हिन्दी सिनेमा र भगवानको नाउँमा चल्छन् दर्जनौँ बस

इनेप्लिज २०७३ साउन २९ गते ५:११ मा प्रकाशित

भारतीय सिनेमाको प्रभाव रौतहटको यातायात व्यवसायमा स्पष्टै परेको देखिएको छ । कुनै हिन्दी सिनेमा रिलिज भएपछि हिट हुने सम्भावनामै रौतहटका यातायात व्यावसायीले नयाँ बसको नाम नै फिलिमको नाम राख्दछन् ।
सलमान खानको नयाँ फिलिम आएको दुई हप्ता भएको छैन तर रौतहटबाट काठमान्डौको लागि चल्ने एक जोडी बसको नाम सुल्तान टाइगर राखिएको छ । यात्रुहरुले नयाँ फिलिम हेर्न मन पराउने र सुपर हिट बसको नाममा चढदा गर्व गर्ने भएकोले बसको नाम नै सुल्तान राखिएको बसका सञ्चालकले बताएका छन् ।
रौतहट सदरमुकाम गौर र अन्य बजारबाट काठमान्डौ चल्ने अधिकांश बसको नाम हिन्दी सिनेमाको नाउँमा राखिएको छ । धूम थ्री, क्रिस थ्री, जन्नत, बाहुबली, बाहुबली टू लगायतका बसहरुको नाम हिन्दी सिनेमाको नाउँबाट नै जुराइएको छ ।

जय हो, दबंग, बडीगार्ड, हैप्पी न्यु इयर, वान्टेड, परदेशी बाबु, महाराजा, परदेशी कान्छा, राजाबाबु जस्ता हिन्दी सिनेमाको नाममा पनि रौतहटबाट चल्ने बसको नाम जुराइएका छन् ।

हिट हिन्दी सिनेमाको मात्र नभई हिट हिरोइनको नाममा पनि बसको नाम राख्ने गरिएको पाइएको छ । जुही, मीनाक्षी, माधुरी, रानी ट्राभल्सका बसहरु रौतहटका विभिन्न स्थानबाट चल्ने गर्दछन् ।

हिन्दी फिलिमको नामका साथै विभिन्न देवदेवीको नाउँमा पनि सार्वजनिक बसको नाम राखिएका छन् । माँ कल्याणी, हर हर महादेव, राजदेवी, वैष्णो देवी, मनकामना, महाकाली, भोलेनाथ, बाराही ट्राभल्सहरु सदरमुकाम गौरबाट काठमान्डौ, वीरगंज, पोखरा, जनकपुर, नारायणगढ लगायतका स्थानसम्म चल्ने गर्दछन् ।

रौतहटबाट सबै रुटमा चल्ने बसहरुमध्ये असी प्रतिशतको नाम फिलिम, हिरोइन र देवीदेवताको नामबाट राखिएका छन् । फिलिमको नाउँबाट बसको नाम राख्दा नवयुवा यात्रीहरु बढी आकर्षित हुने गरेको तथा देवीदेवताको नाउँबाट बसको नाउँ राख्दा बस व्यावसायीको आत्मविश्वास बढ्ने गरेको यात्रुहरु बताउँछन् ।

युवा बस व्यावसायीले आफूलाई मन पर्ने हिरो तथा प्रौढ व्यावसायीले आफूले मान्ने गरेको देवीदेवताको नामबाट बसको नाम राख्ने गरेको प्रवृत्ति देखिएको माँ कल्याणी एसीको काउन्टरमा उपेन्द्र मिश्र बताउँछन् ।

प्रतिक्रिया