए का आगामी दिनको लागी कार्यदिशा तय गर्न विभिन्न छलफलका फोरमहरु संचालन गरिने पुर्वनिर्घारित कार्यक्रमहरु तय गरिएको पनि सुनिएको छ ।
       जे होस् नेपालमा रहेका व्यक्तीहरु र विदेशमा रहेका व्यक्तीहरुबाट विशेष चासोको रुपमा हेरिएको यस क्षेत्रिय सम्मेलनको नारा भने “भिजन २०-२० एन वियोण्ड”रहेको छ । हालसम्म विश्वका ७४ वटा विभिन्न मुलुकमा एनआरएनए को आधिकारिक शाखा संगठन रहेको छ । यसले गर्दा पनि यस संस्थाको लोकप्रियता बढिरहेको देखिन्छ र यसलाई नेपालीहरुको साझा संस्था एवं नेपाल र विदेशमा बस्ने नेपालीहरु वीच पुलको रुपमा जोड्ने माध्यमको रुपमा हेर्ने गरिन्छ ।
 यसको स्थापनाकाल देखि हालसम्म आईसक्दा यस संस्थाले नेपाल र नेपालीहरुको हितमा उल्लेखनिय काम गरेको छ भन्न सकिने धेरै आधारहरु छन् त्यसतर्फ चर्चा गर्नु भन्दा पनि अहिलेको जल्दोबल्दो समस्या, चुनौती र अवसर बारे चर्चा गर्नु सान्दर्भिक हुन सक्छ । खासगरि अहिले सम्म यस संस्थाले नेपालमा परोपकारी काममा र केही उद्योग व्यवसाय र पुर्वधार निर्माणमा लगानी गरेको चर्चाहरु चल्ने गरेको पाईन्छ । त्यसको साथै केही सम्पन्न र हुनेखाने व्यवसायीहरुको वरीपरीनै संस्था संचालन भएको आरोप र गुनासाहरु यदाकदा उठ्ने गर्छन् र उठेका पनि छन् यसलाई चिर्नको लागी पक्कै पनि यस संस्थाले विदेशमा रहेका धेरै भन्दा धेरै व्यक्तीहरुलाई समेटर सामाजिक काममा र एकिकृतरुपमा लगानी स्वदेश एवं विदेशमा गर्नको लागी उत्प्रेरकको भुमिका खेल्नु आवस्यक छ ।
 विदेशमा रहेका आमसर्वसाधरणलाई एनआरएनए भनेको हामी सबैको दु:ख र सुखको साथी हो भन्ने आभाष हुनु पर्दछ । यसको लागी समेत ग्रासरुटमा रहेका श्रमजीवी प्रवासी नेपालीहरुलाई समेत यस संस्थामा हरतरहबाट सहभागी बनाईनु पर्दछ । विदेशमा कामको दौडानमा हुने यावत समस्याहरुलाई समाधान गर्न नजिकबाट साथ र सहयोग दिन सक्नु पर्छ । हरेक देशमा एनआरएनए ले त्यहाँ कार्यरत नेपालीहरुको वास्तविक समस्या बुझ्न, सामुहिक लगानीमा व्यवसाय र उद्यम संचालन गरि नेपालीहरुलाई नै रोजगारी दिन सक्ने वातावरण निर्माण गर्न आवस्यक मेकानिजम तयार गर्नु पर्दछ ।
यसको लागी हरेक देशका मुख्य शहरहरु र नेपाली समुदायको बाक्लो बसोबास भएको ठाउँहरुमा ” सुचना/संचार केन्द्र वा सामुदायिक केन्द्रहरु” स्थापना गर्न तर्फ विशेष जोड दिनु पर्छ । जसले गर्दा नेपालीहरुका हरेक सामाजिक गतिविधीहरु संचालन गर्ने देखि नेपालीहरुमा परेका काम सम्बन्धी र अन्य विविध समस्याहरु सजिलै समाधान गर्न आवस्यक सुचना र जानकारी आदानप्रदान गर्न, लगानीको व्यवस्था गर्न, व्यवसायहरु स्थापना गर्न साथै आफ्नो भाषा, कला, संस्कृती, परम्परा, रितीरिवाज, संस्कारलाई संरक्षण गर्न पनि मद्दत पुग्न सक्छ र सम्पुर्ण नेपालीहरुलाई एउटै मालामा जोड्न सक्छौ ।
 यसो हुन सके विदेशमा बस्ने २-४ जना नेपालीहरुको आयस्तर र जीवनस्तर मात्रै उच्च एवं समृद्ध नभई समग्र नेपालीहरुले आर्थिक प्रगती गर्न सक्ने आधार बन्न सक्छ र अन्तमा विदेशमा बस्ने नेपालीहरु समृद्ध बनिसके पछि स्वत: नेपालमा लगानी विस्तार गर्ने देखि विभिन्न तवरबाट आर्थिक एवं सामाजिक योगदान दिन सक्षम हुन्छन् । त्यसबाट समग्र नेपालीहरुको जीवनस्तर उच्चो हुन सक्छ र नेपालमा सम्पन्नताको ढोका खुल्न सक्छ ।
आखिर संसारको जुनसुकै भागमा रहेपनि नेपाल प्रति तमाम नेपालीहरुको भावनात्मक माया, ममता र समर्पण रहिनै रहन्छ । तसर्थ देश निर्माणमा एनआरएनहरुको योगदान दिने काममा प्रभावकारिता ल्याउन सबै भन्दा पहिला विदेशमा बस्ने नेपालीहरुलाई सक्षम, योग्य र समुन्नत बनाउने तर्फ एनआरएनए ले उपयुक्त कार्यक्रम तर्जुमा गरेर कार्यान्वयन तर्फ लाग्नु जरुरी छ । त्यसमा पनि विदेशमा रहेका नेपालीहरुबाट सामुहिक लगानीमा मिलेर उद्योग, व्यवसाय संचालन गरेर नेपालीहरुलाई रोजगारी दिने हैसियत तयार गर्न सकिने अवस्था विस्तारै बन्दै गएमा विदेशीभुमिमा समेत नेपालीहरुको पहिचान र अस्तित्वलाई सबैले सहजरुपमा लिने देखिन्छ ।
अत: यो चालु नवौ क्षेत्रिय सम्मेलनमा यस तर्फ विशेष चासो दिएर विभिन्न आधारभुत महत्वपुर्ण निर्णय हुन सकोस् । त्यस्तै यो सम्मेलन केवल ठुलाबडा नाम चलेका उद्यमी, नेताहरु, विभिन्न क्षेत्रका पदाधिकारीहरुसँग फोटो खिचाउने प्रतियोगिता जस्तो र गफगाफ एवं भाषणमै मात्रै सिमित नहोस् भन्दै यस सम्मेलनको पुर्ण सफलताको कामना समेत रहेको छ ।

प्रतिक्रिया